मैतीदेवीस्थित डेरामा केवल बानियाँ। तस्बिरः सुलभ श्रेष्ठ/देश सञ्चार
व्यथा वैदेशिक रोजगारीको

शरीरका अंगहरुले साथ छाड्दै छन्, संगीत मात्रै छ बाँच्ने सहारा

‘के सोचे थेँ जिन्दगीमा, के–के भयो आज’ राजेश हमाल, सञ्चिता लुइँटेल, रमित ढुंगाना आदि अभिनित चलचित्र ‘माया नमार’ को गीत हो यो। कसैको जिन्दगीको कुरा होइन। हो त केवल, केवल बानियाँको हो। हुन त सबैले सोचेजस्तो जिन्दगी कहाँ भोग्न पाउँछन् र! केवल बानियाँले जस्तो भोग्नेहरु पनि सायदै होलान्।

ताप्लेजुङबाट गायक बन्ने सपना बोकेर केवल १३ वर्ष पहिले झापा झरेका थिए। खेती–किसानी गर्ने बा–आमासँग मागेको पैसाले डेराको बास कतिञ्जेल चल्थ्यो र! फेरि केवल एक्लै पनि त थिएनन्।

उनले २०६० सालमा विवाह गरे। संगीत सिक्न झापा बस्दा उनकी श्रीमती पनि सँगै बस्थिन्। श्रीमतीको पनि कमाइ थिएन त्यतिबेला। अलि पछि निजी विद्यालयमा पढाउन थालिन्। तर यसरी जिन्दगी चल्ने देखेनन् उनीहरुले। अनि, केवल परदेश लाग्ने निधो गरे। कखरा नजान्दै छाडेको संगीत विदेशमा कमाएर फर्किएपछि पूरा गर्ने धोको त छँदै थियो।

२०६२ सालको असारमा अपरेटरको काममा केवल मलेसिया उडे। उनी परदेश गएकै साल माघमा दिदीको मृत्यु भयो। अर्को सालको मंसिरमा बुवालाई पनि कालले निल्यो।

तीन वर्ष मेसिनमा खट्दा उनको स्वास्थ्य अवस्था ठिकै थियो। डेरामा छाडेकी श्रीमतीलाई मलेसियाको कमाइले आफ्नै घर बनाएर सारेका थिए।
न्यूनतम तलब एक हजार रियाल हुन्थ्यो। अहिले नै घर फर्किनुभन्दा अझै त्यही काम गर्ने सोचेर श्रम स्वीकृतिको अवधि थपे। त्यतिबेलासम्म त स्वास्थ्य पनि ठिकै थियो। तर, थपिएको दोस्रो महिनाबाट एकपछि अर्को गर्दै उनका दशाका दिन सुरु भए।

सुरुमा देब्रे खुट्टा दुख्न थाल्यो। विस्तारै पैतलाबाट कालो–निलो भएर आयो। नजिकैको क्लिनिकमा चेकजाँच गराए। त्यहाँको औषधिले ठीक भएन। सुल्तान स्माल हस्पिटलमा गए, तीन चार दिन बस्दा त्यहाँ पनि उपचार भएन।

पैतलाबाट सुरु भएको खुट्टाको झन्झन् माथिल्लो भाग चल्न छाड्दै थियो। एक वर्ष करार अवधि थपेका केवल त्यसअघि नै नेपाल फर्कनु पर्यो।

विवाहपछि उनको सहारा त भइन्। तर, परिवारमा एकपछि अर्को गर्दै बज्रपात पर्न छाडेन। आफ्नो जिउँको पनि हालत झन्–झन् बिग्रिदै थियो। देब्रे खुट्टा फालेपछि त्यस्तै रोग दाहिँनेमा देखा पर्यो। उपचारका लागि भारत गए। त्यहाँ पनि केही पत्तो चलेन, औषधिले पनि ठीक भएन।

नेपाल फर्किएपछि नर्भिक, टिचिङ, आयुर्वेद अस्पतालमा चेकजाँच गराए केवलले। कुनै अस्पतालमा उपचार गराउँदा पनि खुट्टा ठीक हुने देखिएन। २०६५ सालको साउनमा फर्किएका केवलले भदौमा खुट्टाको घुँडाभन्दा माथिल्लो भागदेखि काटेर फाल्ने निर्णय गरे।

एउटा खुट्टा फालेर केवल झापा फर्किए, जहाँ उनका सहारा र सपना थिए। श्रीमती झापामै थिइन्। गायक बन्ने सपना पनि त्यही थियो।
खुट्टा काटेर फालेपछि सपना त कमजोर हुँदै थियो नै सहारा पनि तर्किन थालिन्।

श्रीमतीको व्यवहार पहिले जस्तो रहेन, झर्को फर्को गर्न थालिन्। केवल भन्छन्, ‘त्यसपछि उनले एक्कासी शब्द शैली नै परिवर्तन गरिन्।’

किन त? ‘खुट्टै नभाको लोग्नेसँग कसरी गरिखाने भनेर होला नि!’ केवलले अनुमान लाए।

केवल थलिएपछि श्रीमतीले आफू विदेश जाने प्रस्ताव गरिन्। आफ्नो हालत खराब भएपछि श्रीमतीकै काँधमा थियो सबै जिम्मेवारी। उनको कुरा स्वीकार्नुको विकल्प देखेनन् केवलले। पासपोर्ट बनाएकोसम्म पत्तो छ, तर ढाँटेको पत्तो लाग्न समय लाग्यो।

कमाएर उपचार गर्छु, घर व्यवहार सम्हाल्छु भनेकी श्रीमती त झापाकै अर्कै केटासँग गइछिन्। केवलको देब्रे खुट्टा अपरेशन गर्दा घर बेचेका थिए। बेचेको घरको पैसा श्रीमतीसँगै थियो, त्यो पनि लिएर गइछिन्। पछि उनले तीन लाख रुपैयाँ फिर्ता गराए।

उनको परिवारमा बज्रपात पर्न चाहिँ छाडेन। बहिनीको मिर्गौला फेल भयो, अनेक कोसिस गर्दा पनि बचाउन सकेनन्। २०६८ सालमा बहिनीलाई पनि कालले लग्यो।

श्रीमतीले छाडेपछि उनी दिदीको घरमा बस्न थाले। अपाङ्ग सेवा संघमा आबद्ध भएर काम पनि गरे। त्यही काम गर्ने एक जना दाइसँग उनको राम्रो हेलमेल भयो।

ती दाइकी छोरीको विवाहको निम्तो मान्न गएका केवलले उनकी बहिनीसँग कुरा छिने। भोलिपल्ट विवाह भयो।

विवाहपछि उनको सहारा त भइन्। तर, परिवारमा एकपछि अर्को गर्दै बज्रपात पर्न छाडेन। आफ्नो जिउको पनि हालत झन्–झन् बिग्रिदै थियो। देब्रे खुट्टा फालेपछि त्यस्तै रोग दाहिँनेमा देखा पर्यो। उपचारका लागि भारत गए। त्यहाँ पनि केही पत्तो चलेन, औषधिले पनि ठीक भएन।

केवल अहिले टिचिङ हस्पिटलमा चेकजाँच गराउँदै छन्। भएको एउटा खुट्टाको पनि नसा चलिरहेको छैन। डाक्टरले डिबिडी भएको भनेका छन्। ब्लकेज खुलेको छैन। पाँच वर्षदेखि निरन्तर उपचार गराइरहेका छन्। अहिले घुँडामाथिको भागमा पनि घाउ आएको छ।

कम्मरमुनि सिरकले ढाकेर पसारेको एक्लो खुट्टाको घुँडामाथिको गहिरो घाउ देखाउँदै भने, ‘यसको अस्ति आइतबार मात्रै अपरेशन गरेको। ५–६ दिन भयो। दैनिक ड्रेसिङ गर्न जानुपर्छ।’

केवल यसैका लागि गत साताअघि काठमाडौँ आएका हुन्। निरन्तर चेकजाँचका लागि धाउनु पर्दा झापामा सहकारीको जागिर छाड्नु पर्‍यो।

दोस्रो विवाह गरेपछि उनको छोरो जन्मिएको छ। ११ महिनाको छोरालाई पनि दुई महिनाको हुँदै हर्निया भएको थियो। गत महिना मात्रै डा. मधुसुदन पुनले अपरेशन गरिदिए। केवलले छोरालाई झापा पुर्‍याए। तर फेरि आफूलाई रोगले च्याप्न थालेपछि चेकजाँचका लागि फर्किनु पर्‍यो।

श्रीमती गोमादेवी घोर्साई र छोरा संस्कार ससुरालीमा छन्। आफू मैतीदेवीमा आफन्तकोमा बसेका छन्। जता गए पनि डेराकै बास। आफन्तकै सहयोगमा चलाउनु परेको छ।

तर, अब केवल नियमित चेकजाँच गराउनु पर्ने भएकाले काठमाडौँमै बस्ने तयारीमा छन्। स्याहारसुसारमा कति आफन्तलाई दुःख दिने? श्रीमतीलाई पनि यतै ल्याउनु पर्ने बाध्यता छ। तर, कसरी धान्ने विकल्प चाहिँ छैन।

आफ्नै बलबुताले त खाटबाट झर्न पनि सक्दैनन्। खाटबाट ओराल्नदेखि दिसापिसाव गराउन पनि सहारा चाहिन्छ। उनले हरेस खाइहालेका त छैनन्। तर, रोगले थला पार्न बाँकी राखेको छैन।

‘अब कसरी चलाउने त जीवन?,’ आफै कतिञ्जेल रहन्छु भन्ने दोसाधमा पुगेका केवललाई यो प्रश्न गर्नु नै गलत थियो। तर, उनीसँग यसको जवाफ रहेछ, ‘बिराम ठीक भएन भने त के गर्नु र! तर भोलिका दिनमा बाँचे भने म त गीत गाएरै खाने हो।’

आफ्नो यो हाल देख्दा–देख्दै विवाह गर्न राजी भएकी श्रीमतीको भविष्यबारे पनि चिन्ता बढ्दै छ उनलाई। केवल भन्छन्, ‘मलाई यतिबेला आफ्नो उपचारको मात्र होइन, उनीको सिंगो भविष्यको चिन्ता छ। बाबु पढाउने बेला हुन्छ, तर कसरी?’

जीवन त कम्तिमा गुजार्नु छ। तर, आज यही नै सबैभन्दा ठूलो उपलब्धि जस्तो बन्दिँदै छ केवलको परिवारका लागि। ‘यतिबेला फेरि मलाई ऋण र दिन दुवै लागेको छ। पहिले दिन लागेपछि मलाई ऋण पनि लाग्यो’, घुँडामुनिको भागसम्म निलो भइसकेको खुट्टो समाउँदै देश सञ्चारसँग भने, ‘चेकजाँचका लागि काठमाडौँ धाउँदा धाउँदै डुबाइसक्यो ऋणले।’

शरीरका अंग टुक्रिँदैछन्, मन संगीत छाड्न मान्दैन


मध्यदिउँसो मैतीदेवी मन्दिरमा भक्तजनहरु भजन गाइरहेका थिए। सायद उनीहरुले पनि आफ्नै लागि केही पुकारी रहेका थिए भगवानसँग। भगवानले पनि तीनको कुरा सुनेका थिए थिएनन्! तर, त्यहाँबाट ५० मिटर पूर्वतिर बसेका केवलको पुकार भने पक्कै सुनेका थिएनन्।

खुट्टाको उपचारमा २० लाखभन्दा बढी खर्च भइसक्यो। अर्को खुट्टा पनि काट्नु पर्ने निश्चित जस्तै छ। त्यो खुट्टा काट्दा उनीसँग शरीरको आधा भाग मात्रै बाकिँ रहन्छ। तर, केवलको मनमा गायक बनेरै छाड्छु भन्ने दृढताले ठाउँ छाडेको छैन।

‘अब कसरी चलाउने त जीवन?,’ आफैँ कतिञ्जेल रहन्छु भन्ने दोसाँधमा पुगेका केवललाई यो प्रश्न गर्नु नै गलत थियो। तर, उनीसँग यसको जवाफ रहेछ, ‘बिराम ठीक भएन भने त के गर्नु र! तर भोलिका दिनमा बाँचे भने म त गीत गाएरै खाने हो।’ उनले शरीर टुक्रिँदै गएपछि हारेर यो उद्देश्य लिएका पनि होइनन्। उमेर छँदैको गायक बन्ने चाहनाबाट विचलित भएका रहेनछन्।

आजकाल उनका लागि मैतीदेवीमा रहेको भाञ्जा प्रलाद चौहानको कोठा अस्पतालको शैय्या जस्तो बनेको छ। त्यहीँ केवलले महेश थुलुङको गीत गाएः

सलल बग्छ सुनकोसी नदी बालुवा बगरमा ,
बाँचुञ्जेलसम्म हाँसखेल गरौँ मरे त खोला जंगलमा,
जिन्दगीको भरोसा के छ र, दुई दिन माया लाइदिउँ न के छ र!

हो, आखिर जिन्दगीको भरोसा के छ र! भरोसा हुन्थ्यो त केवलको यस्तो बेहाल हुन्नथ्यो।

मैतीदेवीस्थित डेरामा केवल बानियाँ।

तस्बिरहरुः सुलभ श्रेष्ठ/देश सञ्चार