जोसे बर्खास्त भएपछि म्यानचेस्टर युनाइटेडको आश्चर्य लाग्दो प्रदर्शन, अन्तरिम प्रशिक्षकले बनाए कीर्तिमान

आश्चर्य लाग्दो गरी म्यानचेस्टर युनाइटेडले प्रशिक्षकबाट जोसे मोरिन्होलाई बर्खास्त गरेपछिका खेलमा लगातार जित निकाल्दै आएको छ । मोरिन्होलाई बर्खास्त गरेर अन्तरिमकालका लागि प्रशिक्षकको जिम्मा युनाइटेडले क्लबका पूर्व स्ट्राइकर ओल गुनार सोल्सकेएरलाई नियुक्त गरेको छ ।

ओलको प्रशिक्षणमा युनाइटेडले लगातार चौथो जित निकालेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा युनाइटेडले न्युक्यासललाई हराएको हो ।

अवे मैदानमा भएको खेलमा युनाइटेडले न्युक्यासलमाथि २–० को जित निकालेको हो । म्यानचेस्टर युनाइटेडको जितमा रामेलु लुकाकु र मार्कस रासफोर्डले गोल गरे।

दुवै गोल दोस्रो हाफमा भएको हो । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा युनाइटेडका लागि ६४ औँ मिनेटमा लुकाकुले गोल गरे ।

उनले मैदान छिरेको केही सेकेण्ड भित्रै गोल गरेका हुन् । पहिलो टचमै गोल गरेका लुकाकुले मैदान छिरेको ३८ सेकेण्डमै गोल गरेका हुन् ।

यस्तै ८० औँ मिनेटमा रासफोर्डले गोल गरेपछि युनाइटेडले २–० को जित पक्का गरेको हो । जितपछि छैटौँ स्थानको युनाइटेडको २१ खेलबाट ३८ अंक भएको छ । १८ अंकसहित न्युक्यासल १५ औँ स्थानमा छ ।

लगातार चार खेलको जितसँगै अन्तरिम प्रशिक्षक ओलले क्लबमा कीर्तिमान बनाएका छन् ।

म्यानचेस्टर युनाइटेडको इतिहासमा अहिलेसम्म जिम्मेवारी सम्हालेपछिका लगातार चार खेलमा जित निकाल्ने उनी दोस्रो प्रशिक्षक बनेका छन् । उनले सन् १९४६ मा सर म्याट बसबीले बनाएको कीर्तिमानमा बराबरी गरेका हुन् ।

पुस १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्