यौन सम्बन्ध, बढ्दो उमेर र राम्रो जीवनको सम्बन्ध

यौन सम्बन्धले जीवन राम्रो बनाउन साँच्चै सहयोग गर्छ ?

उमेर बढ्दै गएकाहरुका लागि यौन सम्पर्क जीवनलाई थप उत्साहपूर्ण रुपमा बाँच्न सहयोग गर्ने कारणहरु मध्ये एक बन्ने एक अध्ययनले देखाएको छ ।

सेक्सुअल मेडिसिनमा प्रकाशित भएको अनुसन्धान प्रतिवेदन अनुसार उमेर बढ्दै गएका अधबैँसे उमेरका व्यक्तिहरुलाई जीवन थप उमंगपूर्ण भएर बाँच्नका लागि यौन सम्बन्धले सहयोग गर्ने देखिएको छ ।

अनुसन्धानकर्ता ली स्मिथले भनेका छन्, ‘उमेर बढ्दै गएका व्यक्तिहरु यौन सम्बन्धमा युवा उमेरका व्यक्तिजस्तो सक्रिय हुँदैनन् भन्ने सामान्यता मान्तय छ । वा कतिपय अवस्थामा बृद्ध उमेरका व्यक्तिहरु यौन क्रियाकलापमा संलग्न हुँदैनन् भन्ने गरिन्छ । तर उमेर अनुसार यौन गतिविधि घट्दै जान्छ, तर उनीहरुमा यौनजन्य गतिविधि हुँदैन वा भावना नै हुँदैन भन्ने होइन ।’

पछिल्लो अध्ययन अनुसार अमेरिकाका धेरै वृद्ध उमेरका व्यक्तिहरु यौनिक रुपमा सक्रिय रहेका पाइएको छ । अनुसन्धान गरिएका मध्ये ४० प्रतिशत व्यक्ति ६५ देखि ८० वर्ष उमेरका थिए ।

उनीहरुले आफूहरुले नियमित रुपमा यौन सम्बन्ध कायम गरिरहेको बताएका छन् । ली र उनका सहयोगी अनुसन्धानकर्ताहरुले बेलायतका ५० देखि ८९ वर्ष उमेरसम्मका झण्डै सात हजार व्यक्तिमा पछिल्लो अनुसन्धान गरेका हुन् ।

उनीहरुले कत्तिको र कुन दरमा यौन सम्पर्क गर्ने गरेका छन् तथा त्यसले जीवनस्तर वा खुशीमा कस्तो प्रभाव पारेको छ भनेर सोधिएको थियो । उनीहरुले दिएका उत्तरहरुको अध्ययन गर्दा यौनिक रुपमा सक्रिय रहेका अधबैँसे तथा वृद्ध उमेरकाहरु जीवनप्रति खुशी रहेको देखिएको छ ।

अनुसन्धानकर्ताले यौनसँग जोडेर आफूलाई लागेको जीवनको खुशीको स्तर शून्यदेखि १५ को बिचमा मापन गर्न भनेका थिए ।

यौनजन्य गतिविधिमा सक्रिय रहेका अधबैँसे तथा वृद्ध पुरुषहरुको औषत स्कोर ९.७५ र यौनजन्य गतिविधिमा सक्रिय नरहेकोहरुको औषत स्कोर ९.४४ रहेको दखिएको छ ।

यस्तै महिलामा यो दर औषतमा क्रमशः ९.८६ र ९.६७ रहेको पाइएको छ । अन्तर कम भए पनि यौनजन्य गतिविधि र जीवनप्रतिको खुशीमा सम्बन्ध रहेको भने स्पष्ट भएको अनुसन्धानकर्ताले बताएका छन् ।

पुस १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्