इलामको निजी घरमा डा. केसीको १६औं अनशन सुरु

इलाममा अनशन सुरु गर्दै डा. गोविन्द केसी। तस्बिर: उमाकान्त खनाल

काठमाडौं – चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलन गरिरहेका डा. गोविन्द केसीले आफ्नो १६औं अनशन इलाममा सुरु गरेका छन् । बुधबार दिउँसो ४ः३० बजे इलाम नगरपालिकाको फूलगाँझी भन्ने ठाउँमा केसीले अनशन सुरु गरेका हुन् ।

सहरी विकास तथा भवन निर्माण विभागको पुरानो कार्यालय रहेको व्यक्तिको निजी घरमा केसीले आफ्ना केही समर्थकको उपस्थितिमा अनशन सुरु गरेका हुन् ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले आफूसँग भएको सहमतिभन्दा बाहिर गएर राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई पारित गरेको भन्दै केसीले अनशन सुरु गरेका हुन् ।

बुधबार बिहान बसेको समितिको बैठकले सांसद भैरबबहादुर सिंहको संयोजकत्वमा गठित उपसमितिले पेश गरेको प्रतिवेदनलाई पास गरेको थियो । प्रतिवेदन प्रतिपक्षी कांग्रेसका सांसदहरुले फरक मतसहित पारित गरेको थियो ।

अनशन सुरु गर्दै केसीले आफूसँग भएको सहमति अनुसार विधेयक पारित नभएसम्म लडाइ जारी राख्ने बताए । केसीले संसदीय समितिले विधेयक पारितपछि संसदको पूर्ण बैठकले सहमतिअनुसार विधेयक परिमार्जन गर्नुपर्ने बताए ।

पुस २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्