तीन घन्टासम्म विमान डिले भएकोमा यात्रु आक्रोसित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल अस्तव्यस्त

काठमाडौँ – काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उडानको तालिकामा तीन घन्टासम्म डिले भएका कारण आन्तरिक टर्मिनल भवन मंगलबार अस्तव्यस्त बनेको छ ।

सम्पूर्ण जहाजका यात्रु एकैपटक भवनको प्रस्थान कक्षमा भेला भएका कारण मानिसहरु घन्टौँसम्म उभिन बाध्य छन् । यात्रुले तीन घन्टा भन्दा लामो समय कुर्नु परेपछि विमान कम्पनीका कर्मचारीमाथि आक्रोस पोखेका छन् ।

विमान डिले भएको खण्डमा यात्रुलाई जानकारी नदिइ घन्टौँसम्म उभिन बाध्य बनाएकोमा उनीहरुले आक्रोस पोखेका हुन् ।

विमानस्थलको सञ्चार उपकरणमा खराबी आएपछि उडान प्रभावित भएको विमानस्थलका कर्मचारीले बताएका छन् ।

भिसिसिएस भनिने उपकरणको एरिया र एप्रोचमा समस्या आएकाले उडान केही समयका लागि रोकिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

बुद्ध एयरको टिकट काटेर विराटनगर जान लागेका सर्लाहीका रामेश्वर महतोले करिब तीन घन्टा विमानस्थलमै बस्नु परेकोले विमानस्थल व्यवस्थापनको आलोचना गरे ।

उनले भने, ‘यो के चाल हो बुझ्नै गाह्रो भो । यत्रो समय बस्नुपर्ने थियो भने खबर गरिदिएको भए हुन्थ्यो ।’

झण्डै तीन घण्टापछि विमानस्थल सुचारु भएको थियो ।

पुस २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्