विराटनगरमा आजदेखि क्‍यान इन्फोटेक सुरु

मोरङ-प्रदेश नम्बर एकलाई प्रविधिमैत्री बनाउन प्रदेश सरकार तत्पर रहेको आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले बताएका छन्।

विराटनगरमा बिहीबार प्रदेशस्तरीय प्रविधि मेला क्यान इन्फोटेकको उद्घाटन गर्दै आन्तरिक मामिला मन्त्री एवं प्रवक्ता कार्कीले अबको समय प्रविधिको भएकाले नयाँ पुस्तालाई समेत यसमा अभ्यस्त बनाउदै लैजानु पर्नेमा जोड दिए।

पाँच दिनसम्म चल्ने मेलाका क्रममा मन्त्री कार्कीले भने, ‘नयाँ पुस्तालाई समेत अभ्यस्त बनाउदै अघि बढ्न प्रदेश सरकार तयार रहेको छ। तपाईहरु सरसल्लाहसहित आउनुस्, सरकार सहयोगका लागि तयार छ।’

प्रविधिको माध्यमबाट अपराध, सडक दुर्घटना नियन्त्रणमा ल्याउन सकिने बताएका मन्त्री कार्कीले भने, “प्रदेश सुरक्षाका लागि २० हजार जनशक्ति आवश्यक रहेकोमा हाल करिब ११ हजार सुरक्षाकर्मी रहेका छन्। सीमित जनशक्तिले सबै कार्य गर्न गाह्रो हुने भएकाले ती क्षेत्रलाई समेत प्रविधिमैत्री बनाएर अघि बढ्नुपर्ने चुनौती रहेको छ।’

त्यसैगरी मन्त्री कार्कीले प्रदेश एकको १ सय ३७ स्थानीय तहलाई पेपर लेस प्रविधिमैत्री बनाउने प्रयासमा सरकार रहेको जानकारी दिए।
त्यसैगरी, कार्यक्रममा प्रदेश नम्बर एक, नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेशलाई पेपरलेस बनाउन आवश्यक भइसकेको बताए।

यद्यपि, सुचना प्रविधिमा जोडिएका ब्यवसायीप्रति लक्षित हुँदै कार्कीले विभिन्‍न टेन्डरका लागि प्रविधीका व्‍यवसायीहरुले राजनीतिक दलदेखि पहुँचवालासम्म दबाव दिने गरेको आरोप लगाए। ‘व्‍यावसायीहरुले आफ्नो सरसमान विक्रि वितरणका लागि मन्त्री, कर्मचारीदेखि चौतर्फी प्रलोभन देखाउँदै काम लिने गरेका छन्, यस्तो प्रवृत्तिको अन्त्य हुनु आवश्यक छ,” कांग्रेसका प्रमुख सचेतक कार्कीले भने।

‘पाँच दिनसम्म चल्ने यस मेलामा प्रविधिसँग जोडिएको विभिन्‍न कम्पनीका १ सय १० वटा स्टलहरु राखिएको छ। मेलाका रुपमा आयोजना गर्न लागिएको क्यान इन्फोटेकमा प्रविधि प्रदर्शनीका साथै सेमिनार, कन्फरेन्स स्मार्ट सिटी र साइबर सुरक्षाबारे समेत जानकारी गराइने छ।

पुस १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्