नेपाली रक्सी भारत तस्करी

नेपालगञ्‍ज- भारत उत्तर प्रदेशको सीमावर्ती बजारमा नेपालबाट रक्सी तस्करी हुने गरेको छ। रक्सी तस्करले खुल्ला नाकाको फाइदा उठाइरहेका छन्।

प्रहरीले गएराती दशगजा नजिकको जमुनाहा गाउँबाट ठूलो मात्रामा रक्सी बरामद गरेको छ। घरेलु मदिरा एक हजार लिटर नष्ट गरेको छ। वडा प्रहरी कार्यालय, नेपालगञ्जले एक सय ६४ कार्टुन विभिन्न ब्रान्डका सोफी रक्सी बरामद गरेको छ।

बरामद भएका रक्सी भन्सार कार्यालयमा पठाइएको वडाका इन्चार्ज नारायण डाँगीले बताए। स्थानीय व्यापारीले भने वैधानिक रुपमा राखेको रक्सी प्रहरीले लगेको दावी गरेका छन्।

नेपालगञ्जका विभिन्न टोलहरुमा बन्ने घरेलु रक्सी नाकाछेउका गाउँमा लगेर राख्‍ने र पायक पर्दा भारततिर पठाउने गरिन्छ। मदिराप्रेमी भारतीयहरु यतै आएर खाने गर्दछन्। रेल चढेर सीमावर्ती नेपाली बजारमा मदिरा सेवन गर्न आउनेको पनि कमी छैन।

घरेलु हिंसादेखि झैझगडाको कारणमध्येमा गनिने मदिराविरुद्ध प्रहरीले अप्रेसन गर्दै आएको छ। नेपालगञ्‍ज बजारभित्रै प्रहरीले घरेलु मदिरा नष्ट गर्ने अभियान चाल्दै आएको प्रहरी निरीक्षक डाँगीले बताए। पछिल्लो समय वडा प्रहरीले जमुनाहा गाउँलाई निगरानी गरिरहेको छ।

दशगजासँग जोडिएको यो गाउँमा दिउँसो सामान पुर्‍याएर थुपार्ने र मौका मिल्दा पारी पठाउने गरिन्छ।यसअघि त्यहाँबाट कालो मरिच बरामद गरिएको थियो।

पुस २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्