बाघको छाला र हड्डीसहित दुई पक्राउ

नेपालगञ्ज-बाँकेको कोहलपुरमा बाघको छाला र हड्डीसहित दुई जना पक्राउ परेका छन्।

५ नम्बर प्रदेश अनुसन्धान ब्यूरोको टोलीले कोहलपुरको बसपार्क नजिकबाट-९ फिट लम्बाईको बाघको छाला र हाडखोर बरामद गरेको हो। बाघको छाला र हाडखोरसहित दैलेखका कमल खत्री र कञ्चनपुरका हरि ढकाल पक्राउ परेका छन्।

बसपार्कमा बाघको छाला र हड्डीको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

खत्री र ढकालले कहाँबाट बाघ मारेर हड्डी र छाला लिएर आएका हुन् र कसलाई बिक्री गर्न आएका थिए भन्ने अनुसन्धान भइरहेको कोहलपुर प्रहरीले जनाएको छ।

बरामद बाघको छाला र हड्डीसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि बाँके राष्ट्रिय निकुञ्जमा पठाइदैछ।

पुस २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्