शिक्षालयमा पैसाको चलखेल

विश्‍वविद्यालयका उत्तरपुस्तिका सच्याउन गिरोह नै सक्रिय

काठमाडौँ – परीक्षा हलमा नक्कली परिक्षार्थी समातिएका घटना नौला होइनन्। केही वर्षअघि परीक्षा हलमा डिभाइस प्रयोग गरी उत्तर भनिदिने गिरोहलाई प्रहरीले‍ नियन्त्रणमा लिएको थियो। तर, यतिबेला जाँचका लागि शिक्षकसम्म पुगेको उत्तरपुस्तिका सच्याउन गिरोह नै सक्रिय रहेको खुल‍ेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँको विशेष टोलीले राजधानीमा अध्यापनरत दुई शिक्षकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिकोटका खेमराज शाही र कञ्चनपुरका अर्जुन भाट छन्। शाही कीर्तिपुर नेशनल आयुर्वेद एण्ड रिसर्च सेन्टरमा विज्ञका रुपमा कार्यरत छन्।

पूर्वाञ्चल विश्वविद्य‌ालयअन्तर्गत व्याचलर इन पब्लिक हेल्थ (बिपिएच) चौँथो सेमेस्टरका उत्तर पुस्तिका परिक्षण गर्ने क्रममा शाही र भाटको समूहले ‘बदमासी’ गरेको खुलेको हो। विधि विज्ञान प्रयोगशालामा भएको परिक्षणपछि उत्तरपुस्तिकामा दुई जनाले लेखेको पाइएको छ।

राजधानीका केही नामी कलेजमा पढाउने शाहीलाई करिब दुई सयको संख्यामा उत्तरपुस्तिका प्राप्त भयो यसपटक। उनले पास हुन नसक्ने विद्य‌ार्थीको पहिचान गरी भाटसँग सम्पर्क गरे। भाटले पास हुन नसक्ने विद्यार्थीको पहिचान गरे। अनि रकम उपलब्ध गराए पास गराइदिने आश्‍वासन दिए।

‘विद्यार्थीले पत्याउँदैनन् भनेर भाटले उत्तर पुस्तिकाको कभर नै मोबाइलमा खिचेर देखाउने गरेको पनि पाइयो। पास गराएवापत एक जनाबाट २५ हजारसम्म लिने गरेको देखिएको छ,’ अनुसन्धानमा संलग्न परिसरका एक अधिकारी भन्छन्।

विश्वविधालयमाथि नै शंका 

प्रहरीले सुरुमा भाटलाई पक्राउ गरेको थियो। भाटले आफूलाई शाहीले उत्तरपुस्तिका उपलब्ध गराएको बताएपछि शाही पनि पक्राउ परेका छन्। परिसरले पक्राउ परेका दुवै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाएको छ।

प्रारम्भिक अनुसन्धानमा शाही र भाटले गत वर्ष पनि यसरी उत्तरपुस्तिका सच्याएर परिक्षार्थीलाई पास गराउने गरेको खुलेको छ। आफूले पढाउने कलेजकै उत्तरपुस्तिका समेत शाहीको हातमा आई पुगेको र विधार्थीले नआएका प्रश्नका जवाफ त्यत्तिकै छाडेकाले गिरोहको सम्बन्ध विश्वविद्यालयको उच्चस्तरसम्म हुन सक्ने प्रहरीको आशंका छ।

‘विद्यार्थीले उत्तर नलेखेका प्रश्नको जवाफ यसरी गिरोहले लेखेर पास गरिदिने गरेको पाइयो, हामीले विधि विज्ञान प्रयोग शालामा परिक्षण गर्दा दुई जनाले लेखेको पाइयो,’ परिसरका एक अधिकारी भन्छन्। प्रहरीले विद्यार्थीलाई पक्राउ गरेको छैन। ‘अब बाँकी काम अख्तियारको जिम्मा लगाएका छौँ,’ परिसरका अधिकारी भन्छन्।

पुस २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्