देश सञ्चार साँझ

आजका मुख्य खबरः कंसाकारलाई मोसो, बम्जन आश्रममा छापा

वाइड बडी विमान प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यकक्षमा मोसो दलिएको छ।

तीन जनाको समूहमा व्यक्तिले शुक्रबार दिउँसो ४ बजे सुन्धारा पुगेर कालोमोसो दलेका हुन्। प्रहरीले घटनामा मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनको संलग्नता रहेको आशंका गरेको छ।

वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी शुक्रबारबाट बिदामा बसेका छन्। प्रधान न्यायाधीशको पदभार सम्हालेको भोलिपल्ट बिहीबार चोलेन्द्रशमशेर राणाले दीर्घकालीन राजनीतिक तथा संवैधानिक महत्वको निर्णय लिँदै जोशीलाई न्याय परिषदबाट निष्काशित गरेका थिए।

बिहीबार प्रधान न्यायाधीश राणाको अध्यक्षतामा भएको बैठकमा जोशीलाई ननिम्त्याउनका साथै वरिष्ठतामा आधारित जोशीका सबै संवैधानिक र परम्परागत हैसियत खोसिएपछि जोशी सर्वोच्चबाट लगभग बिदा भएका हुन्।

तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा प्रहरीले शुक्रबार बिहान छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो को टोलीले शुक्रबार बिहान बाडेगाउँस्थित आश्रममा छापा मारेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मुकुन्द मरासैनीले बम्जनको आश्रममा खानतलासी गरिएको र आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।

गण्डकी प्रदेश नीति तथा योजना आयोग गठन भएको ६ महिना बितिसक्दा पनि प्रभावकारी ढंगले काम हुन सकेको छैन। गएको साउनमा गठन भएको आयोगले यत्तिका समय बितिसक्दा पनि जनशक्ति अभावको कारण देखाउँदै प्रदेशको आवधिक योजना तर्जुमा सम्बन्धी कामलाई गति दिन नसकेको हो।

आयोगबाट प्रदेशका ११ वटै जिल्ला पुगेर योजना छनोटको काम प्रारम्भ हुन नसक्दा प्रदेशले आफ्नो वस्तुगत यथार्थ पत्तो पाउनसमेत सकेको छैन। तीन सदस्यीय प्रदेश नीति तथा योजना आयोगमा हाल एक उपाध्यक्षसहित एक सदस्यमात्रै नियुक्त भएका छन्।

बहालवाला मन्त्री नै वाइडबडीमा मुछिएपनि संसदको सार्वजनिक लेखा समितिको बैठकमा उपसमितिको प्रतिवेदन परिमार्जन गर्न दवाव परेको छ।

सत्तारुढ दलका सदस्यहरुले सांसद राजेन्द्रकुमार केसी (राजन) को संयोजकत्वमा गठित उपसमितिले बुझाएको प्रतिवेदन परिमार्जन गरी सोमबारको बैठकमा पेश गर्न सभापति भरतकुमार शाहलाई आग्रह गरेका हुन्।

म्यानपावर कम्पनीको धरौटी यथावत राख्न माग गर्दै संशोधन प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेसका सांसद प्रकाश स्नेहीले पुरानै धरौटी कायम राख्न माग गर्दै शुक्रबार संशोधन प्रस्ताव दर्ता गराएका हुन् । उनको संशोधन प्रस्तावमा हाल कायम ७ लाख नगद र २३ लाख बैंक ग्यारेन्टी जम्मा गरी ३० लाख धरौटी राख्नु पर्ने व्यवस्था छ।

सरकारले वैदेशिक रोजगार ऐन संशोधन गर्दै म्यानपावर कम्पनीको धरौटी ३ करोड र ६ करोड पुर्याउने प्रस्ताव सहितको विधेयक दर्ता गराएको छ। ५ हजारभन्दा कम श्रमिक आपुर्ति गर्ने म्यानपावर कम्पनीले उक करोड नगद र २ करोड बैंक ग्यारेन्टी तथा ५ हजारभन्दा बढी श्रमिक आपूर्ति गर्ने म्यानपावर कम्पनीले २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टीसहित ६ करोड धरौटी राख्नु पर्ने प्रस्ताव गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले इलाममा विशेषगरी पर्यटन क्षेत्रमा लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरेका छन्।

शुक्रबार इलामको सदरमुकाम इलाम बजारमा लगानी सम्मेलनको उद्घाटन गर्दै लगानीकर्ताहरुलाई ढुक्क भएर इलाम आएर लगानी गर्ने आग्रह गरेका हुन्। ओलीले भने, ‘इलाममा लगानी गर, कमाओ।’

जन्म दिने बाबुको अकालमै मृत्यु हुनु र आमा दोस्रो विवाह गरी गएपछि उनीहरूले जन्म दिएका बालबालिकाको अवस्था कस्तो होला ? हामी सहजै अनुमान गर्न सक्छौँ, निकै दयनीय । यहाँको एक दलित समुदायका तीन बालक यस्तै बिचल्लीमा परेका छन् ।

पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित छेउखन्नाका धनबहादुर दमैका तीन छोरा बिचल्लीमा परेका हुन् ।

 

पुस २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्