अब कसरी थाहा पाउँछन् साउदीका महिलाले सम्बन्ध विच्छेदको जानकारी?

साउदी अरेबियाका महिलालाई पुरुषको स्वीकृति बिना धेरै काम गर्न अनुमति छैन । तस्बिर : एएफपी/गेट्टी इमेज

साउदी अरेबियाका महिलाहरुले अब आफ्नो सम्बन्ध विच्छेदबारे थाहा पाउने भएका छन् । साउदी अरेबियाका महिलाहरुले आफ्नो सम्बन्ध विच्छेद भएको जानकारी पनि पाउने गरेका थिएनन् ।

तर नयाँ कानुन अनुसार महिलाहरुलाई सम्बन्ध विच्छेदबारे जानकारी दिनु पर्नेछ । आइतबारदेखि महिलाहरुले आफ्नो सम्बन्ध विच्छेदबारे मोबाइल म्यासेजमार्फत जानकारी दिइनु पर्नेछ ।

गोप्य सम्बन्ध विच्छेदको स्वरुप साउदी अरेबियाका व्यापक छ, जसमा महिलाहरुले आफ्नो सम्बन्ध टुटेको जानकारी नै पाउँदैनन् । तर अब नयाँ कानुन अनुसार महिलाहरुले कम्तिमा आफ्नो सम्बन्ध विच्छेद भएको जानकारी पाउने स्थानीय महिला वकिलले बताएका छन् ।

यसबाट श्रीमतीलाई जानकारी नै नदिइ सम्बन्ध विच्छेद गर्नबाट पुरुषहरुलाई रोक्ने महिला वकिलहरुको भनाई छ । अब महिलाहरुले आफ्नो वैवाहिक स्थितिबारे जानकारी पाउने र भरण पोषणको अधिकार माग गर्न सक्ने छन् ।

गएको वर्ष दशकौँदेखि महिलामाथि लाग्दै आएको गाडी चलाउन नपाउने व्यवस्था फुकुवा भएको थियो । अझै पनि महिलाहरु साउदी अरेबियामा पुरुषकै निर्देशन र अनुगमन रहनु पर्ने बाध्यता छ ।

पुरुषको निरीक्षण वा परामर्शबिना साउदी अरेबियाका महिलाले विभिन्न गतिविधि गर्न पाउँदैनन् । श्रीमान, बुवा, दाजुभाइ वा छोरा स्वीकृति बिना पासपोर्टका लागि निवेदन दिन, विदेश भ्रमण गर्न, विवाह गर्न, बैंकमा खाता खोल्न, कुनै व्यवसाय खोल्न, जेल छोड्न, परिवार नियोजन गर्न पाउँदैनन्।

पुस २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्