छाउपडीले लियो फेरि ज्यान

आफ्ना ‘दुई प्राण’ सँगै छाउगोठमा प्राण त्यागिन् अम्बाले

छाउगोठमा ज्यान गुमाएकी अम्बा बोहोरोको घरमा जम्मा भएका गाउँलेहरु ।

बाजुराको बुढीनन्दा नगरपालिका–९ अंगपानीको भुगेचौउरमा छाउगोठमा आगलागी हुँदा तीनजनाको ज्यान गएको छ । ३५ वर्षकी अम्बा बोहोरा र उनका दुई छोरा ९ वर्षका सुरेश तथा ७ वर्षका रमितको ज्यान गएको हो ।

कोल्टी बजारबाट चार घण्टाको पैदल दूरीमा पर्ने अंगपानीकी अम्बा बोहोरा मंगलबार बेलुका खाना खाएर घरसँगै जोडिएको टिनले छाएको साँघुरो छाउगोठमा सुतेकी थिइन् । उनीसँगै सुत्न दुई छोराहरु पनि गएका थिए । राति न्यानोका लागि छाउगोठमा बालिएको आगोका कारण उनीहरुको ज्यान गएको हो ।

घटना राति नै भएको भए पनि बिहान मात्रै थाहा भएको अहिले घटनास्थलमा रहेकी स्थानीय महिला अधिकारकर्मी नीरा बोहोराले जानकारी दिइन् । अम्बाकी सासुले बिहान बुहारीलाई चियाखान बोलाउन जाँदा घटना थाहा भएको हो ।

नीराले देश सञ्चारसँग भनिन्, ‘घरसँगै जोडेर बनाएको छाउगोठमा आमा र दुई छोराको मृत्यु भएको हो । निकै साँघुरो छाउगोठमा एउटा मात्रै ढोका थियो । झ्याल थिएनन् । भएको ढोका बन्द थियो । जाडो छल्न बालोको आगोले ओढ्ने लुगका पनि जलेछ । शरीरमा त्यति चोट देखिएको छैन । अवस्था हेर्दा निस्सासिएर तीनैजनाको मृत्यु भएको देखिन्छ ।’

गाउँमा हिउँ परेको र जाडो निकै रहेकाले छाउगोठमा बसेकी अम्बाले आगो बालेकी थिइन् । साँघुरो छाउगोठ त्यसमाथि धुवाँ निस्कने प्वाल नभएकाले उनीहरु निस्सासिएका हुन् ।

नीराले भनिन्, ‘अम्बाका दुवै छोरा अरु दिन हजुरबुवा–हजुरआमासँग घरमै सुत्ने रहेछन् । बेलुका चाँहि आमासँग सुत्ने भन्दै दुवैले हातमा रोटी लिएर गएका रहेछन् । उनीहरुको पनि मृत्यु भयो । छाउगोठले निल्यो आमा र दुई छोरालाई ।’

अम्बाको घरमा उनीसहित दुई छोरा तथा सासु–ससुरा थिए । उनका श्रीमान भने गएको मंसिरमा रोजगारीका लागि भारत गएको र घटना थाहा पाएपछि आँदै गरेको स्थानीय अगुवा गोरखबहादुर रोकायाले बताए ।

गोरखबहादुरले भने, ‘अम्बाको गोडा जलेको छ । दुई बच्चाको चाहिँ अनुहार तथा शरीरका अरु भागमा पनि पोलेको छ । तर पूरै जलेका छैनन् । छाउगोठ पनि पूर्णरुपमा जलेको छैन ।’

उनले अघि भने, ‘घरसँगै जोडिएर रहेको छाउगोठमा राति यस्तो घटना भएछ, घरमा सुतेका सासु–ससुराले थाहा पाएनछन् । आमा–छोरा निस्सासिएर, छट्पटाउँदै ज्यान गुमाउन बाध्य भए छन् । अरु दिन हजुरबुवा–हजुरआमासँग सुत्ने दुई सन्तानको पनि ज्यान गयो । छाउगोठले परिवारै लग्यो ।’

आफूहरुको क्षेत्रमा अझै पनि महिलाहरु महिनावारी भएका बेला चार दिनसम्म घरबाहिर छाउगोठमा बस्ने र पाँचौँ दिन नुहाएर चोखिने चलन अझै व्याप्त रहेको नीरा र गोरखले बताए । अम्बाको महिनावारी भएको बुधबार पाँचौँ दिन हुँदै थियो । अर्थात उनी बुधबारदेखि घरमा सुत्न पाउने थिइन् । तर मंगलबार राति नै छाउगोठमा उनीसहित छोराहरु पोलिएर तथा निस्सासिएर ज्यान गुमाउन बाध्य भए ।

नीरा र गोरख दुवैले भने, ‘गाउँमा छाउपडीविरुद्ध अभियान चलेको चल्यै छ । हामी पनि लागेका छौँ। तर अझै पनि घरमा सुत्न महिलाहरुले पाएका छैनन् र कतिपय अवस्थामा मानेका पनि छैनन् । अनि यसरी ज्यान गइरहेको छ ।’

(यो सामग्रीमा प्रयोग गरिएका तस्बिरहरु हामीलाई गोरखबहादुर रोकाया र नीरा बोहोराले उपलब्ध गराएका हुन् ।)

पुस २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्