दिल्लीमा रायसीना संवाद सुरु, परराष्ट्र मन्त्री ज्ञवाली सहभागी हुने

दिल्ली – भारतको राजधानी दिल्लीमा मंगलबारदेखि सुरु भएको रायसीना संवाद–२०१९ मा सहभागी हुन परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली दिल्ली आउने भएका छन्। रायसीना संवादको चौथोँ संस्करणलाई सम्बोधन गर्नका लागि परराष्ट्र मन्त्री ज्ञवाली दिल्ली आउने भएका हुन्।
अव्जर्भर रिसर्चर फाउण्डेशनको साझेदारीमा भारतको विदेश मन्त्रालयद्वारा आयोजित रायसीना संवादमा यस वर्ष नेतृत्वको नयाँ विधि, नयाँ समीकरण, बिग्रदो साझेदारी र अनिश्चित परिणाम मुख्य नारा रहेको छ।
संवादमा वर्तमान वैश्विक मुद्दा र चुनौती, नयाँ प्रविधि, नयाँ साझेदारी र नेतृत्वको नयाँ विधिमाथि छलफल हुनेछ। संवादको उद्घाटन समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजको उपस्थितिमा नर्वेकी प्रधानमन्त्री एर्ना सोलबर्गले सम्बोधन गरेका छन्।
प्रधानमन्त्री सोलवर्ग यसअघि नै दिल्ली पुगिसकेकी हुन्। संवादमा ९३ देशका ५ सयभन्दा धेरै प्रतिनिधि सहभागी हुनेछन्। कार्यक्रममा सहभागी भएपछि परराष्ट्रमन्त्री ज्ञवालीले बौद्धिक व्यक्ति र सञ्चारकर्मीसँग छलफल गर्ने कार्यक्रम छ।
आगामी ११ जनवरीका दिन बिहान दिल्लीस्थित राजदूतावासमा ज्ञवालीले नेपालको विकासका सन्दर्भमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।