सायद माओ र मार्क्स पनि यी कम्युनिष्टलाई धिक्कार्दा हुन्!

अनेकताबीच एकता खोज्नु पर्ने हाम्रो मौलिक अवधारणा हो। विरासत हो। पुर्खाले देखाएको मूलबाटो हो। तर विगत दश–पन्द्र वर्षदेखि लहलहैमा वा बहकाउमा हामी एकताबीच अनेकता खोजिरहेको छौं। स्वअस्तित्वबाट सहअस्तित्व खोज्ने उल्टो बाटो रोजिरहेका छौं। आज भन्ने हो भने स्वअस्तित्वको खोजमा मात्र भौँतारिरहेका छौं। यस्तोे उपयोगितावादी निम्छरो संस्कारले देश र समाजलाई निर्माण हैन, विनिर्माणतिर लैजान्छ। एकतातिर हैन, विग्रहतिर लैजान्छ। यसर्थ सहअस्तित्वभित्रै स्वअस्तित्वको खोजी गरिनु आज हाम्रो प्रमुख दायित्व र कर्तव्य हुनुपर्दछ।

राजनीतिकले त देश, समाज र संस्कृतिलाई जोड्छ। सहअस्तित्वको संस्कार र संस्कृति निर्माण गर्दै देश–समाजमा समन्वय र सामञ्जस्याता कायम गर्दै एकता निमार्ण गर्दछ। राजनीतिज्ञ र राजनीतिका विभिन्न संस्था र संस्थागत संरचनामा जोडिएका पात्र र प्रवृतिको काम त्यो हुनु पर्दछ र यो नै पहिलो सर्त हो। यसको आधारमा राष्ट्र र राष्ट्रियता बलियो बन्छ र बनाउँछ। तर हाम्रा राजनीति गर्छौं भन्ने खलपात्र र कुप्रवृतिहरूका अराजनीतिक गतिविधिहरूले गर्दा नै देश ‘समृद्ध नेपाल’ र ‘सुखी नेपाली’को दिशामा हैन, कंगाल नेपाल र दुःखी नेपालीको दिशातिर गइरहेको छ।

देश र समाजलाई आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रुपमा रुग्ण र खण्डहर बनाउँदै, हाम्रा मौलिक मूल्य र मान्यताहरु तोड्दै देश समाजलाई धकलेर हाम्रा भावी सन्ततिका लागि सुन्दर भविष्यसहितको समृद्ध देशको कल्पना कदाचित गर्न सकिँदैन। जुन देशको राजनीति र राजनीतिज्ञ आफ्नो मौलिक धरातलमा उभिएका छैनन् र बाह्य एजेण्डा र परचालित छ, त्यहाँका देश र जनता समृद्ध र सुखी बन्ने आशा कसरी गर्न सकिन्छ?

देश समृद्ध बनाउन जवानहरुको ऊर्जाशील भौतिक र मानसिक उपस्थितिका साथै पाकाहरुको सुझबुझपूर्ण निर्णय र दृष्टिपथ चाहिन्छ। भौतिक र मानसिक ऊर्जाशील जवान जनशक्ति विदेश निर्यात गरेर केही थान अकर्मन्य नेता, चाटुकार बुद्धिजीवी र अन्धभक्त कार्यकर्ताहरूको भरमा देश चलेको छ। हाम्रा देशका शासकहरू परदेशसँग श्रम स्वीकृति सम्झौता गरेर के के न गरेजस्तो गरेर झ्याली पिटिरहेको छन्। उनीहरूलाई अलिकति पनि लज्जावोध हुँदैन आफ्ना जवानहरूलाई निर्यात गरेकोमा वा बेचेकोमा। लाखौं–लाख जवान विदेश निर्यात गर्ने वा बेच्ने यता देश समृद्ध बनाउँछौं भन्ने नीति र नियत आफैमा हास्यास्पद हो।

हामो कृषि उत्पादन प्रणाली होस् या सामाजिक र सांस्कृतिक गतिविधि होस् ती सहअस्तित्व र समन्वयकारी थियो हरेक तत् तत् गाउँवस्थी, समाज, जात–जाति र भाषा–भाषीमा। पर्म, गुठी, धर्मगुठी, बेठी, वडघर, रोधिघर, नरालो, कुन्ठी, इष्ट, मित्र, कचहरी, मित–मितेरी, सुहिना–संगिनी, उभौली, उधौली, तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्बो ल्होसार, इद, छठ, दसैँ, तिहार, माघि आदिइत्यादि विभिन्न चाडबाड वा सामाजिक तथा सांस्कृतिक संस्थाहरू। यसमा आज विस्तारै ग्रहण लागिरहेको छ।

तिनको सोच, खोज, अनुसन्धान गर्दै विकास र विस्तार गरी विभिन्न भूगोल, समाज, संस्कृति र समाज माझ एकआपसमा आदानप्रदान गर्ने, अनुसरण गर्दै संस्थागत विकास गर्नुको साटो भत्काउँदै गइरहेका छौं कोरा आधुनिकताको नाममा हामी। यसको मूलकारक तत्व हाम्रो राजनीतिको नाममा गरिने अराजनीति नै हो। कठै, आज न्याय दिने र लिने ठाउँमा पुग्न पनि पैसाको बिटोले किन्नु पर्ने अवस्था आयो। कचहरी हाम्रो कर्णालीको मेलमिलापको मौलिक सर्वसुलभ सिद्धान्त हो भन्छन् विगतमा माओवादी आन्दोलनमा कक्षा आठमा पढ्दै गर्दा होमिएका र वर्तमान वैद्यमाओवादीका नेता तथा एक यूवा शोधकर्ता जुम्लाका राजबहादुर कुँवर।

विगतको हाम्रो पुरानो (कर्णालीको पंत्तिकारले देखे भोगेको) पुस्ता एकदमै मेहनेतीका साथै निष्ठा, इमान, जमान र कर्मशील थियो जसको जीवनमा रिटायर्ड वा अवकाश भन्ने शब्दै थिएन। जीवनको अन्तिम समय(बुढेसकाल) सम्म पनि केही न केही उद्यम गरि नै रहेको हुन्थ्यो। आज पनि सो पुस्ताका बुढापाकाहरू निरन्तर आफ्नो कर्म गरिरहेको देखिन्छ। तर आजको हाम्रो पुस्ता धैरे अल्छी, कुरौटे, भरौंटे, विभिन्न पार्टीहरू र व्यक्तिहरूको झोले हुनुका साथै ‘इजी मनि’का साथै सजिलै विना परिश्रम मान, सम्मान र प्रतिष्ठा कमाउन अभ्यस्त भइसकेको छ।

जुम्लीहरू विगतमा त्यहि कर्मले धर्मभकारी भर्ने गर्थे। बाबा चन्दनाथको थान जुम्लामा एकदरा र गाउँलाई पाल्नसक्ने धर्मभकारी थियो भन्छन् बुढापाकाहरू। यदि कुनै गाउँ र दरामा भोकमारी वा अनिकाल भएमा सो धर्मभकारीबाट त्यस गाउँ–ठाउँको समस्या समाधान गरिन्थ्यो। अर्काे वर्ष वा जब त्यो गाउँ र दरामा सुपिकाल हुन्थो सो क्षेत्रका जनताले सो भकारी फेरि भरिदिन्थे। ती कर्म गरेर धर्मभकारी भर्ने जुम्लीका सन्तानहरू हामी आज मगन्ते (राजनीतिक, आर्थिक र साँस्कृतिक) भएका छौँ!

यी विगतका हाम्रा संस्कार, सँस्कृति र सामाजिक व्यवस्थाले गाडेका र झाँगिएका गहिरा जराहरूले मात्र आज यो देश र समाज जीवित रहेको छ। हाम्रो राजनीतिक र राजनीतिज्ञ नामको व्यापार र व्यापारीले अनेकन प्रायोजित एजण्डा र भाँडभैलो हाल्दा हाल्दै र मच्चाउँदा मच्चाउँदै पनि।

माओवादी आन्दोलन हुँदै जातीय राज्य, धर्मनिरपेक्षता, गणतन्त्र, जातीय संघीयता, गौर र टीकापुर हत्या काण्ड, राज्य पक्ष र गैर राज्य पक्षका केही समूहले पृथ्वीनारायण शाहको सालिक तोडफोड गर्ने, जन्म जयन्तीको विदा कटौती गर्नुका साथै निकृष्ट तहसम्म ओर्लेर फोहोर गाली गर्ने। तराईमा राष्ट्रिय झण्डा जलाउनेदेखि यही मंसिरमा काठमाडौंमा ‘एसिया प्यासिफिक समिट’का नाममा ‘यूनिफिकेसन चर्च’ र त्यसँग सम्वद्ध ‘युनिभर्सल पिस फेडरेसन’को काठमाडौको कथित सम्मेलनमा ‘होली वाइन’को विषाक्त झोलमा डुबेका कथित नेपाली खलपात्र (नेता) हरूका दादागिरी, नाङ्गो नाच र हस्तक्षेप नेपाली समाजलाई द्वन्द्वमा धकल्ने प्रपञ्च नै हुन्।

सोचनीय र अचम्मको विषय त के छ भने– समाजवाद, साम्यवाद ल्याउँछौं भन्दै पुँजीवाद, साम्राज्यवाद र विस्तारवादको पदावली र नारा उछालेर कहिले नथाक्ने कम्युनिष्टहरू नै आज नेपाल भूमि प्रयोग गरेर समाजवादी कम्युनिष्ट व्यवस्था भएको देश चीनलाई घेरिरहेका छन्। यिनको चित्र र विचित्रको रुप देखेर सायद स्वर्गबाट पनि माओ र मार्क्स यी नेपालका कथित कम्युनिष्टलाई धिक्कार्दा हुन्!

पुस २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्