म्यानपावरको धरौटी नबढाउन माग गर्दै संशोधन प्रस्ताव दर्ता

काठमाडौँ – म्यानपावर कम्पनीको धरौटी यथावत राख्न माग गर्दै संशोधन प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेसका सांसद प्रकाश स्नेहीले पुरानै धरौटी कायम राख्न माग गर्दै शुक्रबार संशोधन प्रस्ताव दर्ता गराएका हुन् । उनको संशोधन प्रस्तावमा हाल कायम ७ लाख नगद र २३ लाख बैंक ग्यारेन्टी जम्मा गरी ३० लाख धरौटी राख्नु पर्ने व्यवस्था छ।

सरकारले वैदेशिक रोजगार ऐन संशोधन गर्दै म्यानपावर कम्पनीको धरौटी ३ करोड र ६ करोड पुर्याउने प्रस्ताव सहितको विधेयक दर्ता गराएको छ। ५ हजारभन्दा कम श्रमिक आपुर्ति गर्ने म्यानपावर कम्पनीले उक करोड नगद र २ करोड बैंक ग्यारेन्टी तथा ५ हजारभन्दा बढी श्रमिक आपूर्ति गर्ने म्यानपावर कम्पनीले २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टीसहित ६ करोड धरौटी राख्नु पर्ने प्रस्ताव गरेको छ।

म्यानपावर कम्पनीलाई बढेको धरौटी ६ महिनाभित्रमा जम्मा गर्नुपर्ने समयसीमा थप गर्न माग गर्दै अर्को संशोधन प्रस्ताव पनि संसदमा दर्ता भएको छ । यस्तै नेपाली कांग्रेसकै सांसद लक्ष्मी परियारले बढेको धरौटी जम्मा गर्ने म्याद एक वर्ष राख्न माग गर्दै संशोधन प्रस्ताव दर्ता गराएकी छिन्।

सरकारले वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गर्दै म्यानपावरको धरौटी बढाउने सहित अरु नयाँ व्यवस्था गर्ने गरी विधेयक दर्ता गराएको छ। प्रस्ताव जस्ताको तस्तै पास भए म्यानपावर कम्पनी र व्यक्तिकाविरुद्ध ठगीको उजुरी जिल्ला प्रशासन कार्यालयमा नै दिन सकिने छ।

जिल्ला प्रशासन कार्यालयले सात दिनभित्रमा म्यानपावर कम्पनीविरुद्धका उजुरी वैदेशिक रोजगार विभागमा पठाउने छ । व्यक्तिविरुद्धका उजरी १५ दिनभित्रमा छानविन गरी जिल्ला प्रशासन कार्यालयले टुंगो लगाउन नसके मात्रै थप अनुसन्धानका लागि विभागमा पठाउने छ । सकेसम्म जिल्लाबाटै न्याय दिने व्यवस्थालाई जोड दिइएको छ।

यस्तै विदेशमा भएका कामदारले अब पुनः श्रम स्वीकृति लिन पनि नेपाल आउनु पर्दैन। उनीहरुले दुई पटकसम्म सम्बन्धित देशका कुटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति पाउने छन्।

पुस २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्