जर्मनीमा साइबर आक्रमण : रुस र दक्षिणपन्थी समूहमाथि शंका

जर्मनीमा व्यापक मात्रामा भएको साइबर आक्रमणको मामिलामा त्यहाँको साइबर सेक्युरिटी अथोरिटीले आफ्नै बचाउ गरेको छ । साइबर आक्रमण मार्फत सयौँ नेताका व्यक्तिगत जानकारी सार्वजनिक भएको थियो ।

अथोरिटीको लापरवाहीका कारण आक्रमण भएको भन्दै आलोचना भइरहेका बेला उसले आफ्नो बचाउ गरेको हो । साइबर आक्रमणबारे गएका केही हप्तादेखि नै साइबर सेक्युरिटी अथोरिटीलाई जानकारी रहे पनि त्यसबाट बच्नका लागि केही नगरेको आरोप छ ।

यसबारे अथोरिटीले प्रहरीलाई पनि जानकारी नदिएको भन्दै आलोचना भइरहेको छ । तर साइबर सेक्युरिटी अथोरिटीले भने बिहीबार रातिसम्म पनि आफूहरुसँग साइबर आक्रमणबारे पूर्ण जानकारी नरहेको बताएको छ ।

साइबर आक्रमणमा जर्मनीकी चान्सलर एंगेला मर्केलसहित सयौँ नेता, पत्रकार तथा विभिन्न क्षेत्रका प्रमुख व्यक्तिका जानकारी सार्वजनिक भएको छ । यो आक्रमण कसले गराएको भन्ने अहिलेसम्म स्पष्ट भएको छैन ।

डिसेम्बरमा भएको साइबर आक्रमणबारे गएको शुक्रबार मात्रै थाहा भएको हो । साइबर आक्रमणमा परेका व्यक्तिहरुका कन्ट्याक्ट लिस्ट, च्याट म्यासेज तथा आर्थिक जानकारी ट्वीटरमा सार्वजनिक गरिएका थिए ।

साइबर आक्रमणको असर जर्मनीका दक्षिणपन्थी नेताहरुमा परेको छैन । यसले गर्दा यो आक्रमणमा दक्षिणपन्थी समूह र रुसको हात रहेको आशंका गरिएको जर्मनीका अधिकारीले बताएका छन् ।

पुस २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्