पहिलो हाफमा एक, दोस्रो हाफमा आधा दर्जन गोल

शानदार जित निकाल्दै माउरिसिओ पोकेटिनोको टिम टोटनह्याम एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

तेस्रो चरण अन्तर्गत शुक्रबार राति अवे मैदानमा भएको खेलमा प्रिमियर लिग क्लब टोटनह्यामले लिग टू क्लब ट्रान्मेर रोभर्सलाई ७–० ले हराउँदै चौथो चरणमा स्थान पक्का गरेको हो ।

पहिलो हाफमा एक गोल मात्रै गरेको टोटनह्यामले दोस्रो हाफमा आधा दर्जन अर्थात ६ गोल गरेको हो । पहिलो हाफको अन्तिम तिर मात्रै एक गोल खाएको ट्रान्मेर दोस्रो हाफमा टोटनह्याम सामु निरिह देखियो ।

४० औँ मिनेटमा सेर्जो अरियरले गोल गर्दै टोटनह्यामलाई सुरुवाति अग्रता दिलाएका हुन् । टोटनह्यामका लागि फेर्नान्डो योरेन्तेले ह्याट्रिक गरे । उनले ४८, ७१ र ७२ औँ मिनेटमा गोल गरेका हुन् ।

त्यसअघि अरियरले ५५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए । यस्तै ५७ औँ मिनेटमा सन हेङ–मिनले गोल गरेका थिए । यसको अर्थ ७२ औँ मिनेटसम्म टोटनह्यामले ६–० को अग्रता लिइसकेको थियो ।

८२ औँ मिनेटमा ह्यारी केनले गोल गरेपछि टोटनह्याम ७–० ले विजयी भएको हो ।

पुस २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्