विराटनगरमा भोलिदेखि प्रदेशस्तरीय क्‍यान इन्फोटेक

मोरङ-प्रदेशस्तरीय प्रविधि मेला क्यान इन्फोटेक २०१९ विराटनगरमा सुरु हुँदैछ।

बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै बिहीबारदेखि आउँदो सोमबारसम्म पाँच दिन हुने प्रविधि मेलाको तयारी पूरा भएको आयोजक समिति क्यान महासंघ मोरङले जनाएको छ।

क्यान मोरङका अनुसार, इन्फोटकमा विभिन्न क्षेत्रका १ सय १० वटा स्टल रहने छ। विराटनगरमा बृहत प्रविधि मेलाका रुपमा आयोजना गर्न लागिएको क्यान इन्फोटेकमा प्रविधि प्रदर्शनीका साथै सेमिनार, कन्फरेन्स स्मार्ट सिटी र साइबर सुरक्षाबारे समेत जानकारी गराइने बताइएको छ।

त्यसका लागि काठमाडौंलगायत विभिन्न विश्वविद्यालयका प्रविधिसम्बन्धी विशेषज्ञहरू सहभागी हुनेछन्। पाँच दिनसम्म हुने क्यान इन्फोटेकमा विद्यार्थीलाई प्रवेश निःशुल्क गरिएको छ भने सर्वसाधारणलाई ५० रुपैयाँ प्रवेश शुल्क राखिएको बताइएको छ।

इन्फोटेकमा रोबोट बार, पब्जी, स्मार्ट सिटी मोडेलिङ, ह्याकाथोन, भिडियो थिम च्यालेन्ज जस्ता युवा तथा विद्यार्थी लक्षित कार्यक्रम पनि मुख्य आकर्षण हुने आयोजकको दाबी रहेको छ। इन्फोटेकमा २ लाख मानिसले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ।

पुस १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्