वाहियात मुक्तिबाट मुक्ति

ज्ञान मित्र।

समस्त पाठक वर्गमा सादर नमस्कार! निश्चय पनि यो नमस्कार निष्प्रयोजन होइन, यस आलेखमा लिपिवद्ध हुन गइरहेका शब्दाक्षरले तपाईका धार्मिक, आध्यात्मिक, पौराणिक, सामाजिक, सांस्कृतिक, काल्पनिक भावविरासतमा आघात पुग्न सक्छ। अरुलाई पिडा पुर्‍याएर आनन्दित अनुभव गर्ने परपीडक किमार्थ पनि होइन यो लेखक। तर आजको चर्चाको विषयमा यो संभावना सन्निहित रहेको पूर्वानुमान मध्येनजर गरी अग्रिम क्षमायाचना हेतु प्रयुक्त गरिएको नमस्कार रुपी अमोघशस्त्रले पाठकहरुको सहनशक्ति एवं क्षमाशीलता निश्चय नै अभिवृद्धि गर्नेछ।

तपाई जीवनको खेलले वा कुनै गुरुको फेरले मुक्ति, निर्वाण, मोक्ष, कैवल्य, बैकुण्ठ प्रवास वा परमपद प्रप्तिको महाअभियानमा होम्मिनु भएको छ? पुनरर्पि जन्मम् पुनरर्पि मरणम, पुनरर्पि जननी जठरे शयनम। आशय — जन्म र मरणको आवागमनले दिक्क भएर स्थायी समाधानको चाहनामा, ‘न तद् भासयते सूर्यो न शंशाको न पावकः , यत गत्वा न निर्वतन्ते तत धाम परमम् ममः’ प्राप्त गर्न लालायित हुनुहुन्छ। कृष्णले अर्जुनलाई आफ्नो स्थायी बसोबास हुने लोकबारे अवगत गराउँदै भनेका हुन माथिको श्लोक जसको आशय, ‘त्यस लोकमा सूर्य, चन्द्र, अग्नि केही प्रकाशित हुन सक्दैनन्।’

विज्ञापन

कृष्णले इंगित गरेका केही स्थान संज्ञानमा आएका छन्। ब्ल्याक होल, डार्क म्याटर फिल्ड, डार्क एनर्जी जोन एवं ग्रेट अटैक्टर। यीमध्ये कृष्णको धाम कुन स्थानमा छ त्यो अविद्या एवं लौकिक बुद्धिको व्यापारमा संलग्न मूढमते वैज्ञानिकजनले गर्ने पात्रता नै कहाँ पुग्छ? यो त आशाराम, रामपाल वा अन्य यस्तै प्रवृतिका परमार्थिक जीवको एकाधिकार भएको गूढ विषय हो।

जगत उत्पत्ति सम्बन्धी हिन्दु अवधारणा सर्वोपरि छ। ब्रम्ह आफ्नो विलक्षणता (SINGULARITY) बाट दिक्क भए र मन वहलाउनु ‘म अनेक बनौं’ भन्ने इच्छा जागृत भयो ब्रम्हमा। विलक्षणतामा संकल्पको संघातले महाविष्फोट (BIG BANG) स्वरुप जगतका रुपमा ब्रह्म (SINGULARITY) विस्तृत भयो। बिग बैंग थ्योरीमा मात्तिने पश्चिमी सभ्यताको जगत उत्पत्ति सम्बन्धी यो अवधारणा त हिन्दुहरुसँग सदियौं देखि विद्यमान छ। ब्रम्हको दिन बिग बैंग, जगत विस्तार बिग क्रन्च, ब्रम्हको रात्री प्रारम्भ….विस्तृत भएको सारा जगत व्यापार पुनः ब्रम्हममा समायोजित। ब्रम्ह पुनः विलक्षणावस्थामा (SINGULARITY) लयवद्ध, परम समाधिस्थ, विश्राम।

विभिन्न धर्म निर्देशित न सत थियो न असत, न दिन न रात्री, न प्रकाश न अँध्यारो, न शव्द न आकाश ……. ब्रम्हको यही विलक्षणता (SINGULARITY) को व्याख्या होइन र?

अनन्त अन्तराल पश्चात सिंगुलारिटिमा पुनः केही बलको संयोजनले अर्को नयाँ बिग बैंग! वा ब्रम्ह समाधिस्थ रहँदा पुनः एक्लोपनले न्यास्रो अनुभव गरी फेरी ‘म अनेक बनौं’ को सांकल्पिक संघात द्वारा श्रृष्टि सृजन। मेरा लागि त बिग बैंग थ्योरी पितामह ब्रम्हको वैज्ञानिक प्रमाणीकरण हो।

ब्रम्ह सम्बन्धी हिन्दुहरुको श्रृजन विषयक अवधारणा विज्ञानबाट अनुमोदन संज्ञानमा आए पछि मैले मोक्ष, कैवल्य, निर्वाणको चाहना खारेज गरें। यस्तो चाहना राख्नु त ब्रम्ह द्रोह हो। आदि पितामहले एक्लोपनाबाट दिक्क भएर ब्रम्हाण्ड श्रृजन नामक फिल्मको कार्य थाल्नु भयो। परिकल्पना देखि निर्माणको समस्त अभिभारामा स्वयं अनन्त अनन्त स्वरुप धारणा गरी मूर्त हुनु भयो। कला कस्तो! अनन्त अनन्त स्वरुपमा विभक्त हुँदा पनि स्वयं भने अखण्ड, अक्षुण्ण, अविभक्त…….। ऊँ पूर्णमदः पूर्णमिदं पूर्णात्पुर्णमुदच्यते, पर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते।

ब्रम्हाण्डको कण कणमा आफ्नो श्रृजन शक्ति सन्निहित गरी ऊ (ब्रम्ह) क्र्वाक, ग्लुआन, न्यूट्रोन, प्रोटोन, इलेक्ट्रोन देखी कण, कणदेखि पदार्थ, पदार्थदेखि मानवसम्मको श्रृजन लीला हेर्दै विभोर भयो। सुक्ष्मदेखि विराटसम्म आफ्नो शक्तिको लीला नर्तन छन्दका माफिक गतिशील पाएपछि उसले आनन्दको श्वास फेर्‍यो। कुनै अचम्म हुने छैन कुनै दिन ‘पार्टिकल फिजिक्स’का अध्येता क्वाण्टमको थप अध्ययन गर्न मेरा मित्र रमेश खकुरेलसँग अनुष्टुप, शिखरिणी, पंचचामर, श्रगधरा आदि छन्दहरुको रचनाधर्मिता बुझ्न सम्पर्क गर्न आउन ।
पाठकगण, तपाईले पत्याए पनि नपत्याए पनि म ब्रम्हको संकल्पले श्रृजित ब्रम्हकै अंश हुँ। उसले आफ्नो एक्लोपना मेटाउन मेरो (मानवसम्मको) श्रृजन गरेको हो। कुनै दिन यो अंश मूलमै समाहित हुने निश्चित विधान छ। यो उसको अप्रीतम लीला हो। म यस लीलामा ब्रम्ह इच्छाले ब्रम्हकै अंशका रुपमा लीलारत छु। ब्रम्हकै अंश भएकोले ममा श्रृजन र लय दुवै शक्ति विद्यमान छन्। चाहे जबसम्म म श्रृजनलीलामा संलग्न भई राखौं र जब चाहे म श्रृजनलीलाबाट आफूलाई पृथक गरी मूल ब्रम्हसंग समायोजित हुनपुगौं।

शंकराचार्यको मोक्ष र बुद्धको निर्वाण ब्रम्हको श्रृजनलीलाबाट राजीनामा दिई ब्रम्हमा लय हुनु हो। मैले यो राजीनामा दिन अस्वीकार गरेको हुँ। फगत एक दिनको, ब्रम्हको महज एक दिनको खेललाई दुख, भ्रम आदि परिभाषित गरेर ‘अहं म सक्दिन’पितामह भनी बीचमै खेल्न छाडेर फर्किनु म अंश ब्रम्हबाट मूल ब्रम्हकै अवहेलना हुन जान्छ।

हे पितामह! तपाईको यो अंश तपाईको इच्छा बमोजिम अन्तिम ‘ओभर’ सम्म बलिंग, ब्याटिंग, फिल्डिङ आदि जे पाइन्छ पूर्ण तन्मयताका साथ खेल्छ। खेल समाप्तिमा मात्रै यो अंश तपाईमा लीन हुन आउँछ। यस अंशका माध्यमले तपाईको श्रृजनलीला जहाँ सम्म पुग्छ तपाई त्यसको आनन्दभागी हुन पाउनु हुन्छ । तपाईको यो अंश शंकराचार्य वा बुद्धको अनुगामी भएको भए बिजुली, मोटर, जहाज, मोबाइल, इन्टरनेट, आदिको उपभोगबाट वञ्चित हुने थियो । पितामह ! निकट भविष्यमै विज्ञानले गर्न गैरहेको केही उपलब्धीको अग्रिम जानकारी यस अंशबाट श्रवण गर्नुहोस्।

१) दिव्य दृष्टि: व्यासले संजयलाई वा श्रीकृष्णले अर्जुनलाई प्रदान गरेको दिव्य दृष्टि शीघ्र नै विज्ञानले सर्वसुलभ गराउँदैछ। वायोनिक आई लेन्सको प्रयोगले मनुष्यको हेर्ने क्षमता तीन गुणले वृद्धिको प्रयोग सफल भई सकेको छ। यो लेन्स आठ मिनेटको सामान्य शल्यक्रियाले आँखामा प्रत्यारोपित हुन्छ।

२) स्वर्गको पोशाक: राजालाई नांगो बनाई स्वर्गको लुगा लगाई दिने कथाका दिन गए। अब जसले पनि मिनेटमै आफ्नो लागि इच्छित डिजाइनको वस्त्र बनाउन सक्छ। डा. म्यानैल टारेस र पार्टिकल वैज्ञानिक पाल लेकेमले एउटा यस्तो स्प्रेको निर्माण गरेका छन् जसलाई शरीरमा छर्केर मन माफिकको वस्त्र बनाउन सकिन्छ। यसरी निर्माण गरिएको वस्त्र पुनः प्रयोगमा ल्याउन सकिन्छ। कपडा उद्योग र सिलाई उद्योग अब म्यूजियममा सीमित हुने छन्।

३) पुर्नदत्ता: गुरु संदीपनीले त शिष्य कृष्णसंग गुरु दक्षिणामा भक्ति बाहेक केही लिएनन् तर गुरुआमाले भने सक्छौ भने मेरो पुत्र फर्काएर ल्याइदेउ भनिन्। पुत्र त दानवको आहारा भइसकेको थियो। कृष्णले धर्मराजसँग गएर गुरु पुत्रको ब्लुप्रिन्ट (DNA) प्राप्त गरी क्लोन बनाएर गुरुआमालाई दक्षिणा स्वरुप पुर्नदत्त प्रदान गरी गुरुऋणबाट उऋण हुन्छन्। म कृष्ण भक्त भएको नाताले हेदर डेवी हैगवर्ग नामक महिला अन्वेषकले गरेको खोजप्रति कृतार्थ छु। हेदर डेवीले बाटोमा फालिएका सिगरेटका ठूटा र चुइगमबाट डिएनए एकत्र गरी ती सामग्री प्रयोगकर्ताको थ्रीडी फोटो बनाउने सफलता प्राप्त गरिन्। भनौं उनले डिएनएबाट पुर्नदत्तको फोटो सम्म बनाउने कामयाबी हासिल गरिन्, अब त्यो दिन टाढा छैन जब विज्ञानले डिएनए सूत्रबाट ठ्याक्कै त्यै मानिस बनाई दिनेछ। अब ममि अथवा क्रायोनिक्स (CRYONICS) प्रविधिबाट पूरै शरीरलाई सुरक्षित राख्ने (क्रायोनिक्स प्रविधिमा मृतकको शरीरलाई —१९६ डिग्रि सेल्सियसमा सुरक्षित राखिन्छ) आवश्यक्ता पर्दैन। डिएनए मात्र सुरक्षित राखे पुग्यो।

४) विद्युत वृक्ष: सडक छेउमा उज्यालोका लागि रहेका विद्युत पोल अब केही वर्ष भित्र विस्थापित हुन्छन्। पोलको ठाउँ अब वृक्षले लिन्छ। वैज्ञानिकहरुले जेलीफिश, मशरुम र जुनकिरीको डिएनएबाट विकसित गरेका जैविक वृक्षले अब रात्रिमा प्रकाश दिने छन्।

५) स्वचालित वाहन: ड्राइभरको पेशा पनि धरापमा छ। अब बन्ने वाहन स्वचालित हुनेछन्। हजुर स्वचालित वाहनले दुर्घटना बढाउने होइन वरन यस प्रविधिले दुर्घटनालाई न्यून बनाउँछ। यसको सफल प्रयोग पनि भइसकेको छ।

६) नक्कली पात:  कार्वनडाइअक्साइड संसारभरिको समस्या हो। तर अब यसलाई सोझै उर्जामा परिणत गर्ने प्रविधिको विकास हुँदैछ। वैज्ञानिकहरुले एउटा नयाँ ‘सोलार सेल’को आविष्कार गरेका छन जसले वातावरणमा रहेको कार्वनडाइअक्साइडलाई सूर्यको प्रकाशको सहायताले हाइड्रोजन मिश्रण र कार्वन मोनोअक्साइड गैसमा रुपान्तरित गरी दिन्छ । यस प्रविधिमा टंगस्टन धातुको उपयोग गरिन्छ।

७) पानीमाथि शहर: भगवान विष्णु क्षीरसागरमा शेषनागको शैय्यामा विश्राम गर्छन्। वैज्ञानिकहरुले पानीमाथी पूरै शहर विकसित गर्ने दिशामा कार्य गरिरहेका छन्। यी शहर सँधै पानीमाथी पौडी रहन्छन । यस्ता शहरमा स्मार्ट सिटीमा हुने सबै सुविधा हुन्छन्।

८) अक्सिजन टेबलेट— इन्जेक्टिबल अक्सिजन पार्टिकल प्रविधिबाट वैज्ञानिकहरुले यस्तो सूक्ष्म टेबलेट बनाउने सफलता हात पारेका छन, जसले शरीर भित्र गएर लाल रक्त कणिकासँग मिलेर अक्सिजनको आपूर्ति गर्छ। बाहिरबाट अक्सिजन नपाए पनि कुनै खतरा रहन्न। एउटा टेबलेट सेवन गरेर माछाझैं समुद्रको गहिराइमा यात्रा गर्न सकिनेछ।

९) टेली ट्रान्सपोर्टेसन: नारदजी आँखा नझिम्किँदै एक स्थानबाट अर्को स्थानमा पुग्ने कुरा अब पूराणका कथा रहँदैन। क्वाण्टम एटेगंलमेण्ट र क्वाण्टम कम्प्यूटरले यो सुविधा सर्वसाधारणलाई पनि उपलब्ध गराई दिन्छ ।

१०) नैनो टेक्नोलोजी: अब नैनोटेक्नोलोजीको युग हो। यस प्रविधिले संसारको रुप नै फेरिदिन्छ। मृत्युलाई एउटा रोगमा परिभाषित गरेर त्यो रोगको निदान विज्ञानले उपलब्ध गराइ दिन्छ। मानिस भीष्म पितामह जस्तो इच्छामृत्युले सम्पन्न हुन्छ।

पितामह यी सबै उपलब्धी अबको सय वर्षमा पृथ्वीको विज्ञानले उपलब्ध गर्छ। पचासको उमेर काटीसकेको मैले यो जुनीमा त मर्नै पर्छ। र, यदि पुर्नजन्ममा मानिस नै भइयो भने म तपाईँको रात्रिसम्म श्रृष्टिमा विहार गरिरहने छु।

पुस १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्