टीकापुरकाण्डका अभियुक्त संसदतर्फ

रेशम चौधरी डिल्लीबजार जेलबाट बाहिरिँदै

रेशम चौधरी। फाइल फोटो।

काठमाडौँ– डिल्लीबजार कारागारमा थुनामा राखिएका कैलालीको क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाका लागि निर्वाचित रेशम चौधरी बिहीबार दिउँसो अढाइ बजे थुनामुक्त हुँदै छन्।

उनलाई थुनामुक्त गर्न सम्बन्धित सुरक्षा निकायलाई पत्र पुगिसकेको र उनी अढाइ बजेदेखि तीन बजेको बीचमा थुनामुक्त हुने कारागार स्रोतले जानकारी दिएको छ।

थुनामुक्त भएपछि उनले बिहीबार नै सभामुखको कार्यकक्ष सिंहदरबारमा सांसद पदको शपथ लिने कार्यक्रम छ। उनलाई सभामुख कृष्णबहादुर महराले शपथ गराउने तयारी छ ।

बिहान साढे ११ बजेका लागि तय भएको कार्यक्रम दिउँसोका लागि सारिएको हो। चौधरी राष्ट्रिय जनता पार्टीको तर्फबाट निर्वाचित भएका थिए।

उनीमाथि टीकापुर घटनाको मुख्य योजनाकार रहेको आरोप छ र उनी फरार भएका कारण शपथ हुन सकेको थिएन । उनलाई गएको फागुनमा अदालतले पुर्पक्षका लागि थुनामा राख्‍न आदेश दिएको थियो । उनले गएको वर्षको मंसिरमा भएको चुनावमा भूमिगत अवस्थामै कैलाली १ बाट ३४ हजार ३४१ मतसहित विजयी भएका थिए ।

उनीमाथि कैलालीको टीकापुरमा २०७२ सालको भदौ ७ गते सात प्रहरीसहित एक नाबालकको ज्यान जानेगरी भएको हत्याकाण्डको मुख्य योजनाकार रहेको आरोप छ ।

पुस १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्