आइफोनप्रतिको रुची घट्दो !

समस्यामा आइफोन निर्माता कम्पनी एप्पल, चीनमाथि दोष 

आइफोन निर्माता कम्पनी एप्पल आफ्ना उत्पादनको बिक्रीमा आएको कमीका कारण चिन्तामा छ । उसले आफ्ना लगानीकर्ताहरुलाई बिक्रीमा कमी आउनुको कारण चीनमा भएको आर्थिक कमजोरी कारक रहेको बताएको छ ।

आइफोन निर्माता एप्पलले डिसेम्बर २९ देखि तीन महिनाको अपेक्षित लाभ ८४ बिलियन अमेरिकी डलर तोकिएको बताएको छ । उसले यसअघि नोभेम्बरमा सन् २०१८ को अन्तिम त्रैमासिकको अुनमानित लाभको उद्देश्य ८९ बिलियन अमेरिकी डलर राखेको थियो र यसले नै लगानीकर्तालाई निराश पारेको थियो ।

एप्पलको शेयर बजार नोभेम्बरबाट यता २८ प्रतिशतको हाराहारीमा कम भएको छ । क्रिसमस तथा नयाँ वर्षसहितका चाडपर्वको मौसम एप्पलको बजारका लागि राम्रो रहँदै आएको थियो । तर यहि चाडपर्वको त्रैमासिकमा यो वर्ष एप्पलको बिक्री कम भएको छ ।

गएको वर्ष वर्षको पहिलो त्रैमासिकका लागि तोकिएको आय भन्दा यो वर्षको सोही अवधिका लागि तोकिएको आय पाँच प्रतिशत कम हो । सन् २०१६ पछि एप्पलले अनुमानित आय वार्षिक रुपमा लगातार घटाएको छ ।

एप्पलका कार्यकारी अधिकृत टिम कुकले बुधबार लगानीकर्ताका लागि लेखेको पत्रमा कम्पनीका उत्पादनको बिक्रीमा सबैभन्दा ठूलो समस्या रहेको क्षेत्र चीन र त्यसआसपासका क्षेत्र रहेको उल्लेख छ ।

यसको अर्थ चीनसहित हङकङ तथा ताइवानमा एप्पलका उत्पादनको बिक्रीमा कमी आएको छ । यो क्षेत्रले एप्पलका उत्पानको कुल बिक्रीको २० प्रतिशत हिस्सा ओगट्दै आएको छ ।

चिनियाँ क्षेत्रको आर्थिक मन्दीका कारण आफूहरुको उत्पादनको बिक्रीमा कमी आएको भन्दै टिम कुकले यो कहिले अन्त्य हुनेछ भन्ने बताउन सक्ने अवस्थामा नरहेको उल्लेख गरेका छन् । यस्तै विकसित बजारमा पनि समस्या रहेको टिमले उल्लेख गरेका छन् ।

आफूहरुले अपेक्षा गरे अनुसार प्रयोगकर्ताहरुले एप्पलका नयाँ फोनहरु खरिद नगरेको उनको भनाई छ । एप्पलले पछिल्लो १५ वर्षमा पहिलो पटक आफ्ना लगानीकर्तालाई सुधारिएको परामर्श जारी गरेको हो ।

यसले यो स्पष्ट भएको छ कि एप्पल र लगानीकर्ताबिच पछिल्लो महिना समस्या छ । सेप्टेम्बर र अक्टोबरमा उच्च बिन्दुमा रहेको एप्पलको बिक्री त्यसयता लगातार घटेको छ ।

कम्पनीले सोचे अनुरुप अवस्थाहरु नबनेकाले समस्या देखिएको कुकले उल्लेख गरेका छन् ।

पुस १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्