
नयाँ दिल्ली – भारतको राजधानी दिल्लीमा संगठित गुरुङ समुदायले फो–ल्होछारा अर्थात् तमु ल्होसार पर्व मनाएका छन्। दिल्ली केन्ट क्षेत्रका गुरुङ समुदायले सामूहिक भोज, सांस्कृतिक कार्यक्रम र नाँचगान गरेर तमु ल्होसार मनाएका हुन्।
शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए, मानिसको चिनारी हराउँछ भन्ने मान्यताका साथ गुरुङ सेवा समितिको आयोजनामा भएको कार्यक्रममा समितिका अध्यक्ष डीबी गुरुङले अध्यक्षता गरेका थिए।
भीम गुरुङ प्रमुख अतिथि र नेपाली राजदूतावासका संस्कृति काउन्सलर होमप्रसाद लुइँटेल विशिष्ट अतिथि थिए। समारोहमा कञ्चन गुरुङ र दिल्लीमा गुरुङ समाजको पूजापाठ गराउन नेपालबाट आएका लामा नवीन गुरुङ पनि विशेष अतिथिका रुपमा उपस्थित थिए।
समारोहमा स्वागत मन्तव्य राख्दै समितिका उपाध्यक्ष गोपीराज गुरुङले ल्होसार पर्वको थालनी र महत्वको बारेमा प्रकाश पारे।
त्यसैगरी, राजदूतावासका काउन्सलर होमप्रसाद लुइँटेलले संस्कृति बचाउन गुरुङ सेवा समितिले गरिरहेको काम महत्वपूर्ण भएको जनाउँदै नेपाल सरकार, नेपाली दूताबासका तर्फबाट सम्पूर्ण तमु समूदायलाई शुभकामना दिए।
समितिका महासचिव खुम गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रमको समापन गर्दै समितिका अध्यक्ष डीबी गुरुङले संस्कृतिको जगेर्ना गर्ने आफुहरुको प्रयास सँधै कायम रहने बताए।
समारोहमा उपस्थित भएका अतिथिहरुलाई समितिले मायाको चिनो प्रदान गरेको थियो। कार्यक्रममा विभिन्न गुरुङ समूदायका किशोरकिशोरीहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।
गुरुङ समुदायले नयाँ वर्षको सुरुवातका रुपमा मनाउने ल्होसार पुस महिनाको १५ गते मनाइने गरेको भएपनि दिल्लीमा कामका शिलशिलामा रहेका गुरुङ समुदायले आइतबार बिदाको दिन मनाएको हो।