पहेँलपुर चितवन
फोटो फिचर
फोटो फिचर
चितवनको परिचय घना जंगल र एक सिंगे गैँडा तथा पाटेबाघसँग जोडिएको छ । यसैगरी यहाँको पहिचान खाद्यन्नसहितका बालीको उत्पादन र कुखुराले बलियो बनाएको छ ।
चितवनको परिचयको अर्को माध्यम हो, तोरी । यो जिल्ला तोरी उत्पादनका लागि अग्रणी मानिन्छ । तेलहन बालीमा पर्ने तोरीको उत्पादन चितवनमा राम्रो हुने गरेको छ । धानबालीपछि खेतमा र धान नरोपिएका बारीमा तोरी लगाउने गरिएको छ ।
अहिले चितवनका फाँटहरु पहेँलै फूलेका तोरीले ढाकिएका छन् । तोरीका फूल र त्यसमा डुल्दै गरेका माहुरी तथा पुतलीहरुले चितवनको बिहान र दिनलाई चम्किलो तथा रोमाञ्चक बनाएका छन् ।
खेत–बारीभरि ढकमक्क हुने गरी फूलेको तोरीमा कोसा लाग्ने बेला हुँदैछ । कोसा लाग्नुअघिको तोरीको फूलले चितवन पुग्ने जोकोहीका आँखालाई अड्याउने गरेका छन् । तोरीका फूलहरुमा बिहान घामको किरण पर्दा चमक थप निखारिन्छ ।
देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले चितवनको घटगाईँ, पटिहानी, पदमपोखरीसहितका ठाउँमा किसानले आफ्ना बारीमा लगाएका तोरीका तस्बिर खिचेकी छन् ।