पोखराकी पौरखी दिदी

घरमै उद्यमः अचार बेचेरै वार्षिक लाखौँको आम्दानी

उद्यमी मिना पराजुली। तस्बिरः ईश्वर देवकोटा

पोखरा – झण्डै ४ वर्षअघिको त्यो सम्झना। छिमेकी देश चीनको सिगात्से भन्ने स्थानमा व्यापारिक मेला लाग्दै थियो। नेपालबाट महिला उद्यमीहरुले उत्पादन गरेको वस्तु मेलामा व्यापारी प्रयोजनार्थ राख्न पाउने भइयो। नेपालबाट मेला भर्ने कामको समन्वय गरेको थियो, नेपाल उद्योग वाणिज्य महासंघले।

पोखराबाट दुई महिला उद्यमी सिगात्सेमा आयोजना हुने सो मेला भर्न त्यसतर्फ हानिए। ती दुई मध्येकी एक प्रतिनिधि थिइन् विन्ध्यबासिनी फलफूल प्रशोधन तथा अचार उद्योगकी सञ्चालक मिना पराजुली।

उनले झण्डै नेपाली १ लाख रुपैयाँ बराबरको अचार लिएर त्यहाँ पुगिन्। १३ प्रकारका अचारमा समावेश थिए अमला, कागती, अकबरे खुर्सानी, करेला, आँप, लप्सी, मेथी, लसुन, अदुवा लगायत अन्य।

मेला सुरु हुनु अगावै स्टलमा ती १३ प्रकारका अचार सजिए। भाषा मठ्ठै। व्यापार पो गर्ने कसरी! जुक्ति फुर्यो र स्टलमा सबैथरी अचार चाख्नका लागि बटुकोमा अचार र चम्चा राखिदिइन्।

मेला औपचारिक सुरु भएको ३ घण्टा बित्दै थियो उनको स्टल पूरा रित्तियो। स्टल रित्ताउने सबै ग्राहक थिए चिनियाँ लगायत विदेशी नै। स्टलअघि आउने चम्चाले अलिकति अचार हातमा राख्ने र चाट्ने। स्वाद मानि–मानि चाख्ने ग्राहक एउटैले धेरै किनिदिए।

‘भाषा नजान्ने म त, सिगात्से पुगिहालियो सामान के गरी बेच्ने होला भन्ने सुर्ता त थियो नि, लोभ नगरी केही अचार चाख्न राख्दिएर र पो!,’ मिना सुनाउँछिन्।

नौ दिनसम्म चल्ने मेलामा एक पलमै सामान सकिएपछि के गर्नु भो? उनीले पूरानो क्षण सम्झँदै भनिन्, ‘अर्की एकजना साथीले हस्तकलाका सामग्री बेच्दै हुनुहुन्थ्यो नि त, त्यहीँसँगै बसेर सघाएँ।’ उनको भनाइअनुसार त्यो क्षण, त्यो घडी व्यावसायिक अचार व्यापारको दौरानमा १५ वर्ष पार लाग्दै गर्दा दोहोरिएको छैन।

बहुगुणी अचार

तपाईले बनाएको अचार मन पराउनु केही खास कारण त होला नि? उनी भन्छिन्, ‘मैले उत्पादन गर्ने अचार अर्गानिक हुन्छ, केही मिसावट गरेकी छैन, बच्चादेखि पाका उमेरसम्मका मेरा ग्राहक हुनुहुन्छ।’

ग्याष्ट्रिक, प्रेसर, सुगर रोगीले खाँदा फाइदा पुग्ने अचार उनले उत्पादन गरेको बताउँछिन्। अदुवा, लसुन, अमला, कागती, टिमुरको छोपको सेवनले ग्याष्ट्रिक रोगीलाई हित हुने उनको सुझाव छ।

अनि प्रेसरका रोगीलाई नि? ‘पातीको मुन्टा, मेथी, असुरोको अचार बनाउँछु, यो त क्यान्सर पीडितले खाए नि हुन्छ।’

अचार स्टल

मिना घरेलु उत्पादन अचारको बिक्री एवं प्रवर्द्धन गर्न पोखरामा हुने मेला महोत्सवमा वर्षौंदेखि सहभागी भइरहेकी छन्। गएको तीन साताअघि मात्रै पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित ‘सफल एक्स्पो’ मेलामा उनले स्टल राखेकी थिइन्।

गतवर्षहरुमा लि–वर्ड नाम गरेको संस्थाले स्टल राख्न आर्थिक सहयोग गरेपनि यसपटक आयोजकसँगको समन्वयमा राखेको उनले सुनाइन्।

आयोजकको आग्रहमा वा सम्भव भएसम्म आफ्नै जोडबलमा एउटा महोत्सवमा भएपनि उनले स्टल सजाउँदै आइरहेको सुनाइन्। स्टलमा काउली, मुला, गाजर सहित माथि उल्लिखित सबैथरी अचार बिक्रीका लागि राख्ने गरेको उनको भनाई छ।

चार सय ग्राम तौलका अचारका भेराइटी अनुसार एक सयदेखि २ सय रुपैयाँ मूल्यसम्ममा बिक्री गर्दै आइरहेको उनले जानकारी दिइन्। साथै, केटाकेटीहरुलाई औधी पर्ने तिरौरा, अमलाका सुख्खा दाना, लप्सीका गेडा २० देखि ५० मूल्य रुपैयाँमा बिक्री गर्ने गरेको उनले बताइन्।

व्यापार कत्तिको हुन्छ त मेलामहोत्सवमा? जिज्ञाशाको समाधान गर्दै मिनाले ‘व्यापार मनासिव नै छ, पोहोरपरारको भन्दा त्यति भएन कि यस वर्ष भन्ने लागेको छ।’

बिक्री मात्रै खास रुचि नभई घरेलु उत्पादनले मेला महोत्सवमा स्टल पाउनु पनि स्थानीय उत्पादनको प्रवर्द्धन भइरहेको उनको बुझाई छ।

उसो त पोखरा २ अचेलबोट घरबाट नै उत्पादनको बिक्री थालेकी मिनाले सेलवेज, विनायक जस्ता पोखराका राम्रा र ठूला डिपार्टमेन्टल स्टोरलाई आफ्नो ग्राहक बनाएकी छन्। बाह्रै महिना उनको व्यापार सुस्तायो भन्ने पिरलो यसर्थमा पनि उनलाई छैन।

कुराकानीकै क्रममा उनले उत्पादन गरेको गुन्द्रुक युरोपसम्म पुगेको सुनाइन्। चितवनको एकजना व्यापारी मान्छेसँगको साथमा युरोपमा गुन्द्रक पुर्याउन पाउँदा व्यापारबाट मनग्ये केही नभएपनि उत्पादनले बजार पाएकोमा खुशी छिन् उनी। ‘तर अहिले युरोप पुग्दैन गुन्द्रुक त्यो भाइ सम्पर्कमै आएनन् मेरो सम्पर्क युरोपसम्म थिएन नत्र उत्पादनले बजार थेग्ने थियो,’ उनले भनिन्।

गुन्द्रुक बनाउन हेम्जाबाट साग किन्छिन् मिनाले। त्यहाँस्थित एक समूहको सहकार्यमा साग उपलब्ध हुँदा गुन्द्रुक उत्पादनले बजार पाइरहेको बताइन्।

बजारमा कोठा लिएर बस्नेले गुन्द्रुक बनाउन सम्भव नहुने तर हिउँदको सिजनमा अचाक्ली रुचाइने भएर पनि होला पोखरामै गुन्द्रुक खपत भइरहेको उनले सुनाइन्।

पुस २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्