यस पटक मेलामा रोबोट उतार्ने तयारी

माघ १५ गतेदेखि ‘क्यान इन्फोटेक’, अनलाइन टिकेटिङमा १० प्रतिशत छुट

काठमाडौं- सूचना तथा सञ्‍चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्‍यावसायीहरुको छाता संगठन कम्‍प्युटर एशोसिएशन नेपाल ( क्‍यान) महासंघले माघ १५ गतेदेखि २० गतेसम्‍म क्‍यान इन्फोटेक २०१९को आयोजना गर्ने भएको छ।

महासंघले मंगलबार पत्रकार सम्‍मेलनको आयोजना गरी सूचना प्रविधिको क्षेत्रमा नयाँ नयाँ खोज र अनुसन्धानलाई प्रदर्शनमा राखिने समेत जानकारी दिने क्‍यान महासंघका महासचिव रञ्‍जीत पोदारले बताए।

उनले भने, ‘क्‍यान इन्फोटेकमा अवलोकन गर्न आउनुहुने महानुभावहरुले यस पटक नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन्।साथै यस पटक शिक्षा, स्वास्थ्य, कृषि रपर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गरेका छौ।’ उनले नयाँ नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि समे प्रदर्शनमा राखिने बताए।

यस्तै क्‍यान महासंघका उपाध्‍यक्ष सुनैना पाण्डे घिमिरेले यस पटक क्‍यान इन्फोटेकमा रोबोटलाई स्टेजमा उतार्ने तयारी भइरहेको जानकारी दिइन्। उनले भनिन्, ‘ हामी पनि प्रविधिमा पछाडि परेका छैनौ। हाम्रा विद्यार्थीहरुले रोबोट बनाएका छन्। उहाँहरुले साथ दिनु भएमा हामी यस पटकको क्‍यान इन्फोटेक मेला २०१९मा आउने अवलोकनकर्ताहरुलाई स्टेजमा रोबोटलाई उतार्ने तयारीमा छौ।’

उनले नेपाल कृषि प्रधान देश भएकाले नेपाली किसानका लागि उपयोगी हुने प्रविधिको समेत प्रदर्शनी गरिने बताइन्। साथै विरुवामा लाग्‍ने रोग, मेडिकल क्षेत्रमा उपयोग हुने प्रविधिको समेत प्रदर्शनीमा देखाउने तयारी भइरहेको बताइन्।

यस्तै क्‍यान महासंघका अध्‍यक्षले यस पटकको क्‍यान इन्फोटेकमा ३ लाख भिजिटर पुर्‍याउने लक्ष्‍य रहेको बताए। उनले भने, ‘ हाम्रो लक्ष्‍य यस पटकको क्‍यान मेलामा ३ लाख भिजिटर पुर्‍याउने छ। हामीले क्‍यानको गुणस्तरमा पनि ध्‍यान दिएका छौ। साथै नयाँ प्रविधि, पहुँच र प्रवर्द्धनमा ध्‍यान राख्‍दै युवाहरुलाई जागिरको अवसर पनि दिने प्लेटफर्म बनाएका छौ।’

उनले क्‍यान मेलामा सूचना प्रविधि क्षेत्रमा करियर बनाउन चाहने प्राविधिक विषयमा अध्‍ययनरत विद्यार्थीले मेलास्थलमै बायोडाटा बुझाउने सक्ने व्‍यवस्था गरिएको बताए। उनका अनुसार क्‍यान महासंघले विद्यार्थीहरुको उक्त वायो डाटालाई आइटी कम्पनीहरुमा पठाइदिने र रोजगारीका लागि आवश्यक सहजीकरण समेत गरिदिनेछन्।

२५औ संस्करणको क्‍यान इन्फोटेकको मूख्‍य प्रायोजक सुबिसु केलबनेट प्रालि रहेको छ भने एशोसिएट प्रयोजक इ-सेवा पोन पे प्रालि रहेको छ। यस्तै सिल्भर र स्पोन्सरमा एसएचटीसी इन्टरनेशनल, एस-पावर बिपीइ प्रालि र लर्ड बुद्ध एजुकेशन फाउन्डेशन रहेका छन भने अफिसियलमा नेपाल टेकलिकम र नेपाल क्लियरिङ हाउस रहेका छन्।

यस्तै अफिसियल बैंक प्रभू, अफिसियल पमेन्ट पार्टनर एफवान सफ्ट, अनलाइन टिकेटिङ पार्टन इ-सेवा, अफिसियल एसएमएस पार्टनर स्प्यारो एसएमएस रहेका छन्। प्रभू इन्स्यूरेन्सले प्रदर्शनीस्थल र स्टलको २ करोड रुपैयाँ बराबरको बीमा गरिदिएको छ।

कुल १७५ वटा स्टलहरु रहने क्‍यान इन्फोटेक मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसनन्स, मोबाइल एक्सेसरीज, डिलर र डिस्ट्रिब्‍यूटर, इन्टरनेट सेवाप्रदायक आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्‍युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स रहनेछन्।

मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क एक सय रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ। माघ १७ गते भने विजनेस डे भएकाले उक्त दिन सय रुपैयाँ नै कायम गरिएको छ। साथै क्‍यान इन्फोटेकको अनलाइन टिकेटिङमा १० प्रतिशत छुटको व्‍यवस्था गरेको छ। क्‍यान इन्फोटेक माघ १५ देखि २० गतेसम्‍म ६ दिन चल्‍नेछ।

क्यान महासंले काठमाडौं बाहिर पनि प्रादशिक इन्फोटेक मेला सुरु गरेको छ। महासंघले प्रदेश १ को विराटनगरमा पुस १९ गतेदेखि२३ गतेसम्‍म मेला सम्पन्‍न गरिसकेको छ भने प्रदेश नम्बर २ को वीरगञ्‍जमा पस २७ देखि ३० गतेसम्‍म, प्रदेश नम्बर ३ को चितवनमा माघ २५ देखि २९, गण्डकी प्रदेशको पोखरामा फागुन २४ देखि २८, प्रदेश ६ को बुटवलमा फागुन ३ देखि ७ र कर्णाली प्रदेशको सुर्खेतमा फागुन २४ देखि २८ गतेसम्‍म प्रादेशिक इन्फोटेकको गर्दैछ।

पुस २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्