प्रहरी भन्छ- डरले पीडित सम्पर्कमै आउँदैनन्

राजधानीमा किन रोकिएन नक्कली सुन र डलरको ठगी?

फाइल तस्विर।

काठमाडौँ- गत भदौमा काठमाडौँ प्रहरी परिसरको टोलीले नागढुंगा हुँदै दुई केजी सुन राजधानी भित्रन लागेको सूचना पायो। निकै सावधानीपूर्वक चलाइएको उक्त अप्रेसनमा प्रहरीले सुन र भरिया दुवैलाई नियन्त्रणमा लिन सफल भयो। तर अनुसन्धानका क्रममा उक्त सुन नक्कली भएको पत्ता लाग्यो।

करिब डेढ महिना अघि बल्खुमा मध्यरातमा एक केजी सुन र करिब ३६ लाख नगदसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लियो। अनुसन्धानपछि थाहा भयो- सुन नक्कली रहेछ। नक्कली सुन बेच्न दुई जना प्रहरी नै संलग्न भएको र खरिदकर्ताले सुन नक्कली भएको चाल पाएपछि पैसा लुट्न खोजिएको निष्कर्श प्रहरीले निकाल्यो।

पछिल्लोपटक तीन दिनअघि काठमाडौँ परिसर मातहतको टोलीले सोलुखुम्बुका ३५ वर्षीय तासी लाक्पा शेर्पालाई नक्कली सुन देखाएर ठगी गरेको आरोपमा पक्राउ गर्‍यो। शेर्पामाथी आरोप छ- उनले हुम्लाका क्यारेङ्ग ग्याल्वो शेर्पालाई एक केजी नक्कली सुन बेचेर तीन लाख ७० हजार रुपैयाँ ठगी गरेका छन्।

शेर्पाकै उजुरीपछि प्रहरीले लाक्पालाई पक्राउ गर्न सफल भएको हो। कर्तव्य ज्यान कसुरमा ११ वर्ष जेल बसेर ९ वर्षअघि छुटेका लाक्पा यसअघि पनि नक्कली सुन ठगीमा संलग्न रहेको दावी प्रहरीको छ। काठमाडौँ प्रहरी परिसरले लाक्पाविरुद्ध चार जना पिडित आईसकेको जनाएको छ। उजुरीकर्ता शेर्पा दुर्लभ पिडित हुन् जसले नक्कली सुन किनेर ठगिएँ भनेर प्रहरीमा उजुरी गरेका छन्।

‘ नक्कली सुन ठगीमा अधिकांश पिडित सुन व्‍यवसायी नै देखिन्छन्। त्यसबाहेक ठगले सजिलै ठग्न सकिने र पैसा धेरै भएका मानिसहरु समेत पहिचान गरेर ठगेको देखिन्छ’, काठमाडौँ  प्रहरी परिसर  प्रमुख एसएसपी बसन्त लामा भन्छन्, ‘ सुन सक्कली नै हो भनेर विश्वास दिलाउन सुरुमा थोरै टुक्रा परिक्षण गर्ने गरेको पाइएको छ। कारोबार भने एकान्त ठाउँमा गर्ने र पैसा हात पार्ने वित्तिकै हिँडिहाल्ने गरेको अनुसन्धानमा खुलेको छ। कारोबारका क्रममा सुन नक्कली भएको शंका लागेको अवस्थामा नगद लुटपाट समेत हुने गरेको विगतका घटनाबाट देखिन्छ। आफू ठगिएको चाल पाउँदा पनि पक्राउ पर्ने डरले धेरै पिडित हामीसम्म आइपुग्दैनन्।’

नेपालमा हवाई मार्ग र चिनियाँ नाकाबाट सुनको तस्करी हुने गरेको पाइएको छ। यसरी तस्करी गर्दा प्रतिकेजी १० लाख रुपैयाँसम्म फाइदा हुने भएकाले नेपालमा ठूलो मात्रामा सुन तस्करी हुने गरेको विभिन्न समयमा बरामद भएको परिमाणबाट स्पष्ट हुन्छ। तस्करीमार्फत आएको सुन तुलानात्मक रुपमा सस्तो मूल्यमा व्यवसायीसम्म पुग्ने गर्छ। नक्कली सुन ठगीकर्ताहरुले यहि वास्तविकतालाई ‘उपयोग’ गरेको अनुसन्धानमा संलग्न बताउँछन्। ‘ तस्करीबाट आएको सुन विक्री र खरिद पनि अवैध नै हुन्छ। यस्तोमा खरिदकर्ता अझ सजक हुन्छ। बढी लोभिदा खरिदकर्ता ठगिन पुग्छन्’, एक अनुसन्धानकर्ता प्रहरी भन्छन्।

२०७२ सालको विनाशकारी भूकम्पपछि चीनसँग जोडिएको तिब्बत नाका बन्द छ। कतिपय ठगहरुले भूकम्पका भग्नावशेषभित्र सुन र डलर भेटिएको भन्दै ग्राहक खोजेर ठगीको जालमा पार्ने गरेका छन्। दुई वर्षअघि दोलखामा एक केजी नक्कली सुन १५ लाख रुपैयाँ बेचेर ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका थिए।  ‘ ग्राहकलाई विश्वास गर्न हदैसम्मको उपाय अपनाएको देखिन्छ’, एसएसपी लामा भन्छन्। बैंक र मनि एक्सचेन्जरबाहेकले डलर खरिद विक्री गर्न नपाउने हुँदा ठगले पैसाको आकारमा कागज बनाएर त्यसलाई बाहिरबाट सक्कली डलरले ‘र्‍यापिङ’ गरि ठगी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

‘नक्कली सुन र डलर ठगीको कारोबारको प्रकृति उस्तै हुन्छ। तर डलर ठगीमा ठगहरु अलि बढी सजग हुने र पैसा हात पर्ने बित्तिकै फरार भइहाल्ने गरेको देखिन्छ। केही पीडितहरु कारोबार हुन बित्तिकै र केही घरमा लगेर हेर्ने क्रममा छाँगाबाट खसेजस्तो हुन्छन्। चाँडै धेरै पैसा कमाउने लोभ गर्दा विचल्ली हुने गरेको पाइएको छ’, काठमाडौँ परिसरका एक अधिकारी भन्छन्।

काठमाडौँ परिसर र मातहतको टोलीले मात्र राजधानीका विभिन्न स्थानबाट पछिल्ला पाँच महिनामा साढे ७ केजी नक्कली सुन बरामद गरेको छ। नक्कली सुनको कारोबार भइरहेका बेला सक्कली सुनको तस्करी पनि रोकिएको छैन। केही दिनअघि धादिङबाट चार केजी सुन बरामद भएको थियो। ‘सुनको तस्करी पनि भइरहेकाले पनि ठगिनेहरुलाई खरिद गर्ने सुन  सक्कली नै हुन सक्ने विश्वास बढी हुन सक्छ’, महानगरीय प्रहरी अपराध महाशाखाका अधिकारी भन्छन्।

पुस २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्