मोरिन्हो गएपछि युनाइटेडको जितको यात्रा कायम, चम्किँदै पोग्बा

जोसे मोरिन्होलाई प्रशिक्षकबाट बर्खास्त गरेपछि म्यानचेस्टर युनाइटेडले आफ्नो उत्कृष्ट प्रदर्शनलाई कायम राखेको छ । जोसेसँग सम्बन्ध बिग्रिएको भनिएका र सम्बन्ध बिग्रिएको हल्लासँगै उनको प्रशिक्षणमा खराब प्रदर्शन गरेका पउल पोग्बाले पछिल्ला खेलमा राम्रो गरिरहेका छन् ।

मोरिन्हो बर्खास्त भएपछि अन्तरिम प्रशिक्षकका रुपमा म्यानचेस्टर युनाइटेडले क्लबका पूर्व स्ट्राइकर ओल गुनार सोल्सकेएरलाई नियुक्त गरेको छ । क्लबको ओलको प्रशिक्षणमा लगातार तेस्रो जित दर्ता गरेको छ ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले बोर्नमाउथलाई ४–१ ले हराएको हो ।

१० खेलाडीमा सीमित भएको युनाइटेडको जितमा पोग्बाले दुई गोल गरे भने मार्कश राशफोर्ड र रामेलु लुकाकुले एक एक गोल गरे । बोर्नमाउथका लागि नाथन एकेले एक गोल फर्काए ।

पाँचौँ मिनेटमा पोग्बाको गोलबाट युनाइटेडले सुरुवाति अग्रता लियो । ३३ औँ मिनेटमा पोग्बाले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । ४५ औँ मिनेटमा राशफोर्डले टिमका लागि गोल थपे । पहिलो हाफको इन्जुरी समयका एकेले बोर्नमाउथका लागि एक गोल फर्काए ।

७२ औँ मिनेटमा लुकाकुले युनाइटेडका लागि गोल गरेपछि टिमको अग्रता ४–१ मा पुग्यो । ७९ औँ मिनेटमा एरिक बाइली सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सीमित भयो । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र युनाइटेड ४–१ ले विजयी भयो ।

ओलको प्रशिक्षणमा खेलेका तीनै खेलमा युनाइटेड विजयी भएको छ र यसमा १२ गोल गरेको छ । यी १२ गोलमा ६ गोलमा पोग्बाको संलग्नता छ । उनले चार गोल गरेका छन् भने दुई गोलका लागि सहयोग गरेका छन् ।

जितपछि छैटौँ स्थानको युनाइटेडको २० खेलबाट ३५ अंक भएको छ । २६ अंकसहित बोर्नमाउथ १२ औँ स्थानमा छ ।

पुस १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्