ट्राफिक प्रहरी र महानगरबीच समन्वय

महानगरद्वारा ट्राफिक व्यवस्थापनको पहल, स्टेशनमा सवारी रोकिराखे कारबाही

फाइल तस्बिर

पोखरा – पोखराको ट्राफिक व्यवस्थापन भरपर्दो छैन। सार्वजनिक सेवा दिने भनेर सञ्चालनमा आएका सवारी साधनहरु निजी सेवा नै दिएकोझैँ गरी यात्रुसँग व्यवहार गर्छन्।

मनलाग्दी ठाउँमा यात्रु चढाउने र ओराल्ने बस चालकको मनमौजी जस्तो देखिन्छ। गुनासा सुनिँदै आएपनि नियमनकारी निकायको ढिलासुस्तीका कारण सार्वजनिक बस चालक अटेरी गर्छन्।

पोखराका मुख्यचोकमा निर्माण गरिएका स्टेशनमा आफुखुशी बस रोकिराख्ने र गन्तव्यमा पुग्न हतार यात्रुलाई अल्झाएर राख्ने परिपाटी जो कोही भोग्न बाध्य छन्।

बगरबाट चढेको यात्रुलाई पृथ्वीचोक पुर्याउन झण्डैं ३० मिनेट लगाउँछन्। ४ किलोमिटर यात्रा पार गराउँदा यतिबिघ्न झण्झट देखाउँछन् कि

‘छिटो लैजानुस् न गुरु अफिस ढिला हुन्छ वा कलेज टाइममा पुगिदैन’ भन्ने यात्रुको गुनासो सामान्य सुनिन्छन्। सिट संख्याभन्दा अधिक यात्रु कोच्ने, बढी भाडा असुल्ने समस्या तमाम सार्वजनिक सवारी प्रयोगकर्ताहरुको साझा समस्या हो।

यस्तै, समस्याको समाधान गर्न पोखरा महानगरपालिकाले चासो देखाएको छ। पोखरामा गुड्ने गाडीहरुले आवश्यकताभन्दा बढी समयसम्म यात्रु कुरेको पाइएमा पनि अब पोखरा महानगरपालिकाले कारबाही गर्ने भएको छ।

महानगरपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकको निर्णयअनुसार सार्वजनिक सवारीसाधनहरुको सञ्चालनमा भइरहेको अव्यवहारिकताविरुद्ध कदम चालिने भएको नगरप्रमुख मानबहादुर जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको समन्वयमा महानगरले महेन्द्रपुल, विपीचोक, सभागृहचोक, पृथ्वीचोक, सिर्जनाचोक लगायतका ठाउँमा आवश्यकताभन्दा लामो समयसम्म यात्रु कुराउने सवारीलाई कारबाही थाल्ने भएको हो।

‘अन्तिम स्टेशनमा मात्रै पुगेर सवारी बस्नेछ,’ जिल्ला ट्राफिक प्रमुख मुरारी मिश्रले भने, ‘चोकचोकका स्टेशनमा मनलाग्दी जति समय चाहन्छ त्यति नै समय कुरेर बस्न पाइँदैन, चोकका स्टेशनमा रोक्ने भनेको यात्रु चढाउने र झार्ने मात्रै हो। यात्रु पर्खिने, बस भर्ने होइन।’

महानगरसँगको समन्वयमा ट्राफिक व्यवस्थापनलाई कडाइका साथ लागु गराउन सोही किसिम जनशक्ति व्यवस्थापन गराइने प्रमुख मिश्रले जनाएका छन्।

त्यस्तै, राजमार्ग अन्तर्गत पर्ने बाग्लुङबाट आएका सवारीसाधन स्याङ्जा, बुटवल जानुपर्ने भएमा सोझै सिर्जनाचोक हुँदै विरौटाचोक निस्की छोरेपाटनतर्फ सोझिनुपर्ने भएको छ।

सभागृहचोक र पृथ्वीचोकमा अधिक सवारीको चाप हुनेहुँदा सवारी आवागमनमा सहजता ल्याउन यस किसिमको निर्णय प्रभावकारी बन्नेमा ढुक्क भएको महानगरले जनाएको छ।

पैदल यात्रुलाई बाटो काट्नमा सहजता ल्याउने गरी दुई स्थान पृथ्वीचोक र सिर्जनाचोकमा आकाशे पुल निर्माणको काम महानगरले यसै महिनादेखि अघि बढाएको छ।

पुस २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्