नेपाल आइडल–२ का उत्कृष्ट ६ को अस्ट्रेलिया टुर

सिड्नी – नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडल सिजन–२ का उत्कृष्ट ६ प्रतियोगीहरुको अस्ट्रेलिया टुरको तयारी पूरा भएको छ।

एमटी ८८४८ इभेन्ट्स ब्रिसबेनको व्यवस्थापनमा हुने उक्त टुर आगामी जनवरी महिनामा पर्थबाट शुरु भई तास्मेनिया पुगेर सकिने छ।

प्रतियोगिताका विजेतासहित उत्कृष्ट ६ प्रतियोगीमा पर्न सफल रवि ओड, विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी, अमित बराल तथा पवन गिरीले कार्यक्रममा प्रस्तुति दिने छन्। कार्यक्रमको सञ्चालन रीमा विश्वकर्माले गर्नेछिन्।

नेपाल आइडलको अस्ट्रेलिया टुरका संयोजक अभिमानसिंह बस्नेतले देशसञ्चारसँग कुरा गर्दै अस्ट्रेलियाको ६ वटा राज्य र एउटा टेरिटोरी गरी सात सहरमा सांगीतिक प्रस्तुतिका लागि कार्यक्रम तय गरिएको जानकारी दिए।

उनले भने, ‘नेपाली गीत संगीतको विदेशमा प्रवर्द्धन गर्नुका साथै उपस्थित दर्शकहरूलाई मनोरञ्जन दिएर केही क्षण भए पनि आफन्त र साथीभाइसँग नेपाली गीतसंगीतमा रमाउनका लागि यो अस्ट्रेलिया टुर कार्यक्रमको आयोजना गरिएको हो। मलाई आशा छ अस्ट्रेलिया बस्ने सम्पूर्ण नेपालीहरूले यो सांगीतिक यात्रामा सहभागी भएर भरपुर मनोरञ्जन लिनेछन्।’

कार्यक्रम पर्थमा २७ जनवरी २०१९, ब्रिसबेनमा २९ जनवरी, एडिलेडमा १ फेब्रुअरी, मेलबर्नमा ३ फेब्रुअरी, सिड्नीमा ८ फेब्रुअरी, क्यानबेरामा ९ फेब्रुअरी र तास्मेनियामा १७ फेब्रुअरीका दिन आयोजना हुने जनाइएको छ।

यसैगरी, पर्थको कार्यक्रमलाई असनेपाल इभेन्ट्स र वेष्टर्न नेप्लिज क्रिकेट क्लबले संयुक्त रूपमा आयोजना गर्नेछन्।

त्यसैगरी, ब्रिसबनेको कार्यक्रमलाई सी इभेन्ट्स ब्रिसबेन, एडिलेडको कार्यक्रमलाई गिरीस इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट, मेलबर्नको कार्यक्रमलाई स्मार्ट एक्सेस इन्टरटेन अस्ट्रेलिया, सिड्नीको कार्यक्रमलाई नेपाली टच अस्ट्रेलिया, क्यानबेराको कार्यक्रमलाई जेम गाउली इभेन्ट्स म्यानेजमेन्ट र तास्मेनियाको कार्यक्रमलाई एक्सप्लोर इभेन्ट्सले आयोजना गर्नेछ।

पुस १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्