नेपाली खेलाडीको रहर र कहर

कान्छीमायाको ‘जेठो’ यात्रा

अन्तर्राष्ट्रिय पदक जित्नु अथवा राष्ट्रिय कीर्तिमान बनाउनु सानो कुरा थिएन र होइन। यसले दिने खुशीको आकार देश र समग्र नागरिकका लागि भव्य बन्छ। यसरी देशकै शिर उचो बनाउन पाउने खेलाडीका लागि खुशीको परिधि सायदै नाप्न सकिएला। तर त्यो खुशी र जीवन–जीविकाबीचको संघर्षमा जित्न नहुने पक्षले जित्छ। कम्तिमा नेपाली खेलाडीहरुका हकमा पदक र खेल कौशल भन्दा जीविका धान्नु ठूलो मेहतन र संघर्षको कथा बनेको छ।

यसको पछिल्लो उदहारण एक वर्षअघि केशरी चौधरी बनिन्। नेपाली एथ्लेटिक्सकी एक ज्वाजल्यमान खेलाडी केशरी चौधरी वैदेशिक रोजगारीका लागि दुबई लागिन्। तीन स्पर्धामा राष्ट्रिय कीर्तिमानधारी केशरीको यो यात्रा, एउटा सामान्य नेपालीको जस्तै रह्यो। गुमनाम बन्यो। उनका कीर्तिमानहरुले दिएको भव्यता जस्तो थियो बाध्यताले गरेको परदेश यात्रा त्यसको उल्टो बन्यो। खेलकुदका सरोकारवालाले नदेखेजस्तै गरे, नसुनेजस्तै गरे। त्यसयता थुप्रै नेपाली खेलाडी विदेश लागे, धेरै खाडीतिर, केही अन्य देशतर्फ। राज्य मौन रह्यो र मौन छ। न चासो छ न चासो गरेको जस्तो नै देखिएको छ राष्ट्रले। विदेश पलायन त्यसमा पनि ‘खाडीमा रोजगारी’ लाई बाध्यता भनिरहेका यी खेलाडीको एउटै मत छ–नेपालमा बसिरहने, खेलिरहने वातावरण भएन।

कान्छीमाया कोजु।

खेलाडीको देशप्रतिको यो बुझाइबाट राष्ट्र तर्सिनु पर्ने हो, पहुँचमा भएकाहरु हल्लिनु पर्ने हो।

धेरै खेलाडीको एउटै गुनासो छ, ‘हाम्रो भविष्यको जिम्मा कसले लिने ?’ थप्छन्, ‘देश विदेशमा नाम दिलाएको कर्म छाड्ने रहर कसलाई पो हुन्छ र!’

केही खेलाडी नाम र दामको घनचक्करमा पिसिरहेको देखिन्छन्। र पनि उनीहरु दुनियालाई देखाउँछन्– विदेश पलायत कत्ति पनि र कुनै पनि हालतमा रहर हैन। पटक्कै हुँदै होइन।

त्यतिबेला नेपाली एथ्लेटिक्स निकै विवादमा थियो। श्रीलंकामा आयोजित १० औँ दक्षिण एसियाली खेलकुदमा दुईवटा स्वर्ण जितेका धावक राजेन्द्र भन्डारी डोपिङ्ग परीक्षणमा असफल भएपछि दुवै पदक गुमाउन बाध्य भए। त्यही खेलकुदमा नेपाली एथ्लेटिक्सले हात पारेको ऐतिहासिक सफलताले पाउनुपर्ने जति चर्चा कमाउन सकेन।

१२ वर्षअघि आयोजित उक्त दक्षिण एसियाली खेलकुदमा धावक कान्छीमाया कोजुले प्राप्त गरेको सफलता वर्षौँसम्म नेपाली एथ्लेटिक्समा चर्चा हुनेछ। १० हजार मिटरमा राष्ट्रिय कीर्तिमानसहित रजत पदक जितेकी कान्छी आधिकारिक अन्तर्राष्ट्रिय खेलकुदमा सबैभन्दा ठूलो पदक जित्ने नेपाली एथ्लेटिक्सकी पहिलो महिला खेलाडी बनेकी थिइन्। आधिकारिक अन्तर्राष्ट्रिय एथलेटिक्समा त्यसअघि कुनैपनि नेपाली महिला खेलाडीले कास्यभन्दा माथिको पदक जित्न सकेका थिएनन्। अझैसम्म उनको नाममा यो कीर्तिमान छ। १० वर्ष लामो अन्तर्राष्ट्रिय खेल जीवनमा कान्छीमाया कोजुका लागि सबैभन्दा सुखद् र अविश्मरणीय क्षण यही नै थियो। र छ पनि।

त्यसको ठीक एक वर्षपछि जापानमा एथ्लेटिक्स विश्व च्याम्पियनसिप हुँदै थियो। कान्छीले यो प्रतियोगितामा अवसर नपाउने कुनै कारण थिएन। त्यसअघि दोहामा आयोजित एसियाली खेलकुदमा उनी सहभागी भइन्। प्रतियोगितामा उनको खुट्टामा चोट लाग्यो। राम्रोसँग निको नहुँदै उनी विश्व च्याम्पियनसिप खेल्न लागिन्। राम्रोसँग प्रशिक्षण गर्न सकिरहेकी थिइनन्। उनलाई दौड नै पूरा गर्न सकिँदैन कि भन्ने डर लाग्यो। उनलाई चिन्ता थियो, ‘खेल्न सकिन भने अब के गर्ने?’ एक मनले भन्यो, ‘जापान आइपुगेकी छस् अब यतै बस्, यतै भविष्य बना। खेल्न सकिनस् भने तँलाई कसले हेर्छ?’

धेरै राम्रा खेलाडीहरू सक्रिय खेल जीवनको अन्त्यतिर विदेशतर्फ लागेको र कतिपय खेलाडीहरु खेल्न जाँदा दक्षिण कोरिया, जापान, अमेरिकाजस्ता देशमा बसेको उनले सुनेकी र देखेकी थिइन्।

‘कुनै सम्भावना नदेखेपछि मान्छेले यस्ता निर्णय लिने रहेछ। मैले पनि लिएँ। तर वर्षौँसम्म दुःख गरेर कमाएको प्रतिष्ठामा लागेको दागले हरेक पल चिमोठ्ने रहेछ’, ३७ वर्षीया कान्छी भन्छिन्। उनी पक्राउ पर्ने डरले केही महिना घरबाट बाहिर निस्कन सकिनन्।

जब बाहिर निस्कन थालिन्, प्रहरी उनको वरिपरि पुगिसकेको थियो। कान्छी भागेपछि आलोचित बनेको नेपाल एथलेटिक्स संघ पनि उनलाई जसरी पनि नेपाल फर्काउन लागिपरेको थियो। अन्ततः सन् २००८ को एक दिन जापानी सुरक्षा अधिकारीले कान्छीलाई पक्राउ गरे। ६ महिना जापान बस्न नपाउँदै कान्छी फेरि नेपाल फर्किन् (फर्काइन्)। कान्छीको जीवनमा यो नसोचिएको घटना थियो। जिन्दगीको कुहिरोबाट बाहिर निस्कन सजिलो थिएन। के गर्ने, कसो गर्ने? मान्छेले बाटामा भेट्दा के भन्लान्? सारा प्रश्नहरु उनीसँग अनुत्तरित थिए। तर, जवाफ खोज्नेतर्फ उनी लागिनन्। आखिर उनले जानेको खेल्न नै थियो। पढाइ पनि एसएलसीसम्म पनि पुगेको थिएन। कान्छी क्षमतावान खेलाडी हुन्, भन्नेमा दुई मत थिएन।

‘मान्छेले गल्ती गर्छ तर गल्तीलाई रियलाइज गरेर अगाडि बढ्यो भने सफलता हात पर्छ। आखिर मसँग त उमेर पनि थियो अनि मिहनेत गर्ने जाँगर पनि। पहिलाको कुरा सम्झनु ठूलो घात हुनेमा म सचेत थिएँ। त्यतिबेलै तिमी स्किल भएको खेलाडी हौ, अझै पनि राम्रो खेलेर आफूप्रतिको धारणा परिवर्तन गर्न सक्छौ भनेर प्रेरणा दिने जमात पनि ठूलो थियो। मैले निर्णय लिएँ–अब जे गर्छु खेलकुदबाटै गर्छुु’, कान्छी सम्झिन्छिन्।

कान्छीमायाले जितेका पदकहरु।

उनको आलोचना गर्ने र कारवाही गर्नुपर्छ भनेर अग्रसर हुने जमात पनि ठूलै थियो। दुई वर्ष खेल्न प्रतिबन्ध लगाउने तयारी भइरहँदा कान्छी हरेकपल वेचैन हुन्थिन्। अन्ततः ५० हजार रुपैयाँ जरिवाना तिराएर उनलाई खेल्न दिने सहमति जुट्यो।

‘खेलाडी आफै मोटिभेट भएर मात्र पुग्दैन। उसलाई कसरी टिकाउने भन्ने पनि महत्वपूर्ण हुन्छ। कान्छी भाग्नुमा उसको मात्र दोष थियो भन्ने लाग्दैन। यसमा राज्यको पनि दोष देख्छु।’ एथ्लेटिक्सका पूर्व प्रमुख प्रशिक्षक सुशीलनरसिंह राणा भन्छन्, ‘कान्छी विचलित भएकी थिइन् होला। तर नेपाल फर्किएपछि निकै पछुतो मान्थिन्। हुँदोखाँदाको खेलाडीलाई मर्न त दिनु भएन नि। उसलाई खेलमा फर्काउनु पर्छ भनेर हामीले नै पहल गरेका हौँ।’

जापानबाट फर्किएको केही दिनदेखि नै कान्छीले नियमित अभ्यास सुरु गरिसकेकी थिइन्। प्रायः अभ्यासमा एक्लै हुन्थिन्। केही महिनामै आयोजना भएको काठमाडौँ म्याराथनमा कान्छी पहिलो भएपछि आलोचकको मुख बन्द भयो। कान्छीको लगाव, मिहेनत र विजेता बन्ने भोकबाट नेपाली एथ्लेटिक्सले उनको आवश्यकता महसुस गर्‍यो। जापानमा भागेपछि गुमेको नेपाल पुलिसको जागिर पुन प्राप्त त भएन तर एपिएफ क्लबले करारमा आबद्ध भएर खेलिदिन प्रस्ताव गर्‍यो।

यसबीचमा कान्छीले कति पदक जितिन्, उनलाई त्यसको हेक्का छैन। भक्तपुरको व्यासीस्थित घरको एउटा कोठाका भित्ता पदक र ट्रफीले भरिएका छन्। कान्छीले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न थालेको २२ वर्ष भइसकेको छ। उनको नाममा चारवटा इभेन्टमा राष्ट्रिय कीर्तिमान छन्।

….

कान्छीमायाले जितेका ट्रफीहरु।

भक्तपुरको रैथाने किसान परिवारमा छैटौँ सन्तानका रुपमा जन्मिन् कान्छी। पाँच छोरी जन्मिसक्दा पनि परिवारले छोराको आश मारेको थिएन। कान्छी जन्मेपछि पनि तीन सन्तान थपिए, दुई छोरा र एक छोरी। परिवारमा अरुभन्दा भिन्न निस्किन् कान्छी, खेलाडी भएर। नजिकै रहेको सिद्धपोखरीको वरिपरि दौडिएर अभ्यास गर्थिन्। सानै उमेरमा स्कुल, जिल्ला हुँदै राष्ट्रियस्तरमा पहिचान बनाइन्। कक्षा ६ मा पढिरहेका बेला उनले राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा सहभागी भएर तेस्रो स्थान हात पारेकी थिइन्। ‘खेल्दै गएँ, जित्दै गएँ। जितेपछि परिवार, साथीभाइले गर्ने प्रसंशाले मलाई प्रेरित गर्‍यो। बिस्तारै खेल मेरा लागि मनोरञ्जनमा मात्र सीमित रहेन’, कान्छी भन्छिन्।

उनलाई प्रेरित गर्ने सबैभन्दा महत्वपूर्ण उनकै पहिलो गुरु मुनिराम कर्मचार्य थिए। एथ्लेटिक्समा ‘केटाभन्दा केटीहरुको राम्रो स्कोप छ’ भन्दै मोटिभेट गर्थे मुनिराम। जिल्लास्तरीय प्रतियोगितामा सफलता हात पारेपछि मुनिरामले स्कुलमै लिन आएका थिए कान्छीलाई। त्यसपछि नियमितरुपमा प्रशिक्षण गराउन थाले।

 

कान्छीमायाका प्रशिक्षक सुशीलनरसिंह राणा।

‘खेलाडी आफै मोटिभेट भएर मात्र पुग्दैन। उसलाई कसरी टिकाउने भन्ने पनि महत्वपूर्ण हुन्छ। कान्छी भाग्नुमा उसको मात्र दोष थियो भन्ने लाग्दैन। यसमा राज्यको पनि दोष देख्छु।’ एथ्लेटिक्सका पूर्व प्रमुख प्रशिक्षक सुशीलनरसिंह राणा भन्छन्, ‘कान्छी विचलित भएकी थिइन् होला। तर नेपाल फर्किएपछि निकै पछुतो मान्थिन्।

‘बिहानको स्कुल लाग्दा ५ बजे नै ट्रेनिङ्ग गर्न आइपुग्थ्यो। जतिबेला पनि ट्रेनिङ्गमा उपलब्ध हुन्थ्यो। ज्यादै मिहेनती थियो’, केही दिनअघि सिद्धपोखरीमा कान्छीसँगै भेटिएका मुनि भन्छन्। मुनिले नै कान्छीलाई दशरथ रंगशाला लगेर प्रशिक्षण गराए। काठमाडौँ जान थालेपछि एथ्लेटिक्सका ठूला नामहरुसँग कान्छीको चिनजान भयो। कान्छी राष्ट्रिय खेलकुदमा घुलमिल हुँदै गइन्।

सुरुमा खेल्नेभन्दा पढ्नमा जोड दिने कान्छीका बुवा उनको सफलता र चर्चाले बिस्तारै ‘छोरीले राम्रै गरिछ’ भन्न थाले। सन् १९९६ जापानमा आयोजित एसियन जुनियर क्रस कन्ट्री, सन् १९९७ मा बैंककमा आयोजित एसियन जुनियर एथलेटिक्स च्याम्पियनसिप, सन् १९९८ मा थाइल्यान्डमै आयोजित एसियाली खेलकुद हुँदै सन् २००४ मा ग्रिसमा आयोजित ओलम्पिकमा कान्छी सहभागी भइन्। कान्छीकै शब्दमा ओलम्पिक सहभागिताले उनको सपना पूरा भएको थियो, आम खेलाडीले देख्नेजस्तै ओलम्पियन बन्ने। तर नेपाली खेलकुदमा उनको यात्रा त्यत्तिमै सीमित थिएन। कान्छीले अझै धेरै दिन र धेरै देखाउन बाँकी थियो। जापानबाट फर्किएपछि कान्छीको प्रदर्शन अझ सुधार भयो। उनले थप तीन स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाइन् अनि धेरैपटक सुधार गरिन् । ५ हजार, १० हजार, हाफ म्याराथन र फुल म्याराथनमा कान्छीको नाममा राष्ट्रिय कीर्तिमान छ।

….

धनीराम चौधरी, कान्छीमायाका प्रशिक्षक।

सन् २०१५ को भूकम्पले देशलाई हल्लाइरहेका बेला एथ्लेटिक्स वृतमा एउटा चर्चा चल्यो– क्यानडामा एउटा स्पोर्टस कार्यक्रम मिलाएर कान्छी अब उतै सेटल हुँदैछ। १० वर्षको मल्टिपल भिसा लागेकाले पनि कान्छी अब फर्कनेमा शंका थियो। ‘चाहने हो भने त आज पनि जान सक्छु। तर त्यतिबेला उतै बस्ने गरी गएको थिइन्। स्पोर्टस् कार्यक्रममा सहभागी भएपछि त्यहाँ हुने केही प्रतियोगितामा सहभागी हुन सुझाब पाएँ। त्यसैले केही समय उतै बसेकी हुँ। पहिलो प्रतियोगितामा तेस्रो र दोस्रो प्रतियोगितामा पहिलो भएँ। तर ५० किलोमिटरको दौडमा भनेँ म घाइते भएँ। त्यसपछि सामान्य उपचार गरेर फर्किएँ, कान्छीको दाबी छ। नेपाल फर्किएपछि पनि उनको रफ्तार उस्तै छ।

दुई वर्षअघि आयोजित सातौँ राष्ट्रिय खेलकुदमा कान्छीले ५ हजार मिटर र १० हजार मिटर दौडमा पहिलो स्थान हात पारिन्। यसै वर्ष आयोजित नेपालगन्ज म्याराथन र काठमाडौँ म्याराथनमा पनि कान्छी पहिलो भइन्। यसै वर्ष माल्दिभ्समा आयोजित अदु सिटी म्याराथनमा पनि कान्छी पहिलो भइन्। यतिबेला कान्छी आठौँ राष्ट्रिय खेलकुदको तयारीमा व्यस्त छिन्। पछिल्लो समय उनी पाँच हजार र १० हजार मिटरभन्दा बढी म्याराथनमा केन्द्रित छिन्।

 

मुनिराम वज्राचार्य, कान्छीमायाका अर्का प्रशिक्षक।

उनलाई प्रेरित गर्ने सबैभन्दा महत्वपूर्ण उनकै पहिलो गुरु मुनिराम कर्मचार्य थिए। एथ्लेटिक्समा ‘केटाभन्दा केटीहरुको राम्रो स्कोप छ’ भन्दै मोटिभेट गर्थे मुनिराम। जिल्लास्तरीय प्रतियोगितामा सफलता हात पारेपछि मुनिरामले स्कुलमै लिन आएका थिए कान्छीलाई। त्यसपछि नियमितरुपमा प्रशिक्षण गराउन थाले।

‘यो उमेरसम्म यसरी ट्रेनिङ्ग गर्ने महिला खेलाडी मैले आजसम्म देखेको छैन’, पूर्व प्रशिक्षक सुशिलनरसिंह राणा भन्छन्, ‘नयाँ पुस्तालाई उनले ठूलो टार्गेट सेट गरिदिएकी छन्।’ यता कान्छीका पहिलो गुरु मुनि पनि दंग छन्। किशानको छोरीले ‘पिछडिएको’ भक्तपुरलाई ओलम्पियनको जिल्ला बनाउनु आफ्ना लागि चेलीले दिएको उच्चतम सम्मान ठान्छन्। ‘ट्रेनिङमा उनको मिहनेत र लगनशीलता देखेर म छक्क पर्छु’, एथलेटिक्स राष्ट्रिय टिम तयारीका प्रमुख प्रशिक्षक धनिराम चौधरी भन्छन्। कान्छी हरेक दिन भक्तपुरको व्यासीबाट उज्यालो नहुँदै हल्चोकस्थित एपिएफ क्लब पुग्छिन्, पुसको ठन्डीमा पनि।

जिन्दगीमा कान्छीले कति कुरा ‘सेक्रिफाइस’ गर्नु परेको छ, उनले कहिल्यै हिसाब गरिनन्। ‘जब सफलता पाउँछु र मान्छेहरुले चर्चा गर्छन् त्यो नै सबैभन्दा ठूलो लाग्छ। खेलकुदमा लागेकै कारण आज मलाई सबैले चिनेका छन्, सबैले माया गर्छन्’, अविवाहित कान्छीलाई लाग्छ।

कान्छी नेपाली खेलकुदकै ‘आईरोनी’ हुन् जसलाई एकातर्फ आम खेलकुदप्रेमीको माया छ जसले उनलाई खेलिरहुँ लाग्छ। अर्कातर्फ भविष्यको पनि चिन्ता उत्तिकै छ जसले बेलाबखत विदेश जाउँ र उतै सेटल हुँ भन्ने विचार ल्याउँछन्। ‘यो नेपाली खेलकुदकै विडम्बना हो । राज्यले यी इस्युलाई सम्बोधन गर्नैपर्छ’, प्रशिक्षक राणा भन्छन्।

भिडियो यहाँ हेर्नुहोस्: