आन्तरिक पर्यटकीय गन्तव्य

रानीतलाउमा बोटिङ बिहार, पारिलो घाम र सेल्फीको संगम (फोटो फिचर)

नेपालगञ्ज – पुसको अन्तिम साता। हिमाली जिल्लातिर हिउँ परेको छ। अत्याधिक गर्मीको शहरका रुपमा चिनिने नेपालगञ्जमा चिसो बढ्दै छ। हिमालमा परेको हिँउको असर पनि हुन सक्छ।

मंगलबार प्याब्सन डे पनि। स्कुलहरु बिदा छन्। दिउँसो पारिलो घाम लागेको छ। बिदा र पारिलो घामको मज्जा लिन एकथरि रानीतलाउ पुगेका छन्। रानीतलाउ अर्थात् नेपालगञ्जको पहिचान जोडिएको ठाउँ।

चारैतिर हरियाली रुखहरु। बच्चाहरु रमाउने झुला। अनि बीचमा पोखरी (तलाउ)। पारिलो घाममा बोटिङ गर्दै सेल्फी खिच्नुको छुट्टै मज्जा।

स्कुल बिदाको फाइदा उठाउँदै नेपालगञ्जका अनिल श्रेष्ठ छोरा लिएर रानीतलाउ पुगेका छन्। ‘वाह! घाम ताप्दै बोटिङ बिहार गर्न मज्जा आयो,’ श्रेष्ठले भने, रानीतलाउ नेपालगञ्जको पर्यटकीय क्षेत्र हो। उपमहानगरपालिकाले वर्षौपछि सञ्चालनमा ल्याएर राम्रो काम गरेको छ।’

बाह्य पर्यटक नेपालगञ्ज आउदा या यहीका बासिन्दाहरु घुम्न निस्कदा पुग्ने ठाउँ भनेको रानीतलाउ नै हो। यो बाहेक प्रसिद्ध बागेश्वरी मन्दिर र महेन्द्र पार्क अर्को पर्यटकीय ठाउँ हुन्। वाटरपार्क बन्दैछ।

मंगलबार दिउँसो रानीतलाउमा पुग्दा पारिलो घामको मज्जा लिदै बोटिङमा सेल्फी लिनेको भीड नै थियो। कोही परिवार त कोही साथीसंगीका साथ त्यहाँ पुगेका थिए।

कात्तिक २० गतेदेखि रानीतलाउ सञ्चालनमा आएको छ। ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दोस्रो पटक रानीतलाउ बोटिङ बिहारको उद्घाटन गरेका थिए। त्यसअघि २०५८ माघ २८ गते उद्घाटन गरिएको रानीतलाउ बोटिङ बिहार चार वर्षपछि बन्द भएको थियो।

नेपालगञ्ज वडा नम्बर–८ मा अवस्थित रानीतलाउ घरपरिवार या साथीसंगीसँग घुम्ने ठाउँको रुपमा विकास हुँदै गएको छ।

ठेक्कामा जाँदै, वडाध्यक्षको असन्तुष्टि

नेपालगञ्ज उपमहानगरपालिकाले रानीतलाउ बोटिङ बिहारलाई ठेक्कामा दिने तयारी गरेको छ। वार्षिक २४ लाख रुपैयाँमा ठेक्का लागि सकेको छ। ठेक्का सम्झौताको अन्तिम चरणमा रहेको सूचना अधिकारी शरद पौडेलले बताएका छन्।

उपमहानगरपालिकाले ठेक्का लगाएर रानीतलाउ बोटिङ विहार सञ्चालन गर्न थालेपछि वडा नम्बर–८ का अध्यक्षले असन्तुष्टि जनाएका छन्।

वडाध्यक्ष सुरेन्द्र गुप्ताले आफ्नो ठाउँको आम्दानी आफूहरुले सञ्चालन गर्न पाउनु पर्ने बताए। ‘हामी के अब चौकीदार मात्रै हुने हो र? हाम्रो ठाउँमा भएको फाइदा हामीले पाउने कि नपाउने?’ वडाध्यक्ष गुप्ताले भने।

ठेक्कामा नगएकाले अहिलेसम्म वडा कार्यालयले रानीतलाउ बोटिङ बिहार सञ्चालन गरिरहेको थियो। कात्तिक २५ गतेदेखि टिकटको व्यवस्था गरेको वडा कार्यालयले अहिलेसम्म तीन लाख ८० हजार संकलन भएको जनाएको छ। त्यहाँ ५ रुपैया टिकट र बोटिङ गरेको २५ रुपैया लिने गरिएको छ।

वडाले संरक्षण र सञ्चालन गर्नु पाउने आवाज उठाउदै आएका वडाध्यक्ष गुप्ताले ठेकेदारमार्फत् सञ्चालन गरिँदा फेरि लापरबाही हुने बताए।

‘हाम्रो वडामा रानीतलाउ भएको हामीलाई के फाइदा हुन्छ? मैले पटक पटक आवाज उठाइरहेको छु। रानीतलाउ बोटिङ बिहार वडाले सञ्चालन गर्न पाउनु पर्छ,’ वडाध्यक्ष गुप्ताले भने, ‘वडाबासीलाई खुशी बनाउन बिहान ६ देखि १० बजे र साँझ ६ देखि ८ बजेसम्म खुल्ला छोड्नु पर्छ। अनि बल्ल वडाबासीले अपनत्व महसुस गर्छन्।’

पुस २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू