अमेरिकामा बजेट विवाद

ट्रम्प ‘सीमा पर्खाल’ मा अडिग, सरकारी कार्यालय ‘वर्षौँ’ सम्म बन्द गर्न तयार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकार अन्तर्गतका आंशिक कार्यालयहरुको काम ठप्प भएर पर्ने प्रभावप्रति आफू तयार रहेको बताएका छन् ।

गएको वर्षको अन्तिम हप्तादेखि बजेटमा सहमति नजुट्दा अमेरिकामा संघीय सरकार अन्तर्गतका आंशिक कार्यालयको काम ठप्प भएको छ । आंशिक कार्यालयको काम ठप्प भएको तेस्रो हप्तामा प्रवेश गर्दा पनि राष्ट्रपति ट्रम्प आफ्नो अडानमा अडिग रहेको देखिएको हो ।

राष्ट्रपति ट्रम्पले सरकारी कामकाज सञ्चालनका लागि विभिन्न कार्यालयलाई दिइने कोषबाट सीमा क्षेत्रमा बनाउने भनिएको पर्खालका लागि रकम छुट्याइनु पर्ने अडान लिँदै आएका छन्, जुन कुरा सिनेटरले अस्वीकार गरेका छन् ।

ट्रम्पले चुनावी अभियानका बेला मेक्सिकोसँगको सीमा क्षेत्रमा गैरकानुनी रुपमा आप्रवासीको प्रवेश रोक्नका लागि पर्खाल बनाउने वाचा गरेका थिए । त्यसको काम अहिलेसम्म सुरु हुन सकेको छैन ।

ट्रम्पले आफ्नो चुनावी वाचा पूरा गर्नका लागि सरकारी खर्चको कोषबाट रकम जुटाउन खोजेका हुन्। तर यसमा सिनेट तथा हाउसका सदस्य राजी भएका छैनन् ।

सहमति नहुँदा अमेरिका सरकारका एक चौथाई संघीय कार्यलयको दैनिक कार्यसञ्चालका लागि चाहिने रकम अभाव भएको छ । यसका कारण कार्यालयहरु डिसेम्बर २२ देखि बन्द भएका छन् ।

खर्चको अभावमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी, यातायात, कृषि, विदेश र न्याय विभाग अन्तर्गतका कार्यालयको काम बन्द रहेका छन् । यस्तै राष्ट्रिय निकुञ्ज तथा जंगलसँग सम्बन्धित कार्यालयका काम पनि ठप्प छन् ।

सरकारी कार्यालय आंशिक रुपमा ठप्प भएको यो सन् २०१८ मै तेस्रो पटक हो । र यसपटकको कामकाज ठप्प सन् २०१९ सम्म लम्बिएको छ । यसबाट हजारौँ कर्मचारी प्रभावित भएका छन् ।

विभिन्न संघीय कार्यालयमा कार्यरत झण्डै ८ लाख कर्मचारी अहिले बेतलबी बिदा वा तलब कहिले पाउने भन्ने अनिश्चितताको अवस्थामा काम गरिरहेका छन् । कामकाज ठप्प भएको तेस्रो हप्ता लाग्दा पनि राष्ट्रपति ट्रम्पले भने सीमा पर्खालका लागि रकमको व्यवस्था नगरिएको कुनै पनि बजेट सम्बन्धी ऐनमा हस्ताक्षेर नगर्ने बताएका छन् ।

समस्या समाधानका लागि प्रयासहरु भइरहेका छन्, तर त्यसले ठोस रुप लिन सकेको छैन । ट्रम्पले शुक्रबार भएको छलफलको क्रममा आफूले भने अनुसार सीमा पर्खालका लागि रकम नराखिएमा संघीय कार्यालयहरु वर्ष दिन वा त्यो भन्दा बढी समय पनि बन्द गर्न आफू तयार रहेको चेतावनी दिएका छन् ।

सीमा पर्खाल देशको सुरक्षाका लागि अत्यावश्यक रहेको ट्रम्पको भनाई छ ।

पुस २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्