सीमा पर्खालका सम्बन्धमा ट्रम्पले टेलिभिजन मार्फत अपिल गर्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी समस्या समाधानका लागि मेक्सिकोसँगको सीमामा पर्खाल बनाउनु पर्ने विषयमा आफ्नो पक्ष टेलिभिजन सम्बोधन मार्फत राख्ने भएका छन् ।
राष्ट्रपति ट्रम्पले आफूले लामो समयदेखि प्रतिबद्धता जनाउँदै आएको सीमा पर्खालको आवश्यकताका बारेमा नेपाली समय अनुसार बुधबार बिहान पौने ८ बजे टेभिजन मार्फत सम्बोधन गर्ने छन् ।
राष्ट्रपति ट्रम्पले बिहीबार मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रको भ्रमण गर्दै छन् । त्यसअघि उनले अमेरिकी टिभी दर्शकलाई आप्रवासी समस्या समाधानका लागि पर्खालको आवश्यकताबारे आफ्नो तर्क प्रस्ततु गर्ने भएका हुन् ।
सीमा पर्खालका लागि सरकारी कोषबाट रकम छुट्याउनु पर्ने अडानमा रहेका ट्रम्प र त्यसको विक्षयमा रहेका सिनेटरबिचको विवादका कारण संघीय सरकारका विभिन्न कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने बजेटको व्यवस्था हुन नसक्दा आंशिक संघीय कार्यालयहरुको काम ठप्प छ । आंशिक रुपमा काम ठप्प भएको १७ दिन नाघेको छ ।
राष्ट्रपति ट्रम्पले संघीय सरकारका लागि आवश्यक पर्ने कार्यसञ्चालन बजेटमा सीमा पर्खालका लागि पाँच बिलियन डलर छुट्याउनु पर्ने अडान लिँदै आएका छन् ।