दिल्लीमा नेपाली ढाका टोपीको शान

नयाँ दिल्ली – अन्तर्राष्ट्रिय नेपाली ढाका टोपी दिवस भारतको राजधानी नयाँ दिल्ली नजिक गुरुग्राममा मनाइएको छ।

हरियाणा राज्यको गुरुग्राम सेक्टर–२९ स्थित लेजरवाली पार्कमा सामाजिक संगठन नेपाली देशभक्त आवाजले अंग्रेजी नयाँ वर्षको पहिलो मंगलबार नेपालीहरुको पहिचान टोपी लगाएर दिवस मनाइएको हो।

नेपालीपन, नेपाली मन, हाम्रो अभियान, हाम्रो ढाका टोपी, हाम्रो गौरव, हाम्रो पहिचान भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा ठूलो संख्यामा प्रवासी नेपालीहरुले टोपीका साथमा दिवस मनाएका हुन्।

नेपाली पहिचान विशेषगरी प्रवासमा बस्ने नेपालीहरुले आफ्नो संस्कृति, भेषभुषा र पहिचाननै बिर्सदै गइरहेको अवस्थामा आफुहरुले हरेक वर्ष टोपी दिवस मनाउँदै आएको संगठनका अध्यक्ष हरि रोका मगरले बताएका छन्।

शताब्दीऔंदेखि प्रयोग भइरहेका विभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक बनाउने उद्देश्यले विगत ६ वर्षदेखि नेपाली टोपी दिवस मनाउन थालिएको हो। नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन्।

पुस १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्