लोपोन्मुख भाषा संरक्षण अभियान

मातृभाषा सिक्दै कुसुण्डा समुदायका बालबालिका

दाङ – लोपोन्मुख कुसुण्डा भाषा संरक्षण गर्न र भाषा बोल्ने वक्ता बढाउन पहिलो पटक कसुण्डा भाषा कक्षा सञ्चालन गरिएको छ।

भाषा आयोग नेपालले दाङको लमहीमा कुसुण्डा भाषा कक्षा शुरु गरेको हो। कुसुण्डा समुदायका २० जना बालबालिकालाई कुसुण्डा भाषा सिकाउन थालिएको हो।

भाषा सिक्न पाउदा कुसुण्डा समुदायका नयाँ पुस्ता खुशी भएका छन्। लमही–६ कुलमोड निवासी ८२ वर्षीय ज्ञानीमैया कुसुण्डाकी नातिनी रक्षा पुन कक्षा–८ मा पढ्छिन्। उनले सामान्य शब्द बाहेक अरु जान्दिनथिन्।

‘नमस्कारलाई सोजाक भन्छ, यही मात्रै जानेको छु,’ उनले भनिन्, ‘हजुरआमाले सिकाउन खोज्दा उल्टो जस्तो लाग्थ्यो, अब त कक्षामा बसेर सिक्न पाउदा खुशी छु।’

कुसुण्डा भाषा संरक्षण गर्न सरकारले ध्यान दिएकोमा खुशी छन् नेपाल कुसुण्डा विकास समितिका अध्यक्ष धनबहादुर कुसुण्डा।

‘अब कुसुण्डा भाषा, संस्कृति र संस्कार संरक्षण हुन्छ जस्तो लागेको छ,’ उनले भने, ‘२ जना मात्रै पूर्ण वक्ता हुनुहुन्छ। उहाँहरुको शेषपछि त यो भाषा हराएर जाने डर छ।’

दाङ जिल्लामा २ जना पूर्ण वक्ता छन्। लमही–६ कुलमोड निवासी ८२ वर्षीय ज्ञानीमैया कुसुण्डा र उनकी ४८ वर्षीय बहिनी कमला सेन खत्री पूर्णवक्ता हुन्।

दाङ जिल्लामा ६६ जना र नेपालमा एक सय ५० जना मात्रै कुसुण्डा जाति छन्। संसारको दुर्लभ भाषामध्ये कुसुण्डा भाषा पर्छ।

कुसुण्डा भाषा अरु कुनै पनि भाषा परिवारसँग मेल नखाने भएकाले दुर्लभ भाषाभित्र पर्ने भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले बताए।

‘संकटमा परेका भाषाको संरक्षण गर्न, नयाँ पुस्तामा कुसुण्डा भाषा हस्तान्तरण गर्न भाषा कक्षा शुरु गरेका छौँ,’ भाषा आयोगका अध्यक्ष अवस्थीले भने, ‘भाषा संरक्षण गर्न कुसुण्डा भाषाको पाठ्यक्रम बनेको छ।’

नेपालमा १ सय २३ भाषा छन्। जसमध्ये ३७ वटा भाषा संकटमा रहेको आयोगले जनाएको छ। संकटको नजिकमा पुगेका ३ वटा भाषालाई संरक्षण गर्न भाषा कक्षा शुरु गरिएको छ।

कुसुण्डा, तिलुङ र बराम भाषाको संरक्षण गर्न भाषा कक्षा एकैसाथ सुरु गरिएको छ। कुसुण्डा भाषाको प्रशिक्षण अनुसन्धानकर्ता उदय आले, पूर्ण वक्ता ज्ञानीमैया र कमलाले दिने छन्।

भाषावृत्तिबापत मासिक ३ हजार

भाषा आयोग नेपालले कसुण्डा भाषा बोल्न जान्ने पूर्ण वक्ता २ जनालाई भाषा वृतिवापत मासिक ३ हजार भत्ता दिन थालेको छ।

बिहीबार ६ महिनाको दरले ज्ञानीमैया कुसुण्डा र कमला सेन खत्रीलाई १८–१८ हजार रुपैयाँ भाषा वृत्तिवापत रकम प्रदान गरिएको छ।

पुस १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्