हैसियत खोसिएपछि बिदामा बसे वरिष्ठतम् न्यायाधीश जोशी

दीपकराज जोशी।

काठमाडौँ – वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी शुक्रबारबाट बिदामा बसेका छन्।

प्रधान न्यायाधीशको पदभार सम्हालेको भोलिपल्ट बिहीबार चोलेन्द्रशमशेर राणाले दीर्घकालीन राजनीतिक तथा संवैधानिक महत्वको निर्णय लिँदै जोशीलाई न्याय परिषदबाट निष्काशित गरेका थिए।

बिहीबार प्रधान न्यायाधीश राणाको अध्यक्षतामा भएको बैठकमा जोशीलाई ननिम्त्याउनका साथै वरिष्ठतामा आधारित जोशीका सबै संवैधानिक र परम्परागत हैसियत खोसिएपछि जोशी सर्वोच्चबाट लगभग बिदा भएका हुन्।

संविधानको धारा १२९ (६) अनुसार वरिष्ठतम न्यायाधीश प्रधान न्यायाधीशको अनुपस्थितिमा स्वतः कामु हुने, १ सय ५३ (१) (ग) अनुसार वरिष्ठतम न्यायाधीश न्याय परिषद्को सदस्य हुने र १५४ (२) (ग) अनुसार न्याय सेवा आयोगको सदस्य हुने प्रावधान छ ।

कानुनमन्त्री सहितको उपस्थितिमा नयाँ प्रधान न्यायाधीशले संवैधानिक प्रावधान विपरीतको निर्णय लिँदा न्यायपालिका-राजनीतिक सम्बन्धले न्यायिक स्वतन्त्रतालाई प्रभावित गर्ने संविधानविद्हरुले तर्क गरेका छन्। संविधानविद्हरुका अनुसार न्याय परिषदमा वरिष्ठतम न्यायाधीशको संलग्नता संवैधानिक बाध्यता हो, त्यो न्यायपरिषदको अध्यक्षको तजबिजी चाहनाबाट निर्देशित हुँदैन।

जोशीबिनाको न्याय परिषद्को निर्णयअनुसार वरिष्ठतम पाँच न्यायाधीशहरु हुने संवैधानिक इजलासबाट पनि जोशीलाई विस्थापित गरिएको छ।

इजलासमा प्रधान न्यायाधीश राणाका अतिरिक्त न्यायाधीशहरु दीपकुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की रहनेछन्। जोशीलाई मेलमिलाप परिषद्को अध्यक्ष पदबाट पनि विस्थापित गरिएको छ र त्यो जिम्मेवारी ईश्वरप्रसाद खतिवडालाई दिइएको छ।

पुस २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्