सोलुखम्बुबाट पोखरा आएर प्रशिक्षण

प्रशिक्षणको बहानामा जनप्रतिनिधिको घुमफिर, ३ दिनमा गाउँपालिकाको ६ लाख स्वाहा

पोखरा – सर्वोच्च शिखर सगरमाथा चर्चिएको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका जनप्रतिनिधि तीन दिने प्रशिक्षणका लागि पोखरा आएका छन्।

गाउँपालिकाका जनप्रतिनिधिहरुलाई स्थानीय सरकार सञ्चालन पद्धति, न्यायिक समिति, योजना तर्जुमा एवं कार्यान्वयन, कानुनी सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम लिएर २२ जनाको टोली गएको बुधबार पोखरा आइपुगेको हो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ कार्यान्वयनमा आइसकेको त्यसअनुरुप काम कारबाही हुन नसकेको महसुस गर्दै जनप्रतिनिधिहरुलाई प्रशिक्षण कार्यक्रम राखिएको जनाइएको छ।

कार्यक्रमले जनप्रतिनिधिहरुको क्षेत्राधिकारसँगै काम र कर्तव्यका विषयमा दीक्षित गराउने विश्वास लिइएको गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए।

‘काठमाडौँ धेरैको रोजाई हुने गर्थ्यो, समय थोरै र उपलब्धि धेरै लिनुपर्ने बाध्यता छ,’ उनले भने, ‘काठमाडौँमा आफन्त भेटघाटले प्रशिक्षण कार्यक्रम फितलो हुने आंशकाले पनि पोखरा आइपुगेका हौँ।’

जनप्रतिनिधिहरुको ध्यान एकाग्र बनाई कार्यक्रम सफल बनाउन गाउँपालिका पोखरा आएको उनले बताए। पोखरा लेकसाइडको एक सुविधासम्पन्न होटलमा तीन दिने जनप्रतिनिधि प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ।

जनप्रतिनिधिहरुले कार्यक्रम सकिएपश्चात पोखरा महानगरपालिकाका नगरप्रमुख मानबहादुर जिसीसँग अन्तरक्रिया गरिने जनाइएको छ।

गाउँपालिकाको बैठकको निर्णयानुसार झण्डै ६ लाख रुपैयाँ खर्च हुने अनुमानसहित जनप्रतिनिधिको टोली पोखरा आइपुगेको हो।

गाउँपालिकाले पोखरा बाहेक अन्य स्थानमा प्रशिक्षण कार्यक्रम सञ्चालन गराउँदा तुलनात्मक रुपमा खर्च बढी उठ्ने भएकाले पोखरा छनोट गरिएको बताइएको छ।

साथै, पोखराको पर्यटन विकासको खाका बुझ्न र यहाँको कार्यसम्पादन नियाल्न पोखरा छनौट गरिएको प्रवक्ता शेर्पाले सुनाए।

‘खुम्बु पासाङ ल्हामु गाउँपालिका सगरमाथा क्षेत्रमा पर्छ,’ उनले भने, ‘पोखराले जसरी अन्नपूर्ण संरक्षण आयोजना क्षेत्र, माछापुच्छ्रे हिमालसँग गाँसिएर पर्यटनलाई ब्राण्डिङ गरेको छ, त्यसरी नै हामी सगरमाथाको पर्यटन व्यवसायलाई व्यवस्थित गराउन चाहान्छौँ।’

पोखरापछिको पर्यटकको अधिक चाप हुने खुम्बु गाउँपालिका पर्ने सुनाउँदै प्रवक्ता शेर्पाले यहाँको जस्तै व्यवस्थित पर्यटन व्यवसाय सञ्चालन गराउन गाउँपालिकाले अध्ययन थालिने सुनाए।

५ वटा वडा भएको गाउँपालिकाभित्र विश्व सम्पदा सूचिमा सूचिकृत सगरमाथाको भूभाग पर्छ। टोलीमा गाउँपालिका अध्यक्ष निमदोर्जी शेर्पा, उपाध्यक्ष टासिल्हामु शेर्पासहित गाउँपालिका वडाध्यक्ष, वडासदस्य सहभागी छन्।

२१ गते कार्यक्रम समापन भएसकेपछि थप १ दिन पोखरा र आसपासको क्षेत्र भ्रमण गरी फर्किने कार्यक्रम रहेको प्रवक्ता शेर्पाले बताएका छन्।

पुस २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्