ट्रम्पले टेलिभिजन सम्बोधनमा मागे सीमा पर्खालका लागि बजेट, गरेनन् आपतकालको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा बढ्दै गएको मानवीय तथा सुरक्षात्मक खतरबाट जोगिनका लागि मेक्सिकोसँगको सीमामा पर्खाल बनाउन रकमको माग गरेका छन् ।
ट्रम्पले नेपाली समय अनुसार बुधबार बिहान गरेको टेलिभिजन सम्बोधन मार्फत आफ्नो चुनावी अभियानदेखिको प्रतिवद्धता सीमा पर्खालका लागि बजेट माग गरेका हुन् ।
आप्रवासी समस्या समाधानको उपाय सीमा पर्खाल रहेको ट्रम्पले बताउँदै आएका छन् । ओभल कार्यालयबाट गरेको आफ्नो पहिलो टेलिभिजन सम्बोधनमा राष्ट्रपति ट्रम्पले सीमा पर्खालका लागि बजेटको माग गरे पनि राष्ट्रिय आपतकालको भने घोषणा गरेनन् ।
यसअघि ट्रम्पले कांग्रेसले सीमा पर्खालका लागि बजेट बिनियोजन गर्ने अवरोध गरेमा राष्ट्रिय आपतकाल लगाएर भए पनि सीमा पर्खाल निर्माण गर्ने बताएका थिए ।
राष्ट्रपति ट्रम्पको सम्बोधनको जवाफमा डेमोक्र्याटिक पार्टीका नेताले पनि टेलिभिजनमार्फत नै त्यसको खण्डन गरेका छन् । डेमोक्र्याटिक पार्टीकी नेतृ तथा हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसी र सिनेटका माइनोरिटी लिडर चक शुमरले ट्रम्पले अमेरिकी नागरिकलाई बन्धक बनाएको आरोप लगाए ।
उनीहरुले १८ दिनदेखि जारी आंशिक सरकारी कार्यालयको ठप्प कामकाज सुचारु हुने अवस्था बनाउन माग गरेका छन् ।
सीमा पर्खालका लागि सरकारी कोषबाट रकम छुट्याउनु पर्ने अडानमा रहेका ट्रम्प र त्यसको विक्षमा रहेका सिनेटरबिचको विवादका कारण संघीय सरकारका विभिन्न कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने बजेटको व्यवस्था हुन नसक्दा आंशिक संघीय कार्यालयहरुको काम ठप्प छ ।
राष्ट्रपति ट्रम्पले संघीय सरकारका लागि आवश्यक पर्ने कार्यसञ्चालन बजेटमा सीमा पर्खालका लागि पाँच बिलियन डलर छुट्याउनु पर्ने अडान लिँदै आएका छन् ।
राष्ट्रपति ट्रम्पले बिहीबार मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रको भ्रमण गर्दै छन् । त्यसअघि उनले अमेरिकी टिभी दर्शकलाई आप्रवासी समस्या समाधानका लागि पर्खालको आवश्यकताबारे आफ्नो तर्क प्रस्ततु गरेका हुन् ।
अमेरिकाका प्रमुख टेलिभिजन नेटवर्कले प्रत्यक्षप्रशारण गरेको ८ मिनेट लामो सम्बोधनमा राष्ट्रपति ट्रम्पले डेमोक्र्याटका कारण संघीय सरकारका कार्यालयका काम ठप्प भएको आरोप लगाए । सीमा क्षेत्रमा रहेको समस्या मानवीय संकट रहेको र यो आत्माकै समस्या रहेको बताए ।
तर डेमोक्र्याटिक पार्टीका नेताले डेलिभिजन मार्फत नै गरेको खण्डन सम्बोधनमा सीमा क्षेत्रमा रहेका महिला तथा बालबालिका मानवीय संकट नरहेको बताए । उनीहरु मानवीयताका लागि चुनौती रहेको डेमोक्र्याटिक नेताको भनाई छ ।
मेक्सिकोसँगको सीमाबाट अमेरिकामा आप्रवासी प्रवेश गर्ने गरेका छन् । अमेरिकाले अधिकांशलाई सीमा क्षेत्रमै बन्धक बनाउने गरेको छ ।