अमेरिकी रक्षा मन्त्रालयका उच्च अधिकारीले दिए राजीनामा

अमेरिकाको रक्षा मन्त्रालयका केभिन स्विनीले राजीनामा दिएका छन् । जेम्स म्याटिसले रक्षा मन्त्रीबाट राजीनामा दिएको महिना दिनभित्रै रक्षा मन्त्रालय पेन्टागनका चिफ अफ स्टाफ (कर्मचारीका प्रमुख) स्विनीले राजीनामा दिएका हुन् ।

स्विनीले वक्तव्य जारी गर्दै भनेका छन्, ‘निजी क्षेत्रमा फर्किने सही समय आयो ।’

राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा रहेका अमेरिकी सेना फिर्ता बोलाउने तयारी भएको बताएपछि राजीनामा घोषणा गर्ने स्विनी पेन्टागनका तेस्रो उच्च अधिकारी हुन् । सिरियाबाट अमेरिकी सेना कहिले फिर्ता हुने छन् भन्ने स्पष्ट जानकारी भने दिइएको छैन ।

म्याटिसले गएको डिसेम्बरमा रक्षा मन्त्रीबाट राजीनामा दिएका थिए । उनले आफ्नो राजीनामा पत्रमा राष्ट्रपति ट्रम्पसँग देखिएको रणनीतिक भिन्नताका कारण राजीनामा दिनु परेको संकेत गरेका थिए । रक्षा मन्त्रालयकी प्रवक्ता डाना ह्वाइटले पनि राजीनामा दिएकी थिइन् ।

पुस २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्