सीमा पर्खालका लागि राष्ट्रिय आपतकाल लगाउन पनि तयार छु : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि राष्ट्रिय आपतकालको घोषणा गर्ने चेतावनी दिएका छन् । कांग्रेसको सहमति बिना सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि राष्ट्रिय आपतकालको घोषणा गर्न सक्ने बताएका हुन् ।

सीमा क्षेत्रमा बनाउने पर्खालको विषयलाई लिएर अमेरिकामा बजेटको विषयमा सहमति जुटेको छैन। संघीय सरकारका कार्यालयको कार्य सञ्चालनका लागि दिइने खर्च सम्बन्धी विधेयकमा सहमति नजुट्दा आंशिक सरकारी कार्यालयको काम गएको डिसेम्बर २२ देखि ठप्प छ । तेस्रो हप्ता हुँदा पनि बजेटमा सहमति जुटेको छैन ।

राष्ट्रपति ट्रम्पले सीमा पर्खाल बनाउनका लागि बजेटको व्यवस्था नगरेसम्म आफूले संघीय कार्यालयको कार्यसञ्चालन सम्बन्धी बजेटको ऐन स्वीकृत नगर्ने बताएका छन् । राष्ट्रपति ट्रम्प सीमा पर्खाल बनाउनका लागि बजेटको व्यवस्था सरकारी कोषबाट गराउन चाहन्छन् । तर सिनेटरहरु भने यसमा सहमत भएका छैनन् ।

विशेष गरी डेमोक्र्याटिक पार्टीका सिनेटरले सीमा पर्खालका लागि सरकारी कोष खर्च गर्नु हुँदैन भन्ने पक्षमा छन् । यसबारे सहमति जुटाउने प्रयासमा राष्ट्रपति ट्रम्पले डेमोक्र्याटिक पार्टीका शीर्ष नेतासँगको भेटपछि ट्रम्पले कांग्रेसको सहमति बिना नै सीमा पर्खाल बनाउनका लागि आफू राष्ट्रिय आपतकाल लगाउन पनि पछि नहट्ने बताएका हुन् ।

पुस २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्