जोशीलाई हैसियतविहीन बनाएको विषयमा प्रष्टीकरण

हो, मैले संविधानको उल्लंघन गरेँ: प्रधान न्यायाधीश राणा

फाइल तस्बिर।

काठमाडौँ- पदभार ग्रहण गरेको भोलिपल्टै वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई न्याय परिषद् तथा संविधानद्वारा सुनिश्चित अन्य जिम्मेवारीबाट हटाएका प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूबाट संविधानको उल्लंघन भएको स्वीकार गरेका छन्।

शुक्रबार बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीको नेतृत्वमा राणालाई भेट्न गएको २० सदस्यीय टोलीसँग आफूले संविधानको उल्लंघन गरेको तर त्यो न्यायपालिकाको सम्मानका लागि भएको दाबी उनले गरेका छन्।

बार एसोसिएसनका एक सदस्यका अनुसार बार टोलीले प्रधानन्यायाधीशद्वारा जोशीलाई न्याय परिषद्, संवैधानिक इजलास र न्याय सेवा आयोगबाट अपमानजनक तरिकाले हटाइएको र त्यो संविधानविपरीत भएको अडान लिँदै त्यसलाई तत्काल सच्याउन प्रधान न्यायाधीश राणामाथि दबाब दिएका थिए।

‘तपाईँहरु लिखितमा ल्याउनुस्, म सच्याउन तयार छु,’ राणालाई उद्धृत गर्दै ती सदस्यले भने।

‘हामी यो रुपमा आउनु नै त्यो मागलाई औपचारिक रुपमा राखेसरह हो’ भनी बार प्रतिनिधिहरुले जवाफ दिँदा राणाको त्यसलाई अर्को किसिमले सम्बोधन गरे। ‘तपाईँहरुले चाहेमा त म राजिनामा पनि दिन तयार छु,’ उनले भने।

प्रधानन्यायाधीशद्वारा आफूलाई न्याय परिषद्को बैठकमा नबोलाएको, इजलास नतोकेको र वरिष्ठतम न्यायाधीशले अध्यक्षता गर्ने एक नम्बर इजलास न्यायाधीश दीपक कार्कीलाई तोकेको विरोधमा जोशी आइतबारदेखि नआउने गरी पाँच दिनको छुट्टीमा गएका छन्।

पुस २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्