अध्यागमन सुध्रने दाबी, बायो मेट्रिकदेखि मेसिन रिडेबल भिसा यसै वर्ष

काठमाडौँ- अध्यागमन विभागले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा रहेको अध्यागमन डेस्क निकट भविष्यमै अन्तर्राष्ट्रियस्तरको बन्ने दाबी गरेको छ। चालु आर्थिक वर्षभित्र मेसिन रिडेबल भिसा लागू गर्ने र बायो मेट्रिक्ससहितको अत्याधुनिक सूचना प्रणाली स्थापना हुने दाबी अध्यागमन विभागको छ।

‘नेपाल भित्रने विदेशीको पासपोर्ट साइजको तस्विर र आँखाको रेटिना (बायोमेट्रिक्स)को विवरण  रेकर्ड गरिने छ। यसबाट कोही पनि आपराधिक गतिविधिमा संलग्नहरु नेपाल भित्रन र नेपालबाट बाहिरिन नसकून् भन्ने हो। आपराधिक पृष्ठभुमि भएर नेपाल भित्रन सक्नेहरुमाथि समेत विशेषरुपमा अनुगमन गरिने छ’, बुधबार अध्यागमन विभागमा आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने। बायो मेट्रिक्ससहितको सुचना प्रणाली तीन सदस्यीय नेपाली इन्जिनियरको टोलीले तयार गर्दै छ।

नेपाल भित्रिने हरेक विदेशीहरुका प्रत्येक गतिविधीमा अनुगमन गरि उनिहरुलाई अवैध क्रियाकलापबाट रोक्न सक्ने गरी संयन्त्रको विकाश गर्न लागिएको महानिर्देशक पौडेलले जानकारी दिए। यसैगरि विभागले जारी गर्ने भिसा अब मेसिन रिडेबल बनाउने तयारी पनि छ।

चालु आर्थिक वर्षभित्र गैह्र पर्यटक भिसाबाहेक सबैलाई मेसिन रिडेबल बनाउने योजना विभागको छ। अर्को वर्षसम्म सबै भिसालाई मेसिन रिडेबल बनाउने तयारी उसको छ। अहिले अध्यागमनले जारि गर्ने भिसा स्टिकरका रुपमा रहने गरेको छ जुन सुरक्षाको हिसाबले चुनौतीपुर्ण मानिन्छ। अध्यागमन विभागले करिब २४ करोड रुपैयाँको लगानीमा विमानस्थलस्थित अध्यागमन कार्यालयको स्तर उन्नती गर्न लागेको हो।

‘अबको ७/८ महिनाभित्र हाम्रो अध्यागमन अन्तर्राष्ट्रियस्तरको हुन्छ-हुन्छ’, पौडेलको दावी छ।

सेटिङ पूर्णरुपमा नियन्त्रण हुने दावी 


अध्यागमन विभागका कर्मचारीसमेतको संलग्नतामा हुने गरेको मानव तस्करी पुर्णरुपमा नियन्त्रण हुने अध्यागमन विभागको दावी छ। ‘ केही समययता हटेको छ भन्दिन तर निकै घटेको छ। कागजपत्रसहित प्रकृया पुरा गर्नेहरुले अब अध्यागमनका नाममा दुख पाउँदैनन्’, सहसचिवसमेत रहेका पौडेलले भने।

पुस २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्