वाइड बडी विमान प्रकरण

आरोपित मन्त्री रवीन्द्र अधिकारीले आफ्नो बचाउमा के–के भने ?

वाइड बडी विमान खरिदमा भएको अनियमिततामा आफ्नो नाम जोडिएपछि प्रष्टिकरण दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री रवीन्द्र अधिकारी । तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – नेपाल वायु सेवा निगमले खरिद गरेको वाइड बडी विमानमा भएको भ्रष्टाचारमा नाम जोडिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सोमबार पत्रकार सम्मेलन गरी आफ्नो स्पष्टिकरण दिएका छन् ।

पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले आफ्नो लिखित प्रष्टिकरण प्रस्तुत गर्दै आफूलाई अनुमान र पूर्वाग्रहका आधारमा भ्रष्टाचार काण्डमा जोडिएको दाबी गरे । उनले विभागीय मन्त्रीको हैसियतमा हुने नैतिक जिम्मेवारी बाहेक अरु कुनै दोषमा आफू भागी नरहेको जिकिर गरेका छन् ।

मन्त्री अधिकारीले वाइड बडी विमान खरिदका सम्बन्धमा सर्वोच्च अदालतले २०७४ को मंसिर २७ गते, ‘निगमद्वारा प्रकाशित बोलपत्र कानुनको अख्तियारी भित्र रही आफ्नो व्यापारिक उद्देश्य पूरा गर्न गरिएको र त्यसमा कुनै कानुनी त्रुटी भए गरेको नपाईँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन’ भनि गरेको फैसलालाई उद्धृत गर्दै आफूले कानुनको व्याख्या गर्ने सर्वोच्च अदालतको फैसलाकै आधारमा अन्तिम किस्ताको रकम दिएको उल्लेख गरेका छन् ।

मन्त्री अधिकारीले वाइड बडी विमान खरिदका सम्बन्धमा यसअघिका सरकारले गरेका काम तथा निर्णयको संक्तिप्त विवरण प्रस्तुत गर्दै यस्तो अवस्थामा आफूले भएका सम्पूर्ण विकासक्रमलाई रोक्न सक्ने अवस्था नरहेको बताएका छन् ।

आफूले मन्त्रालयको नेतृत्व सम्हाल्नु पूर्व नै निगम र कन्सोर्टियमबिच भएको विमान खरिद बिक्री सम्झौतामा भुक्तानीको तालिका स्वीकृत भएकाले आफूले त्यस अनुसार नै गरेको मन्त्री अधिकारीले दाबी गरेका छन् ।

उनले आफू कुनै पनि समस्याबाट भागेर अरु कसैले समाधान निकालोस् भन्ने सोचमा नरहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘समस्या र चुनौतीहरुलाई सामना गर्दै विकासको गति अभि बढाउनु हाम्रो जस्तो विकासोन्मुख देशको अनिवार्य आवश्यकता हो । राजनीतिमा विकासलाई प्राथमिकता दिनुपर्छ भन्ने हामीले जिम्मेवारीबाट पन्छिन खोजे कसले र कहिले यो मुलुकको विकास गर्छ त ?’

आफ्नो जीवनको सोच नै विकास र समृद्धिका लागि राजनीति गर्नु रहेको भन्दै उनले आजीवन इमान्दार रुपमा योगदान गर्न तयार रहेको बताएका छन् । उनले नागरिकले आफूमाथि गरेको विश्वास र भरोसा टुट्न नदिने उल्लेख गरेका छन् ।

सबै तस्बिर : बर्षा शाह/देश सञ्चार

पुस २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्