नेपालगञ्ज-आन्तरिक या बाह्य पर्यटक नेपालगञ्ज प्रवेश गर्ने मुख्य सडक सुर्खेत रोड हो। चाहे भारतबाट नेपालगञ्ज प्रवेश गरोस् या पूर्व–पश्चिम राजमार्गबाट ।
भनिन्छ, ‘फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन’ अर्थात ‘पहिलो छाप अन्तिम प्रभाव हो।’

रोडको अवस्था र सरसफाईले नै त्यो शहरको कल्पना गरिन्छ। त्यही भएर नेपालगञ्जका मेयर धवलशमशेर राणाले दोस्रो पटक मेयर जितेर सपथ खादा नै नेपालगञ्ज प्रवेशको नाका जमुनाहा प्रवेशद्वारलाई झकिझकाउ गर्ने निर्णय गरेका थिए।

सुर्खेत रोड चार लेनको छ। चार लेनको मुख्य सडक सफा हुँदा शहरको गरिमा बढ्नेमा दुई मत छैन। नेपालगञ्ज उपमहानगरपालिका यतिबेला सुर्खेत रोडलाई सफा गराउने अभियानमा लागेको छ। निजी संस्थामार्फत सुर्खेत रोड सफा गर्न दैनिक १८ जना कामदार खटिएका छन्।

नेपालगञ्ज उपमहानगरपालिकाका सरसफाई शाखाका अधिकृत अशोक केसीले स्वच्छ नेपाल, हाम्रो अभियान नामक संस्थामार्फत सुर्खेतरोड सफाई अभियान थालेको बताए। उनका अनुसार, दैनिक १८ जना कामदारले बिहानै झाडु लगाउने, संकलित फोहोर उठाउने, झार उखेल्ने, ग्रिनबेल्टको माटो सफा गर्ने गर्दछन्।

नेपालगञ्ज उपमहानगरपालिकाले आफैले सुर्खेतरोडलाई फोकस गरेर सरसफाई गर्न जनशक्ति अभाव रहेकाले निजी संस्थालाई सरसफाईको जिम्मा दिएको छ। ‘अहिले एक महिना ट्रायलमा दिइएको छ। राम्रो भयो भने सम्झौता अवधि लम्बिन्छ, सरसफाई शाखका अधिकृत केसीले भने।

स्वच्छ नेपाल, हाम्रो अभियानका अध्यक्ष भानु भट्टले जमुनाहादेखि मनिकापुरसम्मको खण्डलाई दुई भागमा विभाजन गरेर सरसफाई गरिरहेको बताए। ‘गणेशमान चोकदेखि कारकादोसम्म दैनिक काम गरिरहेको छौं। जमुनाहादेखि गणेशमानचोक र कारकादोदेखि मनिकापुरसम्म एक दिन बिराएर काम भइरहेको छ, भट्टले भने, सरसफाईमा नमूना सडक बनाउने अभियान चलिरहेको छ।’

हुन त सुर्खेत रोडलाई नै लक्षित गरेर सरसफाई महाअभियानदेखि साप्ताहिक सरसफाईका कार्यक्रमहरु भइरहेका छन्। मुख्य सडक भएकाले सुर्खेत रोड सफाईमा सबैको चासो रहेको छ। सडक छेउछाउका घर, पसल र सडकमा हिड्ने यात्रुले सडकमा जथाभावी फोहोर नफाल्ने प्रण गर्दा नै सरसफाईमा धेरै प्रगति हुन्छ।

यस्तो संस्कृतिको भने यहाँ विकास भइसकेको छैन।घरबाट निस्केको फोहोर सडकमा फाल्ने र त्यो नगरपालिकाले उठाउँछ भन्ने शहरबासी अधिकांशको सोचाई रहदै आएको छ। नेपालगञ्‍ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्ने नीति ल्याउने तयारी गरेको छ।

पुस २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्