अष्ट्रेलियामा आफ्नै डेरामा मृत भेटिएकी नेपाली युवतीको शव नेपाल लगियो

सिड्नी- सिड्नीको बैंक्सटाउनस्थित घरमा डेरा गरी बस्ने नेपाली युवती स्मृति आलेमगरको शव गत बिहीबार नेपाल पठाइएको छ। उनलाई त्यसको दुई साताअघि शनिबार आफ्नै डेरामा मृत फेला पारिएको न्यु साउथ वेल्स प्रहरीले जनाएको थियो।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ भने घटनासम्बन्धी अन्य जानकारी सार्वजनिक गरेको छैन। चन्द्रनिगाहपुर घर भई काठमाडौंको गोंगबुमा बस्ने स्मृति करिब डेढ वर्षअघि डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया आएकी थिइन्।
घटनालगत्तै उनका आफन्तको आग्रहमा मगर समाज अस्ट्रेलियाले उनको शवलाई नेपाल पठाउन सहयोग संकलन अभियान सञ्चालन गरेको थियो। समाजद्वारा आयोजित स्मृति आलेमगरका लागि सहयोग संकलन कार्यक्रममा १० हजार २ सय ५६ अस्ट्रेलियन डलर संकलन भएको थियो जसमध्ये ६ हजार ५ सय डलर शव पठाउनका लागि प्रयोग गरिएको तथा बाँकी पैसालाई उनको परिवारलाई बुझाउने जानकारी संस्थाका सचिव सुदर्शन थापामगरले देशसञ्चारलाई दिए।
गत आइतबार सिड्नीको आर्नक्लिफस्थित सिनियर सिटिजन हलमा आयोजित प्रथम मगर कवि जितबहादुर सिंजाली तथा स्मृति आलेमगरको संयुक्त श्रद्धाञ्जली कार्यक्रममा यसबारे जानकारी गराइएको थियो। मगर समाज अस्ट्रेलियाले स्मृतिको शव नेपाल पठाउन गरिएको सहयोग संकलन अभियानमा सहयोग गर्ने सम्पूर्ण मनकारी नेपालीहरूका साथै अन्य संघ, संस्थालाई धन्यवाद ज्ञापन गरेको थियो।
पुस २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्