प्रतियोगिताबाटै बाहिरियो लिभरपुल, उत्कृष्ट जित निकाल्दै वुल्भ्स अघिल्लो चरणमा

यो सिजन निकै उत्कृष्ट प्रदर्शन गर्दै आएको लिभरपुललाई एफए कपमा झड्का लागेको छ । प्रिमियर लिगको लिडर क्लब लिभरपुल एफए कपको तेस्रो चरणबाटै बाहिरिन बाध्य भएको छ ।

सोमबार राति अवे मैदानमा भएको खेलमा लिभरपुल वुल्भ्ससँग २–१ ले पराजित भयो । घरेलु टोली वुल्भ्सले उत्कृष्ट प्रदर्शन गर्दै जर्गेन क्लोप्पको टिम लिभरपुललाई हराएको हो । वुल्भ्सका लागि राउल जिमिनेज र रुबेन नेवेसले गोल गरे । लिभरपुलका लागि डिभोक ओरिजीले एक गोल गरेका हुन् ।

क्लोप्पले तीन किशोर खेलाडीलाई पूर्ण डेब्यु गराएको खेलमा वुल्भ्सका लागि ३८ औँ मिनेटमा जिमिनेजले गोल गरे । ५१ औँ मिनेटमा ओरिजीले लिभरपुलका लागि बराबरी गोल फर्काए । तर त्यसको चार मिनेटपछि नेवेसले गोल गरेपछि वुल्भ्सले २–१ को महत्वपूर्ण जित निकाल्दै चौथो चरणमा स्थान पक्का गरेको हो ।

लिभरपुलबाट यो खेलमा १७ वर्षका मिडफिल्डर कुर्टिस जोनस, १८ वर्षका राफाएल कामाचो र १६ वर्षका कि–जाना होएभरले पूर्ण डेब्यु गरेका थिए ।

लिभरपुलको यो लगातार दोस्रो हार हो । यसअघि प्रिमियर लिगमा प्रतिस्पर्धी क्लब म्यानचेस्टर सिटीसँग लिभरपुल पराजित भएको थियो ।

पुस २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्