मति बिग्रेपछि खती...

मन मिलिञ्जेल ‘प्रेम’, घर भाँडिएपछि ‘जबरजस्ती करणी’को जाहेरी

जिल्ला प्रहरी कार्यालय बाँके।

नेपालगञ्ज – ‘मति बिग्रेपछि खती हुन्छ’ भन्थे हो, रहेछ। बाँकेकी एक २८ वर्षे महिलाले श्रीमान् विदेशमा हुँदा बिगारेको मतिले अहिले तनाव बेहोरिकी छिन्।

तीन वर्षपछि श्रीमान् विदेशबाट घरमा आए। केही दिन घरमा राम्रै थियो। डेढ महिना नपुग्दै श्रीमान् र श्रीमतीका बीचमा खटपट सुरु भयो।

श्रीमान्‌ले शंका गरे। फोन कुराकानी र श्रीमतीको व्यवहारलाई श्रीमान्‌ले नियालिरहेका थिए। त्यसैपनि विदेशबाट आएको श्रीमान् बढी नै शंकालु हुने गर्छन्। श्रीमतीको पनि ‘लागेको बानी’ के गर्नु।

परपुरुषसँगको सम्पर्क थाहा पाएपछि श्रीमानले श्रीमतीलाई घरबाट निकालिदिए। यो बीचमा कमाएको २० लाख रुपैयाँ पनि हिनामिना गरेको आरोप लगाए।

श्रीमान्‌को आरोपलाई खण्डन गर्दै दुई सन्तानकी आमाले सम्पर्कमा रहेका परपुरुषविरुद्ध ‘जबरजस्ती करणी’मा जाहेरी दिएकी छन्। महिलाको उजुरीपछि बाँके प्रहरीले ती पुरुषलाई नियन्त्रणमा लिएको छ।

सम्पर्कमा रहेका भनिएका महिला र पुरुष आफन्त नै हुन्। ‘महिलाको उजुरी आएपछि हामीले ती पुरुषलाई समातेका छौं, कोहलपुर प्रहरीका प्रवक्ता मानबहादुर विसीले भने, ‘हामीले वास्तविकता बुझ्दै छौँ। उजुरी र पक्राउ परेका व्यक्तिको भनाई बाँझिएका छन्।’

बाँकेमा श्रीमान्‌ले विदेशबाट पठाएको रकम हिनामिना गरेको मात्रै होइन, श्रीमान घरमा आउने बेला या आएको केही समय हुन नपाउँदै श्रीमती अर्कैतिर हिँडेको उजुरीहरु धेरै छन्। त्यसो त श्रीमतीलाई विदेश पठाएर मस्ती गर्दै बस्ने श्रीमानको पनि कमी छैन।

प्रहरीका एक अनुसन्धान अधिकृत भन्छन्, ‘वैदेशिक रोजगारीले राम्रो भएका धेरै छन्। घर टुक्रिएका पनि कम छैनन्। श्रीमानले विदेशमा कमाएको पैसा लिएर श्रीमती अर्कैतिर हिडेकाको परिवार खोजतलासका लागि भन्दै प्रहरीमा आइपुग्छन्।’

पुस २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्