आर्सनलको शानदार जित, हार्यो रेलिगेशन टार्न संघर्षरत रानिएरीको टिम

रेलिगेशनबाट जोगिन संघर्षरत फुलह्यामलाई शीर्ष चारमा पर्न प्रयासरत आर्सनलले हराएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा आर्सनलले फुलह्यामलाई ४–१ ले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा उनाई एम्रीको टिम आर्सनलले क्लाउडियो रानिएरीको टिम फुलह्यामलाई हराएको हो । पहिलो हाफमा एक गोल गरेको आर्सनलले दोस्रो हाफमा तीन गोल गरेको हो ।
फुलह्यामले दोस्रो हाफमा एक गोल फर्कायो । आर्सनलका लागि ग्रानेट जाका, एलेक्सान्ड्र लाकाजेटी, आरोन राम्सी र पिएर एमरिकले गोल गरे । फुलह्यामका लागि कामाराले गोल गरेका हुन् ।
२५ औँ मिनेटमा जाकाको गोलबाट आर्सनलले पहिलो हाफमा १–० को अग्रता लियो । ५५ औँ मिनेटमा लाकाजेटीले गोल गर्दै अग्रता दोब्बर पारे । ६९ औँ मिनेटमा कामाराले गोल गर्दै फुलह्यामलाई खेलमा फर्किने आश दिलाए ।
तर ७९ औँ मिनेटमा राम्सी तथा ८३ औँ मिनेटमा पिएर एमरिकले गोल गरेपछि आर्सनल ४–१ ले विजयी भयो ।
जितपछि पाँचौँ स्थानको आर्सनलको २१ खेलबाट ४१ अंक भएको छ । उ चौथो स्थानको चेल्सी भन्दा दुई अंकले पछि छ । यस्तै पुछारबाट दोस्रो स्थानमा रहेको फुलह्यामको २१ खेलबाट मात्रै १४ अंक छ ।
लिग अन्तर्गत मंगलबार राति भएको अर्को खेलमा लेस्टर सिटीले एभर्टनलाई १–० ले हरायो । लेस्टरको जिटमा ५८ औँ मिनेटमा जेमी भर्डीले गरेको गोल नै निर्णायक बन्यो । जितपछि २१ खेलबाट ३१ अंक जोडेको लेस्टर सिटी सातौँ स्थानमा उक्लिएको छ ।