असुरक्षित अन्तर्राष्ट्रिय नाका

प्रहरी र माइती नेपाललाई झुक्याएर नेपालगञ्ज नाकाबाट मानव तस्करी

नेपालगञ्ज – भारत प्रवेशका लागि पश्चिमको ठूलो र चलनचल्तीको नाका हो, नेपालगञ्ज। यो नाकाबाट सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जानेको सधैँ नै भीडभाड हुने गर्छ। नेपालीकै भरमा सीमावर्ती रुपैडिहाको बजार चलेको छ। किनभने त्यहाँ नेपालीकै बाक्लो उपस्थितिमा दैनिक ५ करोड करोबार हुने गर्छ।

भारतबाट भित्रिने मालसामानको हिसावले पनि नेपालगञ्ज चलनचल्तीको नाका हो। भारतबाट नेपालगञ्ज भन्सार हुँदै नेपाल भित्रिने सामान तथा सरकारले असुल्ने राजश्वको मात्राले पनि त्यसको पुष्टि गर्ने बताइन्छ। सरकारले देशभरमै राजश्व बढी संकलन गर्ने नाकामा नेपालगञ्जको नाम अगाडि नै आउँछ। यहाँको यो वर्षको राजश्व असुलीको लक्ष्य १२ अर्ब ३३ करोड रहेको छ।

यसका अलावा नेपालगञ्ज नाका जोखिमपूर्ण यात्राका लागि पनि चर्चित रहेको छ। मानव दलालले भारत तथा वैदेशिक रोजगारका लागि नेपाली महिलालाई नेपालगञ्ज नाकाबाटै लैजाने गरेका छन्। झापा, सप्तरी, सिराह, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेका महिला वैदेशिक रोजगारका लागि भारत हुँदै खाडी मुलुक जाने क्रममा नेपालगञ्ज नाकामा पक्राउ परेका धेरै तथ्यांक छन्।

सधैँ भीडभाड हुने भएकाले नाका पार गराउन सजिलो हुने विश्लेषण गरेर दलालले यो नाकालाई प्रयोगमा ल्याइरहेको मानव बेचबिखनविरुद्ध काम गर्ने माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइराला बताउँछन्।

मानव बेचबिखनका लागि नेपालगञ्ज नाका सजिलो हो त? नाकातिर पुगेर हेर्दा त्यस्तो पनि लाग्दैन। नाका आउन एक किलोमिटर यतैदेखि आधा दर्जन संघ संस्था र नेपाल प्रहरीले जोखिमपूर्ण यात्रामा रहेका शंकास्पदलाई रोक्ने गछन्।

संघ संस्था र प्रहरीलाई दलालले ‘सजिलै झुक्याउँदा’ यो नाका दलालको रोजाई भइरहेको हो। मानव तस्करी ‘चेन’ अनुसार हुने गरेको जानकारहरु बताउँछन्।

काठमाडौँमा एकजनाले विदेश जाने महिलालाई जम्मा पार्ने, त्यहाँबाट बसमा नेपालगञ्ज या कोहलपुरसम्म ल्याउन अर्को व्यक्ति प्रयोग हुने अनि नाका पार गराउन अर्को मान्छेलाई खटाउने देखिएको सुरक्षा निकायका जानकार अधिकारीहरु बताउँछन्। नाका पार भएपछि अर्को व्यक्तिले दिल्लीसम्म पुर्याउने जनाइन्छ।

विशेष गरेर नाका पार गराउन ‘स्थानीय व्यक्ति’लाई प्रयोग गरि उसले बाहिरी जिल्लाबाट ल्याइएका महिलालाई सुरुमा तालिम दिने गर्छन्। मानव बेचबिखनविरुद्ध काम गर्ने केआई नेपालकी बाँके इञ्चार्ज अपना भट्ट भन्छिन्, ‘रुपैडिहामा किनमेल गर्न जाने निहुँ बनाएर नाका पार गर्ने कोसिस गरिन्छ।’

बाँके, बर्दियालगायत यस क्षेत्रका महिला त सजिलै नाका पार गर्छन्। किनभने उनीहरुलाई नाकामा बोल्नु पर्ने सबै कुरा थाहा छ। उनीहरु कसैले रोकेमा झगडा गर्न पनि पछि पर्दैनन्। टाढाका जिल्लाबाट घरबाट बिदाई भएर आएका, यहाँका रैथानेभन्दा फरक बोल्नेहरु नाकामा रोकिन्छ। र, उनीहरुलाई घर फिर्ता पठाइन्छ। सन् २०१८ मा यो नाकाबाट यस्ता ९ सय २० जनाभन्दा बढीलाई फिर्ता गरिएको छ।

कोहलपुर अगाडि

जोखिमपूर्ण यात्रामा गएर भारत तथा खाडीमा हराउने बाँके जिल्ला अगाडि देखिएको छ। जिल्लालाई हेर्दा कोहलपुर नगरपालिकाका धेरै छन्।

भारत तथा खाडी मुलुक पुगेका कोहलपुर नगरपालिकाका ६२ जना घरपरिवारको सम्पर्कमा छैनन्। नेपालगञ्ज नगरपालिका ४२, राप्तीसोनारी गाउँपालिकाका ३१, बैजनाथ गाउँपालिकाका ३३, खजुराका गाउँपालिका २०, जानकी गाउँपालिकाका ४ र डुडुवा गाउँपालिकाका २ जना पैसा कमाउन जाँदा हराएका छन्।

प्रायः पर्यटन भिसामा जाने उनीहरुको तीन महिनासम्म घरपरिवारसँग सम्पर्क रहनेपनि त्यसपछि लुकेर काम गर्नुपर्ने बाध्यता र कतिपय मालिकले जोखिमपूर्ण काममा लगाई घरपरिवारसँग सम्पर्क गर्न नदिने गरेको माइती नेपालका कोइराला बताउँछन्।

छिमेकी जिल्ला बर्दियाको बढैयाताल गाउँपालिकाबाट ३२, बाँसगढी नगरपालिकाका २५, मधुवनबाट २२, बारबर्दियाबाट ६, राधापुरबाट ३, ठाकुरबाबाबाट ७, ठाकुरद्वाराबाट २ र गेरुवाबाट ४ जना बेपत्ता भएका छन्। बेपत्ता भएका यिनीहरुको आफन्तले प्रहरी र मानव बेचबिखनविरुद्ध काम गर्ने संघसंस्थामा खोजतलासका लागि निवेदन दिएका छन्।

पुस १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्