कसरी गर्‍यो बेलायतले नेपालको शोषण ?

गोर्खा ब्रिगेडमा फेरि संख्या थप गर्ने र महिला समेत समावेश गर्ने प्रस्ताव रहेको छ। एसिया प्यासिफिक (अहिले इन्डो प्यासिफिक क्षेत्र भनिएको) क्षेत्रमा विस्तारै द्वन्द्व निर्माण गर्ने पश्चिमी ब्लकको रणनीति निर्माण भइरहेको छ। अमेरिका र उत्तर कोरियाबीचको परम्परागत द्वन्द्वका अतिरिक्त दक्षिण चीनमा तिब्र गतिमा निर्माण गरीएको पश्‍चिमी हस्तक्षेप, जापान, अष्ट्रेलिया र भारतको त्रिपक्षीय गठबन्धनका अतिरिक्त डोनाल्ड ट्रम्पको सुरक्षा रणनीतिले पुनः विश्व शीत युद्धमा प्रवेश गर्ने सम्भावना बढेको देख्‍न सकिन्छ।

यसै सन्दर्भमा नेपाली नागरिकको ब्रिटिस सेनामा भर्ती गराउने रणनीति बेलायतको रहेको देखिन्छ। सुन्‍नमा आए अनुसार तत्काल भविष्यले बेलायतले गोर्खा ब्रिगेडको संख्या १४००० पुर्‍याउने योजना छ। यसभित्र महिला समेत संलग्‍न गर्न लागिएको बेलायतले बताएको छ। यसका पछाडि बेलायती नागरिकहरूको सेनामा भर्ना हुन नचाहने प्रवृत्तिलाई सम्बोधन गर्न नेपाली महिलालाई गोर्खा ब्रिगेडमा समावेश गरी यौनाकर्षणको तुरूप तयार पार्ने छद्म अभिष्ट रहेको देख्‍न सकिन्छ। अब फेरि नेपाली नागरिकको व्यापक दोहन र शोषण गर्ने योजना गरेको देख्न सकिन्छ। तर विगतको शोषण कति अमानवीय रहेको छ भने त्यसको सम्बोधन नगर्ने हो भने, भविष्यमा नेपालमा एउटा गम्भीर जातीय हिंसा निर्माण हुने सम्भावनालाई देख्‍न नसक्नुपर्ने कारण छैन।

गोर्खा ब्रिगेडको इतिहास


सन् १८१६ बाट आज आइपुग्दा, बेलायतले गोर्खा ब्रिगेडको नाममा नेपालको जनशक्ति शोषण गरेको २०० वर्ष पुगिसकेको छ। यस अवधिमा नेपालीहरूको १० पुस्ता गोर्खा ब्रिगेडमा संलग्न भएको छ। उपनिबेशको संरक्षणका लागि गठन भएको यो सेना उपनिबेश सकिएपछि पनि कायम छ। भारतमा समेत यसको विस्तार भएको छ र यसलाई बेलायतले ब्रुनाई र सिंगापुर प्रहरीमा विस्तार गरी बेलायतले आम्दानी गर्ने व्यापारमा परिणत गरेको छ। यसका अतिरिक्त बेलायती गैरसरकारी सुरक्षा कम्पनीहरूले भुतपूर्व गोर्खाहरूको श्रमको शोषण गरी खाडी क्षेत्रमा प्रयोग गरिरहेका छन्।

२०० वर्षको इतिहासमा करीब १० लाख नेपाली युवाहरूको बेलायतले दासतापूर्वक शोषण गरेको छ। खासगरी पहिलो विश्वयुद्ध, दोश्रो विश्वयुद्ध र मलायाको लडाइँमा बेलायतले लगभग ७ लाख युवाहरू प्रयोग गरेको छ भने करीब ५ लाख युवाहरू मारिएका वा हराएका वा घाइते भएका छन्। तर बेलायतले उनीहरूको मातृभूमि देश नेपाललाई कुनै जानकारी दिएको छैन। बेलायती दस्तावेजहरूमा पाइएका तथ्यांकहरू भ्रमपूर्ण र झुटा छन्। उनीहरूले  गोर्खा सैनिकहरू माथिको भीमकाय अत्याचार ढाकछोप गर्न यथार्थ संख्याको तथ्याङ्कलाई लुकाएका छन्।

सन् १८७० मा ४६८५ जना गोर्खा सैनिक रहेको देखाए पनि यो झुठो तथ्यांक हो। सन् १८९५ मा यो संख्या ७००० देखाएका छन्। पहिलो विश्व युद्धमा २ लाखभन्दा बढी संख्यामा नेपालीहरूलाई रणभूमिमा पठाए पनि त्यस सम्बन्धमा तथ्यांक लुकाएका छन्। औपचारिक ढंगले भर्ती गर्दा बास्तविक क्षति देखिने भय बाट सानो संख्यामा औपचारिक भर्तीको अभिलेख प्रयोग गरी मृत्यु र अन्य घटना लुकाउने कुटील व्यबहार उनीहरूले प्रयोग गरेका छन्।

पहिलो विश्वयुद्धमा २० हजार गोर्खालीहरू मरेको भनिए पनि त्यो सत्य होइन। तर १ह५ अर्थात सामान्यतया पाँचजना मर्ने मान्यताअनुसार पनि पहिलो विश्वयुद्धमा २ लाख भन्दा बढी मानिस रहेछन् भन्ने कुरा यसै तथ्यले पुष्टि गर्दछ। दोस्रो विश्वयुद्धमा झुठो विवरण दिइ बेलायती सरकारले ७५४४ जनामात्र मरेको देखाई विश्वलाई नै मुर्ख बनाउने प्रयास गरेको छ।

चार लाखमाथि युवाहरू प्रयोग गरेको अवस्था छ। सन् १९०८ मा युद्ध नभएकै अवस्थामा ६१००० गोर्खा सैनिक रहेको कुरा बेलायतले केही दस्तावेजमा जनाएको छ। सन् १९४१ मा १२५००० नयाँ भर्ना गरिएको भनिएको छ। यदि यो संख्यालाई नै मान्ने हो भने पनि अमेरीकी युद्ध अभिलेखले जनाएको इम्पेरियल सेनाको क्याजुल्टी अनुपातलाई मान्दा पनि ३५ प्रतिशत सैनिक मारिएका छन्। यसबाट दोस्रो विश्वयुद्धमा न्युनतम् ८७००० जना जति सैनिकहरू युद्धमा मारिएका छन्।

अन्तत: ठूलो संख्यामा गोर्खालीहरू मारिएको घटना स्वत: आकलन गर्न सकिन्छ। दोश्रो विश्वयुद्धमा फ्रान्सको दक्षिण क्षेत्रमा मात्र एकै रातमा १७००० गोर्खालीहरू मारlएका थिए भने, बर्माको माण्डलेमा मात्र एकैदिन ११००० मारिएका थिए। सन् १९४७ मा बेलायत, भारत र नेपालका बीचमा भएको त्रिपक्षीय सन्धlबमोजिम ४ बटालियन बेलायत र बाँकी भारतमा छाडिएको भनिए पनि बेलायतले जम्मा संख्या ३३००० रहेको देखाएको  । यसबाट करlव २ लाख मारिएको वा हराएको देख्न सकिन्छ।

मानवीय शोषणको निन्दनीय स्वरूप


गोर्खा भर्ती बेलायती उपनिवेशको नग्न नैतिकता विरोधी कार्य थियो। सन् १८१६ मा युद्ध चलिरहेकै समयमा नेपालका ३००० सेना जो युद्धबन्दी बनाइएका थिए, उनीहरूलाई मनोवैज्ञानिक दबाब सहित बेलायतका लागि लड्ने भाडाका सेनामा भर्ती गरिएको थियो। यसलाई श्रीमोर बटालियन भनियो। यो अपराधपूर्ण बेलायती कार्यलाई नेपाली इतिहासकारहरूले नङ्ग्याउन सकेनन्।

बेलायतीहरू जातीवादी तथा नश्लवादी शासक वा राज्य थिए। उनीहरूले युद्धमा नेपालीहरूलाई अगाडि राखेपनि बेलायती नागरिक सरहको दर्जा कहिले पनि दिएनन्। खानेकुरामा भेदभाव गरे। गोर्खाली अफिसर पनि ब्रिटिस नागरिकका मेसमा अनुमति थिएन। गोर्खालीलाई दिने खाना र पिउने पदार्थमा पनि भेदभाव थियो। मेडिकल विमा र एलाउन्स गोरालाई मात्र प्राप्त थियो। गोरा सैनिकले परिवार साथमा राख्‍न पाउँथ्यो र युद्धमा वा काममा परिवार बाहिर जाँदा सेपेरेसन भत्ता पाउँथे। तर गोर्खालाई सेवाको उत्तरार्धमा केही समय परिवारसँग बस्न पाउने सुविधा दिएपनि छुटिनुपर्दा गोराले पाएको भत्ता दिइएको थिएन। गोर्खालीलाई भारतीय पेन्सन कोड लगाई मासिक तलव र पेन्सनमा गोराले पाउने भन्दा २००० प्रतिशत कम तलव र पेन्सन दिइएको थियो।

सैनिकको रूपमा मान्यता दिइ नियुक्त गरेपनि छद्मरुपले गोर्खालीहरूलाई पहिलोपटक जम्मा ४ वर्षका लागि, त्यसपछि ३ वर्ष थप गरी ७ वर्षका लागि, त्यसपछि ३ वर्ष थप गरी १० वर्ष, त्यसपछि २ वर्ष थप गरी १२ वर्ष, र त्यसपछि ३ वर्ष थप गरी १५ वर्ष पुगेपछि रिटायर्ड गर्ने चलन थियो । गोर्खालीहरू ९ वर्ष अगाडि नै सेवा निवृत भए पेन्सन नपाउने व्यवस्था थियो भने गोराहरू २ वर्षमा नै पेन्सन पाउन योग्य हुन्थे । यसरी गोर्खालाई भेदभाव गर्ने प्रयोजनकै लागि ब्रिटिस आर्मी नभनी गोर्खा ब्रिगेड भनिएको थियो । गोर्खालाई ब्रिटिसको दर्जा नदिई नश्लवादी नीति अबलम्बन गरिएको थियो ।

बेलायतले युद्ध क्षेत्रमा गोरा नागरीक युवाको ज्यान जोगाउन, गोराहरूको मृत्यु वा रगतको लागि गोर्खालीलाई प्रयोग गर्‍यो। हजारौ गोर्खाहरूको बलिदानबाट आफ्ना नागरिक बचायो। त्यो पनि बिनालगानी। अर्कातिर गोर्खालीलाई कमाउने भाडो बनायो।जस्तै:

१. प्रथम र दोश्रो विश्वयुद्धमा युद्धका लागि भर्ना गरीएका युवाहरूलाई युद्ध सकिनासाथ घर पठाइयो र ती अधिकांश घाइते थिए। उनीहरूलाई केही दिएनन्। हराएको खोजी पनि गरेन र मरेकाको क्षतिपूर्ति र उनीहरूले पाउने तलब पनि परिवारलाई पठाएन।

५ लाख त्यस्ता अभागी सेनाका २० लाख सदस्य अर्थात ५ लाख परिवार घरधुरी प्रभावित भए। यी दुई युद्ध र ती युद्धमा गरीएको जीवनको शोषण नै आज अधिकांश जनजाति परिवारको विपन्नताको कारण हो। सन् १९५२ पछाडि शोषित परिवार र केही सचेत नेपालीहरूले यी कुराहरू बोल्न थालेपछि आफ्नो गल्ती र शोषण लुकाउन ब्रिटिस लेखकहरूले नेपालमा जनजातिको गरीबी र पछौटेपन ब्राम्हण क्षेत्रीको संस्कृताइजेसन (संस्कृतकरण) का कारणले हो भनि नेपालमा जातीयताको बीऊ रोपे।

पश्चिमी विश्वविद्यालयमा छात्रवृति दिइ डोरबहादुर बिष्टहरूको उत्पादन गर्न थाले। त्रिभुवन विश्वविद्यालयलाई उपनिवेश बनाइ जातिवादीहरूको निर्माण गरी नेपालको विकासलाई आवद्ध गर्न थाले। पृथ्वीनारायण शाहलाई विस्तारवादी भन्न थाले, एकीकरणलाई विस्तारवादी आक्रमण भन्न थाले, यही विन्दुबाट क्रिश्चियनकरण अभियान शुरु गरे। त्यसैले सन् १९५४ मा युनाइटेड मिसन टु नेपाल काठमाण्डौ प्रवेश गर्‍यो।

सन् १९५६ मा सिल भन्‍ने संस्थाले विकासको नाममा नेपाली भाषा ध्वस्त पार्न थाल्यो। त्यसपश्चात व्यापक सामाजिक विभाजन सहित चीन विरोधी खम्पा आन्दोलनको निर्माण गर्‍यो र लियो रोजको नेपाललाई चीन र भारतले गाभ्छन् भन्‍ने अभिव्यक्तिलाई नेपालीका मनमा असुरक्षाको मनोविज्ञान भर्ने काम गरियो। पछिल्लो समयमा जातिवाद र क्रिश्चिनियटीलाई कम्युनिष्ट राजनीतिसँग जोडी नेपालको एकिकरण गोर्खा साम्राज्यको विस्तार थियो भनी घोषणा गर्ने मोहनचन्द्र अधिकारी र डा.बाबुराम भट्टराई जस्ता नेता थिए।

गोर्खा ब्रिगेडका माध्यमद्धारा नेपालको रगतको शोषण, देशनिर्माणको बर्वादी र नेपाली मनोविज्ञानको क्षय समेत गरियो। त्यसैले भारतमा शसी थरुरले भने जस्तै नेपालमा ५ लाख भू.पू.सैनिकको शोषण क्षतिपूर्ति माग्‍नु नेपाली जनताको अधिकार हो।

२. सन् १९५२ बाट मलेसियामा कम्युनिष्ट विद्रोह सुरु भयो । १७ हजार नेपाली प्रयोग भए । २० वर्ष सक्रिय लडाइँमा होमेपछि सन् १९६८ मा ९ वर्ष सेवा नपुगेका ११ हजार गोर्खालाई खाली खुट्टा फिर्ता पठाइयो। मलेसियाको युद्धमा बेलायतले नेपाली युवाको श्रम र रगत बेचेर अकुत सम्पति कमायो। प्रति सैनिक मलेसियासँग ४८२ डलर लिइ गोर्खालीलाई मासिक ८२ डलर दिइ प्रतिव्यक्ति मासिक ४०० डलरका दरले १७००० सैनिकबाट २० वर्ष आर्जन गर्‍यो। यसरी नेपाली युवा बेलायतको कमाउने स्रोत बन्‍न पुगे। यो रकम नेपाल सरकारले फिर्ता माग्नुपर्छ। र सम्बन्धित परिवारलाई दिनुपर्छ। यो रकम प्रतिवर्ष १ विलियन ६३२ मिलियन मलेसियन रिंगिट हुन्थ्यो।

३. इण्डोनेसिया– मलेसिया – ब्रुनाइको युद्धपछि बेलायतले ३००० भूतपूर्व सैनिकलाई हातहतियार सहित ब्रुनाइमा तैनाथ गरेको छ ।

प्रतिव्यक्ति २५०० डलर पारिश्रमिक दिने सहमति भए पनि गोर्खा नेपालीलाई खान बस्‍न समेत त्यसैबाट गर्ने गरी ११०० डलर दिएको छ। यसरी मासिक प्रतिव्यक्ति ३००० बाट १४०० डलर लिइ बार्षिक ५ करोड ४ डलर बेलायतले कमाइरहेको छ। यति नै रकम सिंगापुर पुलिसबाट पनि कमाइ रहेको छ।

४. सन् १९९७ पहिला नेपालीलाई मासिक २४ पाउण्ड र गोरालाई ४५० पाउण्ड पेन्सन दिईएको थियो । भू.पू. सैनिकको आन्दोलन पछि सन् १९९७ मा पे–पेन्सन बराबर गरीएपनि नेपालीलाई १५ वर्षमा र गोरालाई २२ वर्षमा निवृत गरी नेपालीलाई गोराले पाउने सात वर्षको अनुपातमा कट्टा गरी २५० बराबर मात्र पेन्सन दिईएको छ । १५ वर्ष पछि ब्रुनाई लगि कमाउने साधन बनाईएको छ।

५. सन् १९४६ मा जापानसँगको सन्धिबाट नेपालीहरूलाई समेत युद्धबन्दी बनाएबाट १२५ डलरका दरले भत्ता दिनुपर्ने गरीयो । तर करीब ७००० गोर्खाको युद्धबन्दी  भत्ता बेलायत सरकारले आफ्नै राजस्वमा हाल्यो। केही वर्ष अगाडि बेलायतको एउटा अदालतले लम्पसम १३ लाख क्षतिपूर्ति दिए पनि त्यो बाँचेकाले मात्र पाए । मरेकालाई दिइएको छैन, र उनीहरूका परिवारलाई बेवास्ता गरियो। भू.पू. सैनिक कै केही स्वार्थी मानिसले बेलायतसँग यस सम्बन्धमा सम्झौता गरी बन्धुहरूमाथि घात गरे ।

यस्ता अनेकौ शोषणका घटना छन् । सन १९९७ पछाडि पे-पेन्सन बराबर गरे पनि त्यो पैसा बेलायतमै रहोस भन्‍नाका लागि आश्रितहरूलाई बेलायतमा स्थाइ बसोवास गर्न दिने व्यवस्था गर्‍यो । परिणाम स्वरूप छोराछोरी र बाबुआमालाई गोर्खाहरूले बेलायत लान थाले ।

आर्जनले नपुग्‍ने भएबाट वृद्धहरू पनि काम गर्न बाध्य बनाइएका छन्। उनीहरू मर्दा दफन गर्ने खर्च समेत छैन। उनीहरू दफन गर्ने ठाँउ प्राप्त गर्न चर्चको शरणमा जान बाध्य छन्। यसरी गोर्खा समुदायको धर्म र संस्कृति पनि ध्वस्त बनाइएको छ। क्रमश…

पुस १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्